Comments Add Comment

औद्योगिक ग्राम बनाउन स्थानीय तहलाई ९२ लाख अनुदान

२७ पुस, काठमाडौं । सरकारले स्थानीय तहमा औद्योगिक ग्राम स्थापना गर्न अनुदान उपलब्ध गराउने भएको छ । स्थानीय सरकारबाटै पूर्वाधार विकास गर्ने गरी पहिलो चरणमा घोषणा भएका ३२ औद्योगिक ग्रामका लागि हरेक स्थानीय तहलाई ९२ लाख रुपैयाँ अनुदान दिने निर्णय भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

आगामी १५ दिन भित्र ३२ वटा औद्योगिक ग्राममा पूर्वाधार विकास गर्न स्थानीय तहलाई यस्तो अनुदान उपलब्ध गराईंदैछ ।

मन्त्रिपरिषदको गत असोजको बैठकले ३२ औद्योगिक ग्राम स्थापनाको निर्णय गरेको थियो । पहिलो चरणमा घोषणा भएका औद्योगिक ग्रामका लागि अनुदान रकम उपलब्ध गराउन लागिएको हो ।

थप ७ औद्योगिक ग्राम स्थापनाको प्रस्ताव अहिले मन्त्रिपरिषदमा पुगेको उद्योगमन्त्री लेखराज भट्टले जानकारी दिए । ३२ औद्योगिक ग्रामको डीपीआर निर्माण भई सोही बमोजिम स्थानीय तहले यसै आर्थिक वर्षबाट पूर्वाधार निर्माण शुरु गर्ने मन्त्रालयको भनाइ छ ।

थप ७० औद्योगिक ग्राम घोषणा गरिने

मन्त्रालयका अनुसार यस वर्ष थप ७० वटा औद्योगिक ग्राम घोषणाको तयारी छ । यसै आर्थिक वर्षभित्र ७० वटा औद्योगिक ग्राम घोषणा गरी अनुदान दिइनेछ ।

कानून बमोजिम उद्योग स्थापना गर्न न्यूनतमसुविधा र पूर्वाधार उपलब्ध भएको क्षेत्र नै औद्योगिक ग्राम हो । स्थानीय तहले यस्तो औद्योगिक ग्राममा आवश्यक पूर्वाधार निर्माण गर्ने र त्यहाँ निजी क्षेत्रलाई आकर्षित गरी घरेलु लघु तथा उद्यम प्रवद्र्धन गर्ने सरकारको नीति रहेको छ ।

कस्तो बन्दैछन् औद्योगिक ग्राम ?

सरकारी मापदण्डअनुसार औद्योगिक ग्रामका लागि हिमाली र दूर्गम पहाडी क्षेत्रमा ३० रोपनी, पहाडी क्षेत्रमा ४० रोपनी र तराई क्षेत्रमा ७ विगाह न्यूनतम क्षेत्रफल तोकिएको छ । घना बस्तीबाट १ किलोमिटरको दूरीमा मात्र औद्यागिक ग्राम स्थापना गर्ने र २ सय मिटरको परिधिभित्र मानव बस्ती विकास गर्न नहुने मापदण्ड राखिएको छ ।

अन्तर्राष्ट्रिय सीमादेखि भने न्यूनतम २ किलोमिटर हुनुपर्ने भएको छ । औद्योगिक ग्राम भित्रका कूल जग्गाको ६० देखि ७० प्रतिशत उद्योग स्थापनाका लागि उपयोग गर्नुपर्छ ।

के हुन्छ सुविधा ?

स्थानीय तहलाई केन्द्रले उपलब्ध गराउने अनुदानबाट स्थानीय सरकारहरुले पूर्वाधार विकासका कार्यक्रम संचालन गर्नेछन् । त्यसअन्तर्गत सीमा पर्खाल, तारबार, पहुँचमार्ग, प्लट, ११ केभी विद्यूत प्रसारण, सम्भव भएसम्म वैकल्पिक उर्जाको प्रयोग, गोदाम घर, पानीको आपूर्ति, फोहोर व्यवस्थापनजस्ता पूर्वाधार विकास गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment