टोरोन्टो (क्यानडा ) । नेपाली सीमा अतिक्रमण गरेको भन्दै गैरआवसीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वयन परिषद् (एनसीसी) क्यानडाले भारतविरुद्ध प्रदर्शन गरेको छ ।
टोरोन्टोस्थित भारतीय दूतावास अगाडि एनआरएनए क्यानडाको नेतृत्वमा भारतविरुद्ध विरोध प्रदर्शन भएको हो । उनीहरुले भारतीय दूतावासमा बिरोध पत्रसमेत बुझाएका छन् ।
टोरोन्टोको स्कारबोरो, मिसिसागा ब्राम्पटनलगायत ग्रेटर टोरोन्टोका विभिन्न सहरबाट विरोध प्रदर्शनमा नेपाली समुदायका प्रतिनिधि सहभागी भएका थिए ।
प्रदर्शनमा स्थानीय संघसंस्थाका प्रतिनिधिहरुले भारतले नेपाली सीमा क्षेत्र अतिक्रमण तत्काल बन्द नगरे क्यानाडावासी नेपालीहरुले थप कदम चाल्ने उद्घोष गरेका थिए ।
साथै सहभागीहरुले नेपाल सरकारलाई कूटनीति पहल गरी सीमा समस्या शीघ्र समाधान गर्न आग्रह गरेको एनआरएनए क्यानडाका मिडिया कोडनेटर बद्री तिमल्सिनाले जानकारी दिए ।
प्रदर्शनपछि एनआरएनए क्यानाडाका अध्यक्ष चिञ्जीवी घिमिरे, पूर्वअध्यक्ष एवम् वर्तमान आईसीसी सदस्य गापीकृष्ण काफ्ले, संस्थापक नवराज गुरुङ, वर्तमा उपाध्यक्ष विजय पौडेललगायतले बोलेका थिए ।