+
+

कहाँ भागे चिनियाँ गिरोहका नाइके ?

संयुक्त अपरेशनप्रति चिनियाँ पक्षको असन्तुष्टि

गौरव पोखरेल गौरव पोखरेल
२०७६ पुष १४ गते १३:२८
चिनियाँ नागरिक बसेको घर ।

१४ पुस, काठमाडौं । नेपालमा बसेर चीनविरुद्ध गतिविधि गरेको आरोपमा चलाइएको अपरेशनप्रति चिनियाँ पक्ष असन्तुष्ट देखिएको छ । नामै किटान गरेर पठाइएका मुख्य अभियुक्तहरुलाई भगाइएको भन्दै चिनियाँ पक्षले असन्तुष्टि जनाएको हो ।

गृह मन्त्रालय स्रोतकाअनुसार चिनियाँ पक्षले नेपालका विभिन्न क्षेत्रमा रहेका ७० घरमा बसेर करिब एक हजार व्यक्तिले चीनविरुद्ध गतिविधि गरिरहेको रिपोर्ट दिएको थियो । त्यही सूचनाका आधारमा नेपाल प्रहरीले ७ पुसमा सर्च अपरेशन चलायो र १२२ जनालाई पक्राउ पनि गरेको छ ।

तर मुख्य अभियुक्तलाई जोगाएर ७ वटा घरमा मात्र छापा मारेको भन्दै चिनियाँ पक्षले असन्तुष्टि जनाएको छ ।

स्रोतका अनुसार अपरेशनको निगरानीका लागि चिनियाँ प्रहरीबाट एक जना उच्च अधिकृतको नेतृत्वमा १२ जनाको प्रहरी टोली काठमाडौंमा खटिएको थियो । राजधानीको एक बुटिक होटलमा बसेर टोलीले नेपाल प्रहरीको अपरेशन निगरानी गरिरहेको थियो ।

तर पक्राउ संख्या ८० नपुग्दै अपरेशनबारे सूचना सञ्चारमाध्यममा चुहियो । यसलाई लिएर नेपालस्थित चिनियाँ दूतावासका प्रतिनिधिले गृह मन्त्रालयका उच्च अधिकारीसँग असन्तुष्टि जनाउको स्रोत बताउँछ ।

मुख्य संदिग्ध नै भागे

चिनियाँ अधिकृतहरुले पहिलो चरणमा ३ सय जना नागरिकलाई बोइङ विमानमार्फत चार्टड गरेर लाने तयारी गरेका थिए । तर अपरेशन सुरु भएलगत्तै सूचना चुहिएपछि लक्ष्य अनुसार पक्राउ गर्न नसकेको चिनियाँ पक्षको विश्लेषण छ ।

त्यसमा पनि चिनियाँ नागरिकलाई नेपाल ल्याउने गिरोहका नाइके मानिएका बेल्जियम र चिनियाँ पासपोर्ट बाहक दावा छिरिङ, वाङ जु चुङ, राहदानी नं. ०२८५४२२ वाहक चेन सितियान, राहदानी नं. केजे ०७६७६४६ वाहक वु रोङ फ्याङसहित १५ जना भगाइएको चिनियाँ पक्षको दाबी छ ।

उनीहरुमध्ये वाङ जु चिनियाँ नागरिकका लागि नेपालमा बन्दोबस्ती मिलाउने व्यक्ति हुन् ।

उनी फर्निचर व्यवसायको आवरणमा नेपालमा बसिरहेका छन् । ‘उनी विगत २ वर्षदेखि सितापाइला क्षेत्रमा बसिरहेका थिए’, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का एक अधिकृतले भने ।

भगाएर राखिएकामध्ये होटल स्याण्डमा काठमाडौंका मञ्जिल श्रेष्ठ र अमला रोकाको लगानी छ । रोका रोल्पा–काठमाडौं सम्पर्क मञ्चकी पूर्वउपाध्यक्ष हुन् ।

पछि रोका र कार्कीले ७ लाख ५ हजार र ४ लाख ९५ हजार जगेडा शेयर क्रमशः चिनियाँ नागरिक फेङचेङ ली र शेयर लोङ युयान लीलाई विक्री गरेको कम्पनी रजिष्टारको कार्यालयबाट प्राप्त विवरणले देखाउँछ ।

रोकामार्फत चिनियाँ गिरोहले राजनीतिक उच्च तहका व्यक्तिसँग नेक्सस बनाएको दाबी प्रहरी स्रोतको छ ।

बरामद भएका चिनियाँको मोबाइल परीक्षण गर्ने क्रममा प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा रहेको सचिवालयमा चिनियाँ गिरोहका चेन सितियान, रोङफेङसहित थप दुई जनासँग भेट गरेको तस्वीर मिडियामा सार्वजनिक भएको छ ।

रेष्टुरेन्ट सञ्चालकको आवरणमा जुवा खेलाउने धन्दामा संलग्न चिनियाँ नागरिकको समूहले आईजीपी खनालसँगको सम्बन्ध देखाएर नेपालमा बसेका चिनियाँ नागरिकका लागि आवश्यक सामग्री अवैध रुपमा भित्र्याउने गरेको भेटिएको अनुसन्धान अधिकृतहरु बताउँछन् ।

मुख्य अभियुक्त कसरी जोगिए ?

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बुधबार आयोजित पत्रकार सम्मेलनमा चिनियाँविरुद्ध अपरेशनको योजना चिलीमा बनेको दाबी गरेको थियो ।

ब्युरो प्रमुख डीआईजी निरजबहादुर शाहीले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई एनसीबी, बेइजिङ (चीनस्थित इन्टरपोलको युनिट) ले दिएको सूचनाको आधारमा टोली परिचालित भएको बताएका थिए । तर, इन्टरपोलको महासभामा दुईपक्षीय भेटवार्ताको कुनै कार्यक्रम नभएको उच्च स्रोतले बतायो ।

बरु त्यसअघिबाटै चिनियाँको निगरानीका लागि टोली परिचालित भएको स्रोत बताउँछ । उनी चिलीमै रहँदा काठमाडौंस्थित चिनियाँ दूतावासले पत्राचार गरेर पक्राउ गर्नुपर्ने व्यक्तिको सूचि नेपाल प्रहरीलाई पठाएको स्रोत बताउँछ ।

यसबारे प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, गृह सचिव प्रेमकुमार राईलगायतलाई पनि त्यसबेलै बिफ्रिङ भएको स्रोतको दाबी छ ।

तर, चिनियाँ गिरोहका मुख्य संदिग्ध भाग्न सफल भए । चिनियाँ गिरोहका नाइकेहरुलाई बूढानीलकण्ठको होटल रोयल स्याण्ड, होटल च्यांसु र होटल पुरानो गजुर गरी तीन ठाउँमा राखेर कामदारलाई मात्र पक्राउ गरिएको चिनियाँ अधिकृतहरुको दाबी छ ।

अनुसन्धान अधिकृतहरुले भने पर्याप्त तयारीविनै अपरेशन चलाइँदा तीन हजारको संख्यामा रहेको दाबी गरिएका चिनियाँमध्ये डेढ सय मात्र समातिएको बताएका छन् ।

२३ ठाउँको सूचना, २ ठाउँमा मात्र छापा

बुढानिलकण्ठ, मनमैजु र महाराजगञ्जका सीमित क्षेत्रबाहेकका स्थानबाट चिनियाँ नागरिक भाग्न सफल भएको अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् । बुढानिलकण्ठमै सय जनाको संख्यामा बसेको क्षेत्रमा छापा नहानी थोरै संख्यामा चिनियाँ भएका घरमा मात्रै अपरेशन चलाइएको स्रोतको दाबी छ ।

प्रहरीले अपरेशन चलाएको ३ स्थानबाहेक २३ स्थानमा चिनियाँ नागरिकको अवैध गतिविधि पहिचान भएको प्रहरी स्रोत बताउँछ । तर, ललितपुर, बौद्ध, बालुवाटार, लाजिम्पाट, चितवन, पोखरा लगायतका स्थानमा प्रहरीले अपरेशन नै चलाएन ।

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि सुरक्षा, अपराध तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?