Comments Add Comment

जसले नर्सिङ पेशालाई मर्यादा र प्रतिष्ठासँग जोडे

कुनैपनि कामले आफ्नो पेशालाई कति प्रसिद्ध गराउँछ भन्ने कुराको लागि विश्वमा विभिन्न उदाहरणहरु पाइन्छ । पहिले गुमनाम रहेका विभिन्न पेशाहरुमा एक जनाको प्रयासले गरेको आमूल परिवर्तनका उदाहरणहरु धेरै देख्न सकिन्छ । त्यस्ता धेरै विषयहरु हुन्छन् । विज्ञानलाई आइन्सटाइन जस्ता मानिसहरुले चर्चित बनाए । साहित्यलाई होमर, वाल्मीकि, व्यास जस्ता विद्वानहरुले चर्चित बनाए । त्यसै मध्ये नर्स पेशालाई विश्व चर्चित बनाउने काम १९ औं शताब्दीको मध्यतिर इटालीकी परिचारिका एवं तथ्यांकशास्त्री फ्लोरेन्स नाइटिङ्गेलले गरेकी हुन् ।

यो सबैले सुन्दै आएको कुरा हो, फ्लोरेन्स नाइटिङ्गेलले नै नर्सिङ पेशालाई विश्व चर्चित बनाइन् । उनको समयभन्दा पहिलेसम्म नर्स पेशालाई एउटा घृणित पेशाको रुपमा चिन्ने गरिन्थ्यो । पेशामा कुनै चमक हुने थिएन । आफूलाई नर्स हुँ भन्नेको लागि पनि मानिसहरु लजाउने गर्थे । समग्रमा भन्दा समग्र नर्सिङ पेशाको नराम्रो छवि विकास भएको थियो । त्यही समयमा नित्तान्त सेवा भावले पारिवारिक उल्झनहरुलाई समेत कुल्चिएर उनैले यसको सुरुवात गरेकी थिइन् ।

झण्डै डेढ शताब्दी पछिसम्म आइपुग्दा नाइटिङ्गेलको यो सेवाभावबाट सम्मानित बनेको नर्सिङ पेशा पहिलेको जस्तो सेवासँग जोडिन सकेको छैन । नर्सिङ पढाउनेहरुले यसलाई व्यवसायिक रुपमा लिएका छन् । त्यसले गर्दा पनि नर्सिङ पढ्नेहरु समेत पढाईको लगानी उठाउनकै लागि पैसामुखी बन्नुपर्ने अवस्था आएको छ । काम गर्ने शैली र उनीहरुको बाध्यताले पनि नर्सिङ पेशा अहिले पहिलेको जस्तो छैन ।

नर्सिङ संघकी महासचिव लक्ष्मी केसी अहिलेका नर्सहरु पहिलेको जस्तो निःस्वार्थ सेवा गर्न सक्ने अवस्थामा नरहेको बताउँछिन् । त्यही सेवा भावको विकास गर्नको लागि पनि आफूहरुले निःशुल्क नर्सिङ सेवाको कुरा उठान गरेको बताइन् । उनले निःशुल्क नर्सिङ शिक्षाको प्रावधान नआएसम्म उनीहरुको काम पैसामुखी हुनबाट रोक्छु भन्न सक्ने अवस्था नरहेको उनले बताइन् ।

किन ‘नर्स’ बन्न सकिरहेका छैनन् नेपाली नर्सहरु ?

नर्स वास्तवमै नम्र र बिरामीको पीडालाई आफ्नो जस्तै सम्झिएर  व्यवहार गर्नुपर्ने पेशा हो । तर, अहिलेका नर्सहरुमा नर्सको हुनुपर्ने व्यवहारहरु पाउन सकिँदैन । यसमा केवल नर्सको मात्रै कमजोरी नभएर सिंगो अस्पताल प्रशासन र सिंगो राज्य समेत जिम्मेवार छ । एउटै बिरामीको भागमा १५-२० जनासम्म बिरामीहरुको हेरचाहको जिम्मा लगाइदिँदा पनि यस्तो समस्या हुने गरेको पाइन्छ । जुन विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डको पनि विपरित छ ।

अर्काेतर्फ, नर्सहरुमा एउटा मनोवैज्ञानिक दबाब हुने गर्छ । एकातिर घरमा अध्ययन गर्दाको पैसाको गुनासो आउने गर्छ भने त्यसैको असरले उनीहरुको मन नै बेचैन भइरहेको हुन्छ । जसका कारण पनि बिरामीप्रति उनीहरुको राम्रोसँग सेवा दिन नसकेको केसी बताउँछिन् । ‘नर्सहरुलाई वास्तविक नर्स बनाउनको लागि भोलेन्टियर प्रथाको अन्त्य गर्ने र उनीहरुको सेवा सुविधाको उचित व्यवस्थापन गर्नुपर्ने देखिन्छ ।’ केसीले भनिन् ‘नर्सिङ संघको माग पनि नर्सहरुलाई वास्तविक नर्स बनाउनु पर्छ भन्ने नै हो ।’ अहिले नर्सिङ शिक्षा भएको व्यापारीकरणकै कारण नर्सहरुको वास्तविक पहिचान बदलिन थालेको उनको बुझाई छ ।

किन सम्झिन्छौं फ्लोरेन्स नाइटिङ्गेललाई ?

डेढ सय वर्ष कटिसक्दा पनि नर्स बन्नेहरुको आदर्श नारी हुन् फ्लोरेन्स नाइटिङ्गेल । उनले नै नर्सिङ पेशालाई सम्मानित बनाउनको लागि महत्वपूर्ण योगदान दिइन् । भलै उनको लागि पैसाको अभाव थिएन । तर, पैसाभन्दा पनि एक धनाढ्य परिवारमा जन्मिएकी उनले परिवारको इच्छालाई त्यागेर आफ्नो चाहाना अनुसार नर्स बनेकी थिइन् । जसका कारण उनी विश्व चर्चित हुन सकिन् ।

सन् १८२० को मे २२ मा फ्लोरेन्स इटालीको फ्लोरेन्स शहरमा जन्मिएकी हुन् । दुई सन्तानमध्येकी कान्छी छोरीको रुपमा रहेकी उनी इटालीको एक सम्भ्रान्त परिवारमा जन्मिएकी थिइन् । उनको सानै उमेरदेखि नर्स बन्ने चाहाना थियो । सोही अनुसार नै उनी परिवारको इच्छा विपरित नर्सिङ सेवामा आबद्ध भइन् ।

उनको अध्ययन पूरा भइसकेपछिको कामको सुरुवात सन् १८५० देखि भएको थियो । उनी लण्डनबाट फर्किएपछि बिरामी जाँच्नको लागि मिडेलसेक्स अस्पतालमा नर्सको रुपमा सेवा सुरु गरिन् । नाइटिङ्गेलले नै नर्सिङलाई नै वास्तविक सेवा क्षेत्रको रुपमा परिचित गराइन् । त्यहाँको उनको अभिनयले उनको रोजगारदातालाई यति प्रभावित तुल्यायो कि नाइटिङ्गेललाई एक वर्ष भित्रै सुपरिटेन्डेन्टमा पदोन्नती गरिदिए ।

पदोन्नती पछि नाइटिङ्गेलले हैजाको प्रकोप र रोगको तीब्र गतिलाई रोक्नको लागि कडा परिस्थितिको सामना गर्नुपर्‍यो । यसपछि नाइटिङ्गेलको टोलीले आफ्नो अभ्यासमा सुधार गर्ने लक्ष्य लियो । उनको नेतृत्वमा गरिएको सो कामले अस्पतालको मृत्यु दरमा उल्लेखनीय रूपले कमी आयो । कडा परिश्रमले उनी स्वयंको स्वास्थ्यलाई असर गर्याे । तर, अरु धेरैको ज्यान जोगाउन उनको नेतृत्वको टोली सफल भयो । त्यो नै उनको जीवनको सबैभन्दा चुनौतीपूर्ण कुरा हो ।

सन् १८५३ को अक्टोबरदेखि कि्रमिया युद्ध सुरु भयो । ओटोम्यान साम्राज्यको नियन्त्रणको लागि बि्रटिश साम्राज्यले रूसी साम्राज्य बिरूद्ध धावा बोलेको थियो । सो युद्धमा हजारौं बेलायती सिपाहीहरू ब्ल्याक सी क्षेत्रमा पठाइएको थियो । त्यहाँ उचित खानपिनको अभाव र खाद्य सामग्रीको आपूर्ति घट्दै जाँदा १८ हजार सैनिकहरु सैनिक अस्पतालमा भर्ना भएका थिए ।

त्यस समयमा त्यहाँ कि्रमियाका अस्पतालहरूमा कुनै महिला नर्सहरु थिएनन् । विगतका महिला नर्सहरूको खराब छविका कारण युद्ध सम्बन्धी हेर्ने सैनिक कार्यालयहरुले नर्सहरु हटाउने क्रम चलिरहेको छ । युद्धमा सैनिकहरु धेरै संख्यामा बिरामी हुँदैजाँदा पर्याप्त चिकित्सा स्याहारको अभाव मात्र थिएन, दुर्भाग्यपूर्ण असंवेदनशील र अमानवीय अवस्थामा पिरोलिँदै आएका सैनिकहरुलाई हौसला र प्रेरणाको पनि अभाव थियो । त्यस्तो अवस्थामा नाइटिङ्गेलले एउटा कुशल नर्सको भूमिका खेलेकी थिइन् । त्यसैले विश्वभरी नै नर्सको एउटा असल छविको विकास गर्‍यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

गुल्जार छ रारा

Advertisment