+
+
Shares

आश्रमबाट भागिहाल्छन् सडक मानव, एउटै मान्छेलाई पटक पटक उद्धार !

विकास रोका मगर विकास रोका मगर
२०७६ पुष २५ गते १९:३८

२५ पुस, पोखरा । पोखराका चिसा सडकमा रात बिताउने धेरै छन् । अधिकांश मानसिक सन्तुलन गुमाएका छन् भने कुनै बेवारिसे । विभिन्न कारणले सडकमा आएका व्यक्तिलाई मानव सेवा आश्रमको पोखरा शाखाले प्रत्येक वर्ष उद्धार अभियान सञ्चालन गर्दै आएको छ । तर समस्या जस्ताको तस्तै छ ।

सडकबाट उद्धार गरिएकालाई आश्रम त पुर्‍याइन्छ । तर, अधिकांश केही दिन बस्छन् र फेरि सडकमै आइपुग्छन् । एउटै व्यक्तिलाई पटक पटक सडकबाट उद्धार गर्नु परेपछि आश्रमले अब उद्धार अघि सडकमै मनोपरामर्श सेवा दिन सुरु गरेको छ ।

‘हामीले उद्धार त गर्छौं । तर, केही दिन बसेर फेरि उहाँहरु सडकमै जानुहुन्छ,’ मानव सेवा आश्रम पोखराका होमनाथ तिमिल्सिनाले भने, ‘पटक पटक एउटै मान्छेलाई उद्धार गरिरहन पनि समस्या भयो । त्यही भएर हामीले सडकमै मनोपरामर्श दिन सुरु गरेका छौं ।’ बुधबार रातिमात्रै पोखराका विभिन्न ठाउँका सडकबाट १२ जनाको उद्धार गरिएको थियो । त्यसमध्ये अधिकांश पहिला पनि आश्रम पुगिसकेका व्यक्ति थिए ।

सडकमा त्यसरी रात बिताउने अधिकांश दुव्र्यसनीमा फसेका व्यक्ति हुने र आश्रममा सेवन गर्न नपाइने भएकाले उद्धार गरिएका व्यक्ति भाग्ने गरेको तिमिल्सिनाले जानकारी दिए । ‘सडकमा सुत्ने प्राय मादक पदार्थ सेवन गर्ने हुन्छन् । यहाँ ल्याइसकेपछि उनीहरुलाई नशाको तलतल लाग्ने रहेछ । अनि भाग्छन्,’ उनले भने ।

तिमिल्सिनाले पटक पटक आश्रमबाट भाग्ने क्रम नरोकिएपछि सडकमै मनोपरामर्श सुरु गरिएको जानकारी दिए । ‘यहाँ आएर भाग्नुभन्दा कम्तीमा उनीहरु भएकै ठाउँमा पुगेर मनोवैज्ञानिक परामरार्श गर्न दिन सक्यौं भने उनीहरु आफैं आउँछन् कि भन्ने लागेको छ,’ उनले भने, ‘अर्को हप्ताको सोमबारसम्म सडकमै मनोपरामर्श दिन्छौं ।त्यसपछि पनि मानेनन् भनेमात्रै फेरि उद्धार थाल्छौं ।’

१ सय ५० जना क्षमता भएको पोखरास्थित मानव सेवा आश्रम शाखामा हाल १ सय १७ जनाले आश्रम लिइरहेका छन् । गत वर्ष मानव सेवा आश्रमले सडकबाट एकै दिन ४० जनाको उद्धार गरेको थियो । आश्रमले सडकबाट उद्धार गरेकामध्ये अहिलेसम्म ९० जनालाई पारिवारिक पुनर्मिलन गराइसकेको छ । आश्रममा ५ जना भारतीय नागरिकसमेत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?