
२८ पुस, काठमाडौं । २०७८ सालको राष्ट्रिय जनगणनामा तेस्रोलिंगी समुदायको गणनाको विषयमा सरकार अझै अन्योलमा देखिएको छ । सही तथ्यांक नआउने र संख्या अत्यन्तै थोरै देखिने हो कि भन्ने आशंकाले केन्द्रीय तथ्यांक विभाग कसरी जनगणना गर्न सकिन्छ भन्ने विषयमा छलफलमै छ ।
२०६८ सालको जनगणनामा तेस्रोलिंगीको समग्र जनसंख्या निकाले पनि त्यसभित्रको समूहको गणना गरिएको थिएन । तेस्रोलिंगी समुदायले तेस्रो लिङ्गीभित्रका लेस्बियन, गे, द्विलिंगी, ट्रान्सजेन्डर र इन्टरसेक्स (एलजीबीटीआई) को छुट्टाछुट्टै पहिचान गरी उनीहरुको पनि संख्या निकाल्नुपर्ने माग गरेको छ ।
विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले त्यसरी तेस्रोलिंगीभित्रको समूहको पनि गणना गर्न कठिन हुने बताउँछन्.। विभागले यसै वर्ष गर्न लागेको नमुना जनगणनामा तेस्रोलिंगीको गणना गर्ने र पछि त्यसभित्रको समूह निकाल्न सकिन्छ कि भनी तयारी गरेको छ ।
‘हाललाई तेस्रो लिङ्गीको मात्रै गणना गर्छौं, त्यसबाट आएको तथ्थाङ्कका आधारमा तेस्रो लिङ्गीभित्र पर्ने समूहको पहिचान गर्छौं’ उनले भने । त्यसका लागि प्रश्नावलीको तयारी भइरहेको विभागको भनाइ छ ।
जनगणनामा घरको एकजना सदस्यले परिवारका अन्य सदस्यबारेको उत्तर पनि दिने भएकाले तेस्रोलिंगीबारे सही तथ्यांक आउनेमा विभागको आशंका छ ।
‘समाजमा अझै पनि तेस्रो लिङ्गीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको छैन, घरमूलीले आफ्नो सन्तानले कस्तो व्यवहार देखाउँछ त्यो बुझन नसक्दा र व्यक्ति स्वयंलाई पनि आफ्नो बारेमा जानकारी नहुँदा तेस्रोलिंगीबारे सही तथ्याक आउनेमा शंका छ’ श्रेष्ठ भन्छन् ।
जनगणनाको क्रममा आम मानिसको संख्या गणना सकिएलगत्तै तेस्रो लिङ्गीभित्र पर्ने समूहको विशेष किसिमले गणना गर्ने भएको हो ।
प्रतिक्रिया 4