Comments Add Comment

कालापानीलाई उत्तेजनाको विषय नबनाऔं : एसडी मुनि

दिल्लीमा नेपाल–भारत सम्बन्धबारे छलफल

४ पुस, नयाँदिल्ली । भारतले कालापानी र लिम्पियाधुरालाई आफ्नो नक्सामा गाभेपछि नेपालमा यसको विरोध भइरहेका बेला बुधबार साँझ नयाँदिल्लीको आइटीओस्थित एनडी तिवारी भवनमा दुबै देशका विज्ञहरु भेला भए ।

‘बदलिँदो परिप्रेक्षमा नेपाल–भारत सम्बन्धका आयामहरू’ विषयक अन्तरक्रियात्मक कार्यक्रममा भारतीय पूर्वराजदूताहरुका साथै नेपाली राजदूत नीलाम्बर आचार्यको समेत सहभागिता थियो ।

कार्यक्रममा भारतका तर्फबाट प्राध्यापक एसडी मुनी, नेपाल–भारत प्रवुद्ध समूह (ईपीजी) का सदस्य एवं पूर्वराजदूत जयन्त प्रसाद, अर्का पूर्वराजदूत रञ्जित रे पनि सहभागी थिए ।

त्यसैगरी, गान्धीयन समाजवादी नेता विजय प्रताप, भारतीय राष्ट्रिय कांग्रेसका विदेश विभाग सचिव वीरेन्द्र वशिष्ट पनि कार्यक्रममा उपस्थित थिए ।

कार्यक्रममा बोल्दै प्राध्यापक एसडी मुनीले प्रधानमन्त्रीस्तरमै सीधा सम्वाद हुने आजको कूटनीतिक अभ्यासमा कुनै विषयमा विज्ञ या रिटायर्ड अधिकारीले के बोल्छ भन्ने कुरालाई सम्बन्धको आधार बनाउन नहुने बताए ।

नेपाली पक्षजस्तै भारतीय पक्षसँग पनि डकुमेन्ट हुन सक्नेतर्फ इंगित गर्दै उनले सीमा विवादलाई उग्र राष्ट्रियताको विषय बनाउन नहुने बताए । संकुचित राष्ट्रवादले कुनै देशको भलो नगरेको इतिहास कोट्याउँदै यसमा दुवै देश सचेत हुनुपर्ने र छलफलबाटै समस्याको समाधान निक्लिने मुनीले धारणा राखे । उनले कालापानीलाई उत्तेजना र मनोरञ्जनको विषय बनाउने काम राम्रो नभएको बताए ।

त्यसैगरी, सीमा विवाद नरहेका छिमेकी देशहरु बिरलै रहेको तथ्य राख्दै अब पूरै दक्षिण एसिया आर्थिक विकासमा केन्द्रित हुनुपर्ने पूर्वराजदूत रञ्जीत रेले बताए । अब गरिब भएर बस्नुको कुनै कारण नभएको हुँदा आर्थिक कुटनीतिमा नै ध्यान दिनुपर्ने उनले बताए ।

आफ्नो राजनीतिक जीवनमा नेपाललाई महत्व दिएको बताउँदै समाजवादी नेता विजय प्रतापले साउथ ब्लक र नेपाली प्रशासनको सम्बन्धलाई मात्रै नेपाल–भारतको सम्बन्ध भन्न नसकिने बताए ।

त्यस्तै, कांग्रेस नेता नेता वशिष्ठले भारतीय राष्ट्रिय कांग्रेसले सधैँ नेपाल– भारत सम्बन्ध सुमधुर बनाउन भूमिका खेल्ने बताए । वक्ताका रुपमा बोलाइएका बीजेपी नेता स्वास्थ्य समस्या देखाउँदै कार्यक्रममा अनुपस्थित भएका थिए ।

‘भारतले छिमेकीसँगको सम्बन्ध प्रमाणित गरोस्’

कार्यक्रममा बोल्दै राजदूत नीलाम्बर आचार्यले नेपाल भारत सम्बन्ध ऐतिहासिक र पुरानो रहेको बताए । तर, ऐतिहासिक सम्बन्धलाई मात्र फोकस गरेर नपुग्ने भन्दै राजदूत आचार्यले नेपाल भारत सम्बन्धका नयाँ विकसित सम्बन्धहरुलाई पनि सम्वोधन गरेर अघि बढ्नुपर्ने बताए ।

त्यसैगरी पूर्वपरराष्ट्र सल्लाहकार डा. दिनेश भट्टराईले आफ्नो कूटनीतिक जीवनभरि नेपाल–भारत सम्बन्धको प्रकृति उस्तै देख्दै आएको बताउँदै अब समस्या समाधान गर्न ढिलाइ गर्न नहुने बताए ।

त्यसैगरी, कार्यक्रममा बोल्दै पूर्वसांसद मञ्चका सभापति ओमकार श्रेष्ठले भारतले ठूलो मन गरेर नेपालसितको सम्बन्ध सुधार गरी छिमेकीसित सम्बन्ध सौहार्दपूर्ण छ भनेर प्रमाणित गर्नुपर्ने बेला आएको बताए ।

पूर्वसांसद मञ्चका उपसभापति गोबिन्दबहादुर शाहले नेपाल–भारतवीच बार्ताबाट नै समस्याको समाधान निकाल्नुपर्ने बताए ।

डाइलग सेसनको निचोड निकाल्दै प्राध्यापक थपलियाले नेपाल–भारत सम्बन्ध जति प्रगाढ छ, त्यति नै भावनात्मक रहेको हुँदा विवाद आउँदैमा आत्तिनुपर्ने अवस्था नरहेको बताइन् ।

साझ साढे पाँच बजे सुरु भएर करिब साढे तीन घण्टा चलेको अन्तरक्रियात्मक सत्रमा नेपालीहरुका तर्फबाट राजदूत नीलाम्बर आचार्यका साथै पूर्वपरराष्ट्र सल्लाहकार डा.दिनेश भट्टराई, पूर्वसांसद मञ्चका सभापति तथा पूर्वमन्त्री ओमकार श्रेष्ठ, पूर्वमन्त्रीहरु गोबिन्दबहादुर शाह र शिवराज जोशी एवं पूर्वसांसद बिष्णुबहादुर रावत, शंकरनाथ शर्मा, होमराज दाहाल लगायतको सहभागिता थियो ।

कार्यक्रममा झलकनाथ वाग्ले, शिला यादव, शुशिला शर्मा, सुरेशकुमार कार्की, डा.रमेशबहादुर थापाका साथै नेपाली राजनीतिक दलहरुका भारतस्थित सम्पर्क समिति र मञ्चका प्रमुखहरु बालकृष्ण पाण्डे, सीता अधिकारी, आरबी खड्का र ठाकुर खनालले आफ्ना विचार राखेका थिए ।

त्यसैगरी नेपालमाथि विद्यावारिधि गर्दै आएका पीएचडी स्कलर ऋषि गुप्ता, आइटी विज्ञ नागेन्द्र प्रसाद जोशी, पीएचडी स्कलर ललित पाण्डे, जेएनयुका शोधार्थी तथा पूर्वाञ्चल विश्वविद्यालयका प्राध्यापक राम ढकाल, सीए सुभास भट्ट, सुधन महत तथा पीजीआई चण्डीगढ़का डा. विपीन यादवले पनि कार्यक्रम योगदान गरेको आयोजकले जनाएका छन् ।

नेपाल–भारत सम्बन्ध जनस्तरमा चिसिएका बेला सत्य–तथ्य उजागर गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रमको संयोजकत्व आयोजक संस्था ‘फोरम फर इनोभेटिभ रिसर्च एण्ड कन्स्ट्रक्टिभ डायलग’ का कन्भेनर अम्बिकाप्रसाद जोशीले गरेका थिए । प्राध्यापक संगीता थपलियाले मोडेरेटरको भूमिका निभाएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment