Comments Add Comment

सहकारीको नौलो काम : फोहोर प्रशोधन गरेर मोहर कमाउँदै

२० पुस, बुटवल । सहकारी भन्नासाथ नगदको कारोबार अर्थात वचत संकलन र ऋण लगानी गर्ने संस्था भन्ने आम धारणा छ । तर रुपन्देहीको एक सहकारीले भने नगदको होइन, फोहोर–मैलाको कारोबार गर्छ ।

नगरलाई प्लाष्टिक फोहोरमुक्त बनाउने र प्रांगारिक मल उत्पादन गर्ने उद्देश्यले तिलोत्तमामा स्थापित जन सहभागिता स्वास्थ्य सहकारी संस्थाले नगरभित्र उत्पादन हुने फोहोर मैला प्रशोधन गरेर बिक्री गर्न थालेको छ । त्यसका लागि सहकारीले तिलोत्तमा–८ मा करहिया सामुदायिक वनको ५ बिघा क्षेत्रफलमा फोहोर प्रशोधन केन्द्र स्थापना गरेको छ ।

सहकारीले पहिलो चरणमा नगरपालिकाका चारवटा वडामा जम्मा हुने जुनसुकै प्रकृतिको नकुहिने फोहोर संकलन गरी केन्द्रमा ल्याएर प्रशोधन गर्न थालेको छ । प्लाष्टिक जन्य फोहोर प्रशोधनका लागि केन्द्रमा हाइड्रोलिक प्रेसर मेसिन जडान गरिएको छ । केन्द्रमा मेसिन, विद्युतीकरण, दुईवटा सेड, दुईवटा ट्याक्टर खरिद समेत गरी हालसम्म तीस लाख रुपैयाँ लगानी भएको सहकारीका अध्यक्ष खेमप्रसाद गौतमले बताए । फोहोर संकलन र प्रशोधनका लागि १४ जना कर्मचारीले काम गर्छन् । मेसिनले बोराबाट खन्याइने प्लास्टिक र आल्मुनियमका बोतललाई च्यापेर वर्गाकारको प्याकेट आकार बनाइदिन्छ । जसले गर्दा बिक्रीका लागि ढुवानी गर्न सहज हुन्छ । ५० बोरा बोत्तल प्रशोधन गर्दा एक क्विन्टल ५० केजी तौल निस्कने केन्द्रका प्राविधिक आरके भुसालले बताए ।

प्रशोधित प्लास्टिक जन्य फोहोर नेपालगत्र्जका व्यवसायी सलाउद्दिन खानले खरिद गर्ने सम्झौता भइसकेको छ । ‘प्लास्टिक बोत्तलको प्रतिकेजी ३१ देखि ३५ रुपैयाँ र रेडबुल, क्यान बियर, क्यान जुसका आल्मुनियम बोत्तलको मूल्य प्रतिकेजी ९० रुपैयाँमा खरिद गर्ने सम्झौता भएको छ,’ अध्यक्ष गौतमले भने, ‘अब हामीलाई चारवटा वडाको फोहोरले पुग्दैन, नगरका १७ वटै वडाको फोहोर आवश्यक पर्छ ।’ प्रशोधित फोहोर प्लास्टिक बिक्री हुने निश्चित भएपछि सहकारीका सञ्चालकहरु उत्साहित भएका छन् ।

‘अहिलेसम्म घाटामा थियौं र प्रति चुल्हो मासिक ५० रुपैयाँ शुल्क लिएका छौं,’ सहकारीका सञ्चालक किशोर पन्थीले भने,  ‘फोहोर बिक्रीबाट हुने आम्दानी बढेपछि हामी निशुल्क फाहोर उठाउँछौ बरु फोहोर दिनेलाई नाफा बाँड्छौं ।’

तिलोत्तमा नगरपालिकामा दैनिक ३० टन फोहोर उत्पादन हुँदै आएको छ । अहिले सहकारीमा ५ हजारदेखि एक लाख रुपैयाँसम्म लगानी गरेका दुई सयजना शेयर सदस्य छन् । नगरभित्रका सबै घरधुरीलाई स्वेच्छिक शेयर सदस्य बनाउने र फोहोर संकलनका लागि ढुवानीका साधन थप्ने सहकारीको योजना रहेको अध्यक्ष गौतमले बताए । ‘यो सहकारीलाई फोहोर प्रशोधन गरी राम्रो आम्दानी लिन सकिने देशकै नमूना बनाउने लक्ष्य छ,’ गौतमले भने । सहकारीले प्लास्टिक र प्लास्टिक बोत्तल, शिसा बोत्तल, आल्मुनियम, फलाम आदि सबैखाले नकुहिने फोहोर संकलन र प्रशोधन गर्दै आएकोमा अब छिटै कुहिने फोहोर पनि संकलन गरेर प्रांगारिक मल उत्पादन गर्ने तयारी थालेको छ ।

यसमा तिलोत्तमा नगरपालिकाले साथ दिएको छ । ‘यो प्रशोधन केन्द्रलाई नगरस्तरीय मात्र हैन, जिल्लाभरिको फोहोर प्रशोधन गर्ने गरी सञ्चालन गर्न नगरपालिका तयार छ,’ नगर प्रमुख वासुदेव घिमिरे भन्छन्, ‘यसलाई अझ आधुनिक र वृहतस्तरमा सञ्चालन गरी करोडौं आम्दानी लिन सक्ने गरी सञ्चालन गर्न नगरपालिकाले पनि सहकार्य गर्छ, संगसंगै प्रदेश र संघीय सरकारसंग पनि पहल गर्छौं ।’

रुपन्देहीमा फोहोरमैला व्यवस्थापनका लागि उपयुक्त जग्गाको अभाव र स्थानीयको विरोध मुख्य चुनौती रहेको अवस्थामा तिलोत्तमामा सुरु भएको यो प्रशोधन केन्द्रलाई अत्याधुनिक र वृहतस्तरमा सञ्चालन गर्न सकिने भएकाले आसपासका नगरपालिकाले सहकार्य गर्न सक्ने प्रमुख घिमिरले बताए ।

तिलोत्तमा नगरपालिकाले असोजमा सम्पन्न गरेको लगानी सम्मेलनका क्रममा फोहरमैला प्रशोधन केन्द्र स्थापना गर्ने र फोहोरलाई मोहरमा परिणत गर्ने घोषणा गरे अनुसार प्रशोधन केन्द्र स्थापनाले अब तिलोत्तमा खुल्ला प्लास्टिकमुक्त स्वच्छ र नमूना नगरको रुपमा विकास हुने उपप्रमुख जागेश्वरीदेवी चौधरीले बताइन् । ‘सहकारीको यो काम संभवतः नेपालमै पहिलो र नौलो हो,’ चौधरीले भनिन्, ‘सहकारीहरुले आर्थिक कारोबार र नाफा कमाउने काम मात्रै गर्दैनन्, सरसफाई र स्वास्थ्यका क्षेत्रमा पनि काम गर्न सक्छन् भन्ने सन्देश तिलोत्तमाले दिएको छ ।’

‘ग्रिन तिलोत्तमा क्लिन तिलोत्तमा’ नारासहित नगरलाई प्लास्टिक झोला, प्लास्टिक गिलास र प्लास्टिक प्लेट निधेष गरेको नगरपालिकाले अहिले खुल्ला शुन्य पोलिथिन अभियान चलाइरहेको छ । हरेक महिनाको १ गते र १५ गते जनसहभागितामा आधारित वृहत सरसफाई अभियान पनि दुई वर्षदेखि निरन्तर चलाएको नगरपालिकाले हरियाली प्रवद्र्धनका लागि जन्मदिनमा वृक्षारोपण कार्यक्रमसहित यो वर्ष मात्रै ५० हजार बिरुवा रोप्ने लक्ष्य राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment