
९ पुस, काठमाडौं । बस्तीहरुको आफ्नै इतिहास हुन्छ । झाडी फाँडेर, शिशुका कंकाल उधिनेर बनेको बस्ती हो- थापाथलीको सुकुमबासी बस्ती । यहाँ अहिले करिब १४६ छाप्रा छन् । सुविधाउयुक्त काठमाडौं शहरमा असुविधायुक्त जीवन बाँचिरहेका सुकुमबासीहरुको जनजीवनबारे बुझ्न हामी पाठकहरुलाई वाग्मतीको पुलमुनि लैजाँदैछौं ।
सकुम्बासी बस्तीलाई वायाँ पारेर दौडेको वाग्मतीको फोहोर पानी (पानी के भन्नु, फोहोर) बगिरहेको छ । नजिकै थापाथली र कुपण्डोललाई जोड्ने वाग्मती पुल छ, जहाँ सवारी साधनका खचाखच ओहोर-दोहोर छन् । किस्ता-किस्तामा वाग्मतीबाट बत्तिँदै बस्तीलाई आक्रमण गर्न दुर्गन्ध आइपुग्छ । तर, यो बस्तीमा बसोबास गर्नेहरुले नाक थुन्न जरुरी ठान्दैनन् । ०६४ सालदेखि यो गन्धबाट अभ्यस्त भैसकेका छन् उनीहरु ।
वाग्मती किनारमा लहरै बसेका छाप्राका आ-आफ्नै कथा छन् । कुनै छाप्राहरु होर्डिङ बोर्डले बारिएका छन्, कुनै छाप्रा काठले । कुनै छाप्रा त्रिपालले बारिएका छन् त कुनै टिनले । यत्ति हो, यो जाडो मौसमको सिरेटो छाप्राका ती बारबाट निर्बाध भित्र छिर्छन् । झुपडी बस्तीको अलि पर आलिशान भवनहरु देखिन्छन् ।
०६९ सालमा यो बस्तीमा डोजर चल्यो । कतिचोटि आगो लाग्यो । तैपनि यो सुकुमबासी बस्ती उठेन । उठेको छैन ।
०००
वाग्मती नदीसँगै टाँसिएको खाली जमीनमा सुरुमा झाडी मात्र थियो । नजिकै रहेको प्रसुतीगृह अस्पतालमा मृत्यु भएका शिशुलाई गाड्ने चिहान थियो यो ठाउँ । केही युवाहरुको प्रिय ठाउँ थियो, जसले यो ठाउँलाई गाँजा खाने र सुई हान्ने अखडा बनाएका थिए ।
यहीबीचमा एउटा घटना भयो ।
बर्दियाबाट सकुम्बासीहरु साइकल यात्रा गरी राजधानी प्रवेश गरे । सरकारले आफूहरुलाई अधिकार नदिएको भन्दै उनीहरु अधिकार माग्न काठमाडौं आएका थिए । २८ मसिंर, ०६३ मा उनीहरु माइतीघर मण्डलामा पुगेर धर्ना दिन थाले- ‘हाम्रो अधिकार सुनिश्चित गर !’
सरकारले तत्काल उनीहरुलाई प्रक्राउ गरेर मुख बन्द गरिदियो । उनीहरुका साइकल थापाथली नजिकैको यही वाग्मती किनारमा थन्काइयो । एक/दुईजना ती साइकल रुँगेर बसे । हिरासतबाट निस्किएपछि बर्दियाका आन्दोलनकारी सुकुमबासीहरु घर फर्किए ।
तर, त्यही मौकामा विभिन्न जिल्लाबाट काठमाडौंमा आएर बसोबास गरिरहेका गरीब तथा घरबारविहीनहरु यही साइकल पार्किङ गरिएको वाग्मती किनारमा गएर बसोबास गर्न थाले । सुकुमबासी समाजका अध्यक्ष चन्द्रबहादुर लामा सुनाउँछन्, ‘१ पुस, ०६४ बाट यहाँ बस्ती बस्न थालेको हो ।’
मान्छेहरु थपिँदै गए । रातारात झाँडी फाँडिन थालियो । करिब नौ फिट भिरालो जमिनलाई उनीहरुले माटो र ढुंगा हालेर सम्याए । स्थानीय बासिन्दा एवं राजनीतिज्ञ दलमर्दन कामी भन्छन्, ‘यहाँ पहाडे बाहुनदेखि तराईका चमारसम्मका मानिसको बसोबास छ अहिले ।’

यहाँ बस्ने अधिकांश मानिसहरु शुरुदेखि नै ज्यामी काम गर्थे । कोही जुत्ता सिलाउँथे त कोही कपडा सिलाएर जिविका चलाउँथे । सुकुमबासी बस्तीकी कमला लामा भन्छिन्, ‘मैले वाग्मतीमा बालुवा चाल्नेदेखि चाइना टाउन बनाउनेसम्मको काम गरेँ । पाटन हस्पिटल पनि हामीले नै बनाएका हौँ । तर, अहिले त शरीर नै रोगको घर भएको छ ।’
उनीहरुले अरुका आलिशान बिल्डिङ मात्र बनाएनन् । बेलुका फर्किंदा थोत्रा एक दुई/वटा इँटा पनि बोकेर छाप्रोमा ल्याउन थाले । तिनै इँटाहरु जोडेर कतिपयले चिरिच्याट्ट इँटाको घर ठड्याए ।
‘यो बस्ती यसै बनेको थिएन, यहाँको माटोमा हाम्रो रगत पसिना बगेको छ’, कमला भन्छिन् ।
यसरी ०६८ सम्म प्रायः सबैको घर बनिसकेको थियो । कतिले बनाउँदै थिए । दलमर्दनको दाबी छ, ‘दुवैतिर बस्तीवीचमा गाडी, दमकल जे पनि छिर्थ्यो । साँच्चिकै काठमाडौंको नमूना सुकुमबासी बस्ती हो यो ।’
घर तयार भएकाहरु नयाँ घरमा करिब एक वर्षजति बसेपछि अर्को घटना भयो ।
०००
०६९ वैशाख २६ गते ।
मध्यरातबाटै प्रहरीको घेराबन्दीमा पर्यो थापाथली सुकुमबासी बस्ती । सुकुमबासीलाई अश्रुग्याँस र फाइरिङको आवाजले निद्राबाट ब्युँझायो । लगत्तै बालबालिकासमेत गरी ३० भन्दा बढी सुकुमबासीहरु पक्राउ परे ।
सुकुमबासीहरुले नालापानीको युद्धमा जस्तै महिला, बालबालिका सबै मिलेर घेरा तोड्ने र युद्ध जित्ने प्रयास गरे । दलमर्दन घटना सम्झँदै अनलाइनखबरसँग भन्छन्, ‘करिब एक घण्टासम्म बस्ती रणभूमिजस्तै बनेको थियो । सयौं प्रहरी परिचालन गरेको थियो सरकारले ।’
एकछिनपछि बस्तीमा बुलडोजर चल्यो । मानिसको भागभाग भयो । मानिसहरु घाइते भए । छाप्रा र इँटाका घरहरु क्षणभरमै गर्ल्याम गुर्लम ढले ।
‘यो घटनापछि नौ जना गर्भवतीको गर्भ तुहियो, त्यसमा मेरी जहान पनि परिन्’, दलमर्दन सुनाउँछन्, ‘त्यसपछि अहिलेसम्म मेरो जहानको गर्भ बस्न सकेको छैन ।’
वस्तीमा डोजरले घर भत्काएपछि सामानहरु जोगाउन ओसार-पसार गर्दा र भागदौड हुँदा गर्भवतीमा स्वास्थ्यसम्बन्धी समस्या देखा परेको उनको तर्क छ ।
कतिले घर निर्माण गर्दागर्दै बुलडोजर चल्यो । चन्द्रबहादुर थप्छन्, ‘हामी नबसेको भए यो खाली जग्गा अहिले पनि झाडी नै हुन्थ्यो । हामीले दुःख गरेर तयार गर्यौँ, अनि सबैको आँखा हामीमाथि पर्यो ।’
स्थानीयका अनुसार यहाँ सात पटक आगो लगाइयो र एकचोटि बुलडोजरले वस्ती सखाप पार्यो । तर, पनि बस्ती उठेन । सरकारले डोजर चलाएपछि कतिपय मानिसहरु चाहिँ बस्ती छाडेर अन्यत्रै गए । अधिकांशले ढलेका छाप्राहरु फेरि उठाए ।
डोजरकाण्डपछि कतिपय सुकुमबासीहरु दशैं खर्च र डेरा खर्च थापेर अन्यत्रै गएको स्थानीय बताउँछन् । दशैं आउनै लागेको थियो, २५ हजार समाएर २५ परिवार निस्किए । अर्को १५ हजार समाएर ८७ परिवार बाहिरिए । चन्द्रबहादुर भन्छन्, ‘तर, यहाँबाट निस्किएर कहाँ जाने ? हामी संघर्ष गरेर यही बस्यौँ ।’

लुमन्ती भन्ने संस्था र काठमाडौं विकास प्राधिकरणका मानिसहरु आएर विभिन्न आश्वासन दिए । उनीहरुले भने, ‘तपाईंहरु यहाँबाट अन्यत्र जानुस्, हामीले पहिलो चार महिनाको भाडा २५ जहार दिन्छौँ । त्यसपछि पुनः व्यवस्थापन गर्छौँ ।’
प्रशासनले भग्नावशेष बनाएको बस्तीमा रात बिताउन त्यति सहज भएन । सुरुमा भत्काइएका टहरा बनाउन प्रहरीले दिइरहेको थिएन । उनीहरु मै बस्थे । भुईँमै सुत्थे । माटोलाई ओच्छ्यान र ढुंगाको सिरानी हालेर । आकाशलाई सिरक बनाएर । करिब सात सयजनाले केही समय कम्युनमा जस्तै सामूहिक खाना पकाएर खाए ।
तीन दिनपछि तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई बस्तीमा पुगे । उनले भने, ‘यहाँ डोजर चल्ने कुरा मलाई थाहा थिएन । म तपाईहरुको व्यवस्थापन गर्छु ।’
उनीहरुले सरकारबाट प्राप्त गरेको आश्वासन यति नै हो । ‘अरुतिरका सुकुमबासीहरुबाटै सहयोग आयो, धन र मन भएकाहरुले दाल चामल पनि सहयोग गर्नुभयो’, बस्तीको पुच्छरमा बसेका चन्द्रबहादुर बोल्छन्, ‘एक-ढेढ महिनापछि होर्डिङ बोर्ड, बोरा, प्लास्टिकले बारेर टहरा बनाउन थाल्यौँ ।’
यत्तिकैमा वैशाख लाग्यो । एकातिर सर्पको डर थियो । जाडो त थिएन, तर बेला-बेला आकाशबाट पानी बर्सिन्थ्यो । ‘पानी आयो भने हामीले माथिबाट सिरकजसरी प्लास्टिक खाप्थ्यौँ र सुत्ने चेष्टा गर्थ्याै ‘, दलमर्दन बोल्दाबोल्दै रोकिन्छन् । बालिबालिकाको शरीर मच्छडको टोकाइका डाबरले भरिन्थे । तर, बाँच्नु त छँदैछ ।
अहिले थापाथलीमा जुन सुकुमबासी बस्ती देखिन्छ, यी टहराहरु डोजर काण्डपछि पछि पुनः बनेका हुन् । यहाँ ३८४ महिला र ३७२ बढी पुरुषहरुको बसोबास छ । बालबच्चाको गणना छैन ।
महानगरभित्रको बेग्लै संसार
थापाथलीको सुकुमबासी बस्तीमा आमा समूह पनि छ । समूहकी अध्यक्ष हुन् कमला । उनले सुकुमबासी बस्तीबीचको छाप्रोमा किराना पसल थापेकी छिन् । उनी आमाहरुलाई बचत गर्न सिकाउँछिन् । ‘हामी चिया नपिइ तातोपानी पिएर भए पनि महिनामा ५ सय रुपैयाँ जम्मा गर्छौँ’, उनले सफलताको कथा सुनाइन्, ‘हामी आमाहरुलाई २०/२५ हजार लगानी गर्छौँ ।’
आमा समूहको लगानीको प्रतिफलस्वरुप घरैपिच्छे कुखुराका खोरहरु देखिन्छन् । बाटामा हाँसहरु ढल्कँदै हिँडिरहेका भेटिन्छन् । कतिले बट्टाईसमेत पालेका छन् । काठमाडौंको मुटुमा रहेको यो वस्तीभित्र पस्ता गाउँले जीवनको झल्को मेटिन्छ । भलै, आजभोलि गाउँघरमा पनि बाख्रा कुखुरा पाल्न छाडिसकेका छन् ।

कमलासँग श्रीमान छैनन् । उनी अर्कै श्रीमती च्यापेर अन्तै डेरा बस्छन् । कमला ठेट भाषा प्रयोग गर्छिन्, ‘जसको पैसा छैन, उसैलाई दुई/तीनवटी स्वास्नी चाहिन्छ ! यहाँ थुप्रै महिलाले यस्तो समस्या भोग्नुपरेको छ ।’
कमलाले तीन छोरी र एक छोरा हुर्काइन् । दुई छोरीको बिहे भैसक्यो । एक छोरा १२ पढ्दापढ्दै मलेसिया हानिएका छन् । तैपनि उनी यहाँ ढुक्कसँग निदाउन सकेकी छैनन् । ‘न सरकारले कतै व्यवस्थापन गर्छ न यहीँ बस् भनेर हामीलाई सेवा-सुविधा नै दिन्छ’, कमला भन्छिन् ।
सुकुमबासी बस्तीबाट अस्पताल टाढा छैन् । तर, कहिलेकाँही रोग लाग्यो भने उनीहरुलाई आपत पर्छ । दलमर्दन सुनाउँछन्, ‘कसैलाई रोग लाग्यो भने सहयोग गरेर अस्पताल पुर्याउँछौँ, एकजना बुवा त समयमा उपचार नपाएर दृष्टिविहीन नै बन्नुभयो ।’
दलमर्दन आफैं मुटुका बिरामी हुन् । उनको मुटुमा प्वाल परेको थियो । दलमर्दनकी श्रीमती ज्यामी काम गर्थिन् । बल्लतल्ल सहयोग उठाएर उनले अप्रेशन गरे ।
दलमर्दन लामो समय चर्चमा धाए । बस्ती छिर्ने वित्तिकै बाँसको टाटीले बारेको चर्च आउँछ । त्यसैको छेउमा दलमर्दनको घर टाँसिएको छ ।
चुनावमा बिजुली बल्यो !
यी टहरामा सुरुमा टुकी मात्र बल्थ्यो । गत प्रतिनिधि सभाको निर्वाचनअघिबाट यहाँ बिजुली बल्न थालेको छ ।
संघीय राजधानीको मुटुमा रहेको यो सुकुमबासी बस्ती काठमाडौं क्षेत्र नम्बर १ मा पर्छ । यहाँका सांसद नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह हुन् । यो क्षेत्रमा साझा पार्टीका रवीन्द्र मिश्र र माओवादीबाट जनार्दन शर्माका भाइ अनिल शर्माले पनि चुनाव लडेका थिए ।
‘निर्वाचन ताका यहाँ आएर प्रकाशमान सिंह, अनिल शर्माहरु हामीले जित्यौँ भने तपाईंहरुलाई जग्गा उपलब्ध गराउँछौँ भन्नुभयो’, कमला सुनाउँछिन्, ‘खुब दुःख गरेर भोट हाल्यौँ । तर, त्यसपछि कसैले मुख देखाउनुभएन ।’

भोट हाल्न पनि सहज भएन काठमाडौं १ का सुकुमबासीलाई । नागरिकता त छ, तर, वडाले कुनै सिफारिस दिँदैन । गाउँमा गयो, भोटर लिस्टमा नाम छैन, साक्षी खोज्छ । सिन्धुलीकी कमला भन्छिन्, ‘६ दिन लगाएर भोटर बन्यौं र लाइन लागेर भोट हाल्यौँ ।’
अहिले उनीहरुले जन्म दर्ता गर्न पनि गाउँ नै पुग्नुपर्छ । बालबालिकालाई पढाउनसमेत वडाले सिफारिस दिँदैन ।
नागार्जुनमा अपार्टमेन्ट बनेको छ तर…
दलमर्दनका अनुसार थापाथलीमा मात्र होइन, काठमाडौंका अन्य ६७ ठाउँमा यस्ता सुकुमबासी बस्तीहरु छन् । मनोहरा र शान्तिनगरमा सबैभन्दा ठूलो सुकुमबासी बस्ती छ ।
अर्कोतिर सुकुमबासी र गरीब परिवारलाई व्यवस्थित बसोबास गराउनका लागि नागार्जुन नगरपालिकामा बनेका चारवटा भव्य अपार्टमेन्ट भूत बंगलाजस्तै प्रयोगविहीन अवस्थामा छन् । सरकारले लुमन्तीसँगको सहकार्यमा ती अपार्टमेन्टहरु बनाएको हो । तर, ती अपार्टमेन्टमा बस्न यहाँका सुकुमबासी मञ्जुर छैनन् ।
‘यसबारेमा हामीसँग सल्लाह गरिएको छैन’, अध्यक्ष चन्द्रबहादुर भन्छन्, ‘काठमाडौं उपत्यका विकास प्राधिकरण र लुमन्तीले आएर हामीले त्यहाँ बसेबापत तिर्नुपर्ने खर्चको लिस्ट दिएको थियो, हामी कसरी त्यहाँ बस्न सक्छौँ ?’
बस्नका लागि पर्याप्त ठाउँ नभएको पनि उनीहरुको गुनासो छ । दलमर्दन भन्छन्, ‘यहाँ एउटा छाप्रोमा तीनवटा पुस्ता बस्छन् । तर, त्यहाँ उपलब्ध गराउने तीनवटा कोठामा एउटा परिवार कसरी अट्न सक्छ ।’ उनीहरु अपार्टमेन्टको साटो तीन/चार आनाको जग्गा उपलब्ध गराउन सरकारसँग माग गर्छन् । कमला र चन्द्रबहादुरले एकै स्वरमा भने, ‘भ्यालीको कुनै कुनामा जग्गा दिए हामी सकी-नसकी टहरा बनाएर बस्थ्यौँ ।’

तस्वीर : चन्द्र आले/अनलाइनखबर
प्रतिक्रिया 4