+
+
Shares

वर्षाले चितवनका इँटा उद्योगमा दुई करोडको क्षति

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष १ गते १०:०३

१ पुस, चितवन । चितवनमा दुई दिन परेको पानीले यहाँका १८ इँटा उद्योगमा दुई करोड रुपैयाँको क्षति गरेको व्यवसायीले जनाएको छ । पोल्न ठिक्क पारिएको इँटा भिजेर काम नलाग्ने भएको व्यवसायीले बताएका छन् ।

इँटा उद्योग संघ चितवनका अध्यक्ष नारायण सापकोटाका अनुसार काँचो इँटा तयार पार्ने (पथाउने), घाममा सुकाउने बेलामा परेको झरीले सबै इँटा गलेको छ ।
काँचो माटोमा पाँगो मिसिएकाले माटोसमेत पुनः प्रयोगमा ल्याउनसमेत नसकिने अध्यक्ष सापकोटाले बताए ।

बल्लतल्ल जुटाएको माटो र मजदूर फेरि जुटाउनुपर्ने अवस्था आइलागेको उनको भनाइ छ । चितवनमा अन्यत्रबाट माटो ल्याउनुपर्ने अवस्था छ । पहिलाको जस्तो जहाँ उद्योग छ त्यहीँको माटो प्रयोग गर्न कमैमात्रै स्थानमा पाइन्छ । माटोसमेत इँटा बनाउने प्रकारको नपाइने हुँदा नोक्सान धेरै हुने गरेको व्यवसायीहरु बताउँछन् ।

पानीले चितवनदेखि पश्चिमतर्फका जिल्लामा रहेका इँटा भट्टामा नोक्सान पुर्‍याएको छ । इँटा उत्पादनको पिक सिजनका रुपमा पुसको मध्यदेखि माघको अन्तिमसम्मलाई लिइन्छ । माघको पहिलो हप्तादेखि आगो लगाएर इँटा पोल्ने योजना व्यवसायीले बनाएका हुन्छन् ।

पानीले इँटा उत्पादनको चक्र नै प्रभावित भएको व्यवसायी बताउँछन् । ‘इँटा उत्पादन पनि जुवा खेलेको जस्तै हो, मौसममा भर पर्छ, कहिले राम्रै हुन्छ कहिले जान्छ’ राप्ती नगरपालिकाको श्री इँटा उद्योगका सञ्चालक विनोद श्रेष्ठले भने, ‘लगातार घाम लागे पनि काँचो इँटा बनाउन कम्तीमा अब २० दिन लाग्छ ।’

उद्योगीहरुले गत बर्ष नै अहिलेको इँटा उत्पादनका लागि भनेर मजदुरलाई पेश्की रकम दिइसकेका हुन्छन् । यतिबेला बोलाएर कोही पनि काममा नआउने व्यवसायीको भनाइ छ । फागु पूर्णिमामा उनीहरुसँगको सम्झौता सकिन्छ ।

श्री इँटा उद्योगका सञ्चालक श्रेष्ठले भने ‘इँटा उत्पादन आफैमा चुनौतीपूर्ण बन्दै गएको छ, त्यसैले धेरै व्यवसायीहरु चितवनमा पलायन भइसके, यहाँ इँटाको उत्पादन गर्न निकै समस्या छ ।’ चितवनमा पहिले ४० वटा इँटा उद्योग रहेकोमा हाल घटेर १८ मा झरेका छन् । अझै केही उद्योग बन्द हुने क्रममा रहेको व्यवसायीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?