Comments Add Comment

विलासी र अल्छी काठमाडौंवासी, बढ्दै रोगी 

सन् २००३ मा विश्व स्वास्थ्य संगठनले गरेको अध्ययनले काठमाडौंवासी  रोगको चपेटामा पर्दै गएको उल्लेख थियो । आवश्यक शारीरिक सक्रियता एवं व्यायामको अभावमा उनीहरु रोगी बन्दै गएको पाइयो । अध्ययनको निचोड थियो, अल्छे भएकै कारण काठमाडौंवासी रोगी बनिरहेका हुन् ।

सन् २०१९ मा भएको अर्को अध्ययन अनुसार काठमाडौंवासीको जीवनशैलीमा खासै सुधार नआएको प्रष्ट हुन्छ ।

विश्व स्वास्थ्य संगठनको अध्ययन अनुसार काठमाडौं उपत्यकामा ७५ प्रतिशत पुरुष र ९१ प्रतिशत महिलाहरु शारीरिक व्यायामहरुमा सकि्रय नहुने गरेको उल्लेख गरेको थियो । सोको लागि काठमाडौं उपत्यकाको कूल दुई हजार बृद्धबृद्धाहरुमा यो अध्ययन गरिएको थियो । तर, सन् २०१९ को जुलाईमा प्रकाशनमा आएको विभिन्न विषयमा अध्ययन गरेर जर्नलमा प्रकाशित गर्ने संस्था बिएमसीले गरेको जनस्वास्थ्य सम्बन्धी अध्ययन प्रतिवेदनले यो अवस्थामा केही सुधार भएको भएपनि अझै यसको समस्या धेरै रहेको उल्लेख गरेको छ ।

संस्थाले कूल ४ हजार एक सय ४३ जनामा यस्तो अध्ययन गरेको थियो, जसमा धेरै शारीरिक अभ्यास नगर्नेहरुमा गम्भीर किसिमका दीर्घकालीन रोगहरु बढेको भेटिएको छ । सो अध्ययनले ३० प्रतिशतभन्दा धेरै बयस्कहरुले आवश्यक अभ्यास नगर्ने गरेको उल्लेख गरेका छन् ।

पछिल्लो समय स्वास्थ्य सेवा विभागको तथ्यांक अनुसार कूल बिरामीको ६० प्रतिशत बिरामीहरु नसर्ने प्रवृत्तिका दीर्घकालीन रोगको शिकार हुने गरेको भेटिएको छ । नसर्ने रोगहरु हृदयरोग, मधुमेह र क्यान्सर आदिको मुख्य कारण नै शारीरिक निष्त्रिmयता रहेको अध्ययनले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डा. बाबुराजा अमात्य नागरिकहरुमा स्वस्थ रहने उपायबारे जानकारीको अभावले नै धेरैलाई गम्भीर किसिमको स्वास्थ्य समस्या देखिने गरेको भन्दै सरकारले अब नागरिकहरुलाई अभ्यास गर्न सिकाउने बताउँछन् । उनका अनुसार खानपान र जीवनशैलीमा परिवर्तन ल्याउने हो भने धेरै किसिमका दीर्घकालीन प्रकृतिका नसर्ने रोगहरु नियन्त्रण गर्न सक्ने भन्दै आयुर्वेदको ज्ञान र नियमित शारीरिक अभ्यासको नियम सिकाउने सरकार अब घरघरमा जाने बताए ।

एकातर्फ अध्ययनहरुले काठमाडौंबासीले पर्याप्त रुपमा शारीरिक व्यायाम नगरेको उल्लेख गरेको छ भने अर्काे तर्फ नसर्ने रोगीहरुको संख्या बढिरहेको छ । उपचारमा हुने अधिक खर्च, अस्पतालको झण्झटिलो भएका कारण ६ देखि ८ प्रतिशत मानिसहरु गरिबीको रेखामुनी पर्ने गरेको अर्काे अध्ययनले देखाएको छ । अर्काे तर्फ यस्ता गम्भीर किसिमका रोगले पनि गरिब र मध्यम आय भएका मानिसहरुलाई नै धेरै आक्रमण गर्ने गरेको उल्लेख छ । तर, काठमाडौंबासी कति सुध्रिए त पछिल्लो १६ वर्षमा ?

त्यसो त दुई भिन्दा भिन्दै संस्थाहरुले गरेको अध्ययनलाई तुलना गरेर यसको यकीन जानकारी प्राप्त गर्न त कठिन हुन्छ । तरपनि यो डेढ दशकको बीचमा गरिएको अध्ययनलाई तुलना गर्ने हो भने चाहिँ धेरै मानिसहरुको व्यवहार सुध्रिएको देखिएको छैन ।

बढ्यो रोगीको संख्या

एकदुई वर्ष अघिसम्मपनि झाडापखाला जस्ता सरुवा रोगका कारण ज्यान जानेहरुको संख्या धेरै हुन्थ्यो । स्वास्थ्य सेवा विभागले अस्पतालमा भर्ना हुने बिरामीहरुको संख्यालाई आधार मान्दा तयार पारेको तथ्यांक अनुसार कूल बिरामीको ६० प्रतिशत नसर्ने र गम्भीर प्रकृतिका बिरामीहरु आउने गरेका छन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. विवेक कुमार लालका अनुसार पहिले ४० प्रतिशत रहेको नसर्ने रोगीहरुको संख्या केही वर्षमा नै २० प्रतिशतको हिस्सामा बढेर ६० प्रतिशत पुगेको छ । उनले नसर्ने र जटील किसिमका रोगीहरुको संख्या बढी हुनु गरिब तथा मध्यम वर्गीय मानिसहरुलाई झनै गरिब बनाउने मूल कारक रहेको पनि बताए ।

विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७२ र ७३ मा नेपालभरी दीर्घकालीन अब्स्ट्रक्टिभ पलमोनरी रोग (सिओपीडी) रोगबाट २ लाख एक हजार २२९ जना प्रभावित भएका थिए । त्यो संख्या त्यसको दुई वर्षमा नै ३० हजारले बढेको थियो । यो एक किसिको फोक्सो सम्बन्धी रोग हो ।

जुन धुमपान र वायु प्रदूषणका कारण बढ्ने गर्छ । त्यस्तै, उच्च रक्तचापका बिरामीहरु आर्थिक वर्ष २०७२र३ मा २ लाख ७५ हजार रहेकोमा त्यसको दुई वर्षपछि ४ लाख नाघेका छन् । त्यस्तै मधुमेहका रोगीहरु दुई वर्षमा नै झण्डै ८५ हजारले बढेको विभागको तथ्यांकले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार वर्षेनी नेपालमा झण्डै ३ हजारभन्दा बढी मृगौला रोगबाट पीडित हुने गरेका छन् । भक्तपुरमा रहेको मानवअंग प्रत्यारोपण केन्द्रमा अहिले दैनिक ६० देखि ८० जनाको डायलासिस हुने गरेको केन्द्रले जनाएको छ । यसका बाहेक मुटु क्यान्सर जस्ता जटील किसिमका रोगीहरुको संख्या बढिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment