Comments Add Comment

उत्तरी सीमा व्यवस्थापनबारे बेइजिङमा छलफल

२१ पुस, काठमाडौं । भारतसँगको सीमा विवाद चर्कीरहेका बेला नेपाल र चीनबीच सीमा व्यवस्थापनबारे छलफल भएको छ । चीन भ्रमणमा रहेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र चिनियाँ पब्लिक सेक्युरिटी मन्त्री तथा स्टेट काउन्सिलर झाउ केझीबीच सोमबार बेइजिङमा दुई देशको सीमा व्यवस्थापनबारे छलफल भएको हो ।

सरकारले गत कात्तिक २९ गते नेपाल चीन अन्तराष्ट्रिय निरीक्षण समिति बनाएको छ ।

दुबै नेताहरू सीमा क्षेत्रमा शान्ति तथा सुरक्षा कायम गर्नका लागि कानून कार्यान्वयनका लागि एकअर्काबीच सूचना आदानप्रदान तथा सहयोग गर्न सहमत भएका छन् । सीमा व्यवस्थापनको अलावा सार्वजनिक सुरक्षामा द्विपक्षीय सहयोग, सीमा वारपार अपराध नियन्त्रण, क्षमता अभिवृद्धि लगायतका विषयमा छलफल भएको बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ ।

भेटमा गृहमन्त्री थापाले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको र नेपालभित्र चीन विरोधी कुनै पनि गतिविधि हुन नदिने दोहोर्‍याएका थिए । उनले सामाजिक-आर्थिक विकास, सुरक्षा, मानवस्रोत विकास, आपतकालीन राहतका गरेको सहयोगका लागि चीनलाई धन्यवाद ज्ञापन गरेका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीको गत अप्रिलमा भएको चीन भ्रमण तथा चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाईमा पुर्‍याएको थापाको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment