Comments Add Comment

उद्योगीको गुनासो- बढ्दो भारतीय चामाल आयतले नेपाली उद्योग धराशायी

भारतबाट चामल आउँदा १५ प्रतिशत भन्सार महसुल लगाउन माग

२ पुस, वीरगञ्ज । भारतबाट अत्याधिक मात्रामा चामल आयात भएका कारण स्वदेशी चामल उद्योगहरु धाराशायी भएको गुनासो चामल उद्योगीले गरेका छन् । उनीहरुले चामल उद्योगहरुको संरक्षण गर्न चामल आयातमा १५ प्रतिशत महसुल लगाउन माग गरेका छन् ।

नेपाली बजारको ५० प्रतिशतभन्दा बढीे बजार भारतीय चामलले ओगटेको दाबी उनीहरुको छ । त्यसैले भारतीय चामल नेपालमा आउनमा कडाइ गर्नुपर्ने धारणा उनीहरुको छ ।

यस विषयमा नेपाल चामल, तेल, दाल उद्योग सङ्घका अध्यक्ष सुवोध गुप्ताले बुधबार कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुषालको ध्यानाकर्षण समेत गराएका छन् ।

‘नेपालमा मसिनो चामलको माग अत्याधिक बढेको छ, गत आर्थिक वर्षमा मात्र २२ अर्ब ८० करोडको चामल आयत भएको छ । छिमेकी देश भारतबाट सबैभन्दा बढी चामल आयात हुन्छ ।’ गुप्ताले भने ‘ खुला सिमानाका कारण अबैध रुपमा आयात भएको चामलको कुनै तथ्याङक छैन । यसरी ल्याईएका चामल पनि नेपाली ब्राण्डको भनेर बेचिन्छ । यसले गर्दा हामी मारमा परिरहेका छौं ।’

सन् १९८१ सम्म ५४ हजार टन धान निकासी गर्ने नेपाल अहिले चामल आयात गर्ने अवस्थामा पुग्नु दुःखद् भएको उनको भनाइ छ ।

अध्यक्ष गुप्ताले कृषिको आधुनिकीकरण गर्दै उत्पादकत्व बृद्धि गर्न उन्नत जातको बिउबिजन, सिंचाईको व्यवस्था र कृषि उत्पादनलाई बजारसम्म पुर्‍याउन आवश्यक पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिए । उनले कन्ट्रयाक्ट फार्मिङ्गको व्यवस्था र ठूल–ठूला कृषि मण्डी निर्माणमा राज्यको ध्यान जानुपर्ने बताए ।

गत वर्षसम्म तोरीको तेलमा ४० प्रतिशत मुल्य अभिवृद्धि कर छुट सुविधा दिई सरकारले उद्योग संरक्षण गर्दै आएकोमा त्यो सुविधा हटाइएको भन्दै उनीहरुले असन्तुष्टी जनाएका छन् । त्यो व्यवस्था हटाउँदा स्वदेशी तोरी तेल उद्योग संकटमा परिरहेको तर्क उनीहरुको छ ।

‘मुसुरो दाल निकासीमा दिने गरिएको अनुदान हटाईएको छ, यसले दाल उद्योगहरु मर्कामा परेका छन् । ’ वीरगञ्ज उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष समेत रहेका गुप्ताले भने ‘ सरकारले दालमा ५ प्रतिशत अनुदान दिए निकासी प्रवद्धनमा टेवा पुग्ने थियो ।’

मन्त्री भुषालले विद्यमान नीतिगत अस्पष्टतालाई समयसापेक्ष परिमार्जन गर्नु आवश्यक रहेको बताए । उनले कृषि क्षेत्रको समग्र विकास र किसान हितमा कृषि मन्त्रालयले काम गर्ने बतए । ‘ कृषि क्षेत्रको विकासबाट मात्र राष्ट्रिय अर्थतन्त्र सबल हुन्छ, यसलाई आधुनिकीकरण गर्दै उत्पादकत्व बृद्धि कसरी गर्न सकिन्छ । त्यस तर्फ सरकार गम्भीर छ,’ मन्त्री भुषालले भने, ‘ कृषि क्षेत्र सबल र समृद्ध हुँदा त्यसले उद्योगीलाई पनि अवश्य फाइदा मिल्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment