+
+
Shares

बढी मूल्य लिने र बिल नदिने दुई कम्पनीलाई ४ लाख ४० हजार जरिबाना

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १० गते १४:०३

१० असार, काठमाडौं । उपभोक्ता ठगी गर्ने दुई कम्पनी कारबाहीमा परेका छन् । अधिकतम खुद्रा मूल्य (एमआरपी) भन्दा बढी रकम असुल्ने र मालसामान बिक्री गर्दा बिलबिजक जारी नगर्ने ललितपुर र काठमाडौंका दुई कम्पनीलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ४ लाख ४० हजार रुपैयाँ जरिबाना तिराएको हो ।

विभागले मंगलबार गरेको बजार अनुगमनका क्रममा ललितपुर महानगरपालिका–२५ स्थित मार्केट प्लेस प्रालिले २ सय ४५ रुपैयाँ एमआरपी तोकिएको ‘सिम्पल आई मास्क’ लाई ३ सय ९५ रुपैयाँमा बिक्री गरेको फेला पारेको थियो ।

उपभोक्ताबाट अनुचित मूल्य लिई ठगी गरेको प्रमाणित भएको भन्दै विभागले उक्त कम्पनीलाई उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम २ लाख ४० हजार रुपैयाँ जरिबाना तिराएको हो ।

यसैगरी काठमाडौं महानगरपालिका–१६, बालाजुस्थित लिलिज नेपाल प्रालिलाई विभागले २ लाख रुपैयाँ जरिबाना तिराएको छ । उक्त कम्पनीले उपभोक्तालाई मालसामान बेचबिखन गर्दा अनिवार्य रूपमा दिनुपर्ने बिल बिजक (बिक्री बिल) जारी नगरेको पाइएपछि उक्त जरिबाना तिराइएको विभागको भनाइ छ ।

अनुगमनकै क्रममा ललितपुर–४ भनिमण्डलस्थित सोल स्क्वायर प्रालिलाई विभागले ३ दिनभित्र उपस्थित हुन निर्देशन दिएको छ । उक्त व्यवसायलाई दर्ता प्रमाणपत्र, प्यान/भ्याट र खरिदबिक्रीका बिलबिजक लगायतका सम्पूर्ण कागजातसहित ३ दिनभित्र विभागमा उपस्थित हुन भनिएको छ ।

त्यसैगरी, विभागको अनुगमन टोलीले काठमाडौंका अन्य ५ वटा व्यावसायिक फर्महरूलाई भने सामान्य निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?