Comments Add Comment

रुपन्देहीमा ‘माछा गाउँ’ ! वार्षिक १ अर्बको कारोबार

२९ पुस, बुटवल । रुपन्देहीमा माछा पाल्ने किसानको संख्या वर्षेनी बढ्दै गएको छ । जिल्लाको छपिया क्षेत्र माछा उत्पादनका लागि प्रख्यात छ । जसलाई ‘माछा गाउँ’ कै रुपमा चिनिन्छ ।

तत्कालीन दयानगर गाउँ विकास समिति अहिले सियारी गाउँपालिका बनेको छ । यही गाउँपालिकामा सुरू भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत ‘माछा जोन’ कार्यक्रम थप चार गाउँपालिकामा विस्तार भएको छ ।

अहिले ‘माछा सुपर जोन’ लागू भएका सियारी, गैडहवा, सुद्धोधन र मायादेवी गाउँपालिका हुन् । यी गाउँपालिकामा व्यवसायिक रुपमा माछा पालन गर्ने किसानहरुको संख्या वृद्धि भइरहेको छ । खासगरी ‘माछाको राजधानी’कै पहिचान बनाएको छपिया क्षेत्रमा माछा पाल्ने किसानको उल्लेख्य छ ।

अनुकुल वातावरण भएका कारण छपिया क्षेत्रमा माछा व्यवसायीहरुको चाप बढेको माछा सुपर जोन सञ्चालक समितिका संयोजक गणेशबहादुर शाहीको भनाइ छ ।

पोखरीमा माछाका भुरा छोडिँदै ।

सुपर जोनमा संघीय सरकारको लगानी

गत आर्थिक वर्षसम्ममा ४ वटा गाउँपालिकामा व्यवसायिक रुपमा माछा पालन गर्ने किसानहरुको संख्या १५ सय ४० जना रहेका छन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मत्स्य सुपर जोनका मत्स्य विकास अधिकृत एवम् सूचना अधिकारी रमेश जैसवालका अनुसार हाल रुपन्देही जिल्लामा ११ सय ७५ हेक्टरमा व्यवसायिक रुपमा माछा पालन हुँदै आएको छ । जसमा सुपर जोन भित्र मात्रै कूल ८०५ हेक्टर क्षेत्रफल पर्छ ।

दयानगर क्षेत्रको छपियामा सबभन्दा बढी माछा पालन गरिएको र कृषकहरुको संख्या पनि बढिरहेको सूचना अधिकारी जैसवालले बताए ।

पहिले प्रदेश मातहतमा रहेको मत्स्य जोनमा अहिले सुपर जोनमा परिणत भएसँगै संघीय सरकारमार्फत लगानी भइरहेको छ ।

सुपर जोन क्षेत्रमा कुल वार्षिक चार हजार ५६० मेट्रिक टन माछा उत्पादन हुँदै आएको छ । यस्तै जिल्लामा कुल पाँच हजार ८९० मेट्रिक टन माछा उत्पादन हुँदै आएको तथ्यांक छ ।

गत आर्थिक वर्षमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मत्स्य सुपर जोनबाट ४ वटा गाउँपालिकामा विभिन्न शीर्षकमा कुल ९ करोड २७ लाख रुपैयाँ लगानी भएको छ । यो आयोजनाको लगानी हो । व्यवसायीहरुबाट योभन्दा ठूलो लगानी भएको छ ।

आयोजनाका अनुसार वार्षिक रुपमा रुपन्देही जिल्लामा करिब एक अर्बभन्दा बढीको माछा उत्पादन हुने गरेको छ ।

भारतमा बिक्री

छपिया क्षेत्रमा उत्पादन भएका माछा बुटवल, भैरहवा, नेपालगञ्ज, कपिलवस्तुको अलवा काठमाडौंसम्म निर्यात हुँदै आएको छ ।

भारती माछा आयातमा औपचारिक रुपमै रोक लगाइएको छ । तर नेपालबाट अनौपचारिक रुपमा भारतमा समेत माछा निर्यात हुने गरेको व्यवसायीहरु बताउँछन् ।

खासगरी नेपाली माछाको स्वाद उत्कृष्ट हुने भन्दै सीमा क्षेत्रका भारतीयले माछा खरिद गरेर लैजाने गरेको व्यवसायीहरुको भनाइ छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजान मत्स्य सुपर जोन कार्यक्रम कार्यान्वयन एकाइका प्रमुख बरिष्ठ मत्स्य विकास अधिकृत मकबुल अलीका अनुसार काठमाडौंमा पनि माछा बिक्री गर्ने गरिएको छ । पछिल्लो समयमा माछा खाने संस्कार बढिरहेकोले पनि माछा पालन व्यवसाय फस्टाइरहेको अलीले बताए ।

परियोजनाले माछा ढुवानीको सहजताका लागि एउटा गाडीसमेत जलदेवी मत्स्य कृषि सहकारी संस्थालाई प्रदान गरेको छ । सुपर जोन लागू भएपछि जिल्लाका सियारीसँगै, गैडहवा, मायादेवी, सुद्धोधनमा पनि व्यवसायीलाई उत्साहित गर्न थप कार्यक्रम ल्याइने अलीको भनाइ छ ।

माछा गाउँका रूपमा चिनिने छपिया क्षेत्रका माछा पोखरी ।

पर्यटनसँग जोडिदै ‘माछा गाउँ’

पछिल्लो समयमा मत्स्य व्यवसायलाई व्यवासायीहरुले पर्यटनसँग जोड्न थालेका छन् । गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा आउने पर्यटकहरुलाई मत्स्यको परिकारसँगै मत्स्य पर्यर्टनको समेत अवलोकन गराउने गरी छपिया क्षेत्रमा स्टार होटलसमेत स्थापना हुने क्रम बढेको छ ।

खासगरी लुम्बिनीमा आउने पर्यटकहरुलाई केही दिन मत्स्य क्षेत्रको पनि अवलोन भ्रमण गराउने, मत्स्य पालन क्षेत्रको समेत विशेष अनुभव प्रदान गर्ने गरी व्यवसवायिक होटलहरु, रिर्सोट स्थापना हुने क्रम विस्तारै बढ्दै गएको छ । यसले खासगरी पर्यटन प्रर्वद्धनसँगै व्यवसायिक फाइदासमेत हुने अपेक्षा व्यवसायीको छ ।

व्यवसायी अर्जुन भुषालको लगानीमा एक अर्ब लागानीमा लुम्बिनी प्यालेस रिर्सोट सञ्चालना आउने तयारीमा छ ।
एकल एक अर्ब रुपैयाँ लगानी रहनेछ । लुम्बिनी आउने आन्तरिक तथा बाहृय पर्यटकलाई लक्षित गरेर रिसोर्टमा लगानी गरिएको सञ्चालक भुसालले बताउँछन् ।

रिसोर्ट सुविधा सम्पन्न हुनुका साथै ५ सयजना अट्न सक्ने एउटा र एक सय अट्ने अर्को गरी दुईवटा सेमिनार हल, बस्नका लागि हनिमुन, डिलक्स, स्वीट र नर्मल कोठा, स्वीमिङ पुल, बाल उद्यान, फनपार्क, बार, आउटडोर र इनडोर कटेजलगायत सुविधा रहनेछन् ।

डेढ महिनापछि सञ्चालनमा आउने उक्त रिसोर्टमा पहिलो चरणमा ५० करोड रुपैयाँ लगानी गरिएको छ । रिसोर्टको मुख्य विशेषता बाहिरी देशमा समुऽको छेउमा बनाइएको ‘बिच हाउस’ को स्वरूपमा पोखरी नै पोखरीले बनेको हुनेछ ।

कुल भू-भागको ७५ प्रतिशत क्षेत्रफल पोखरीले ढाकेको छ । ७ फिट गहिराइ भएको पोखरीमा विभिन्न प्रजातिका माछा पालिनेछन् ।

प्रदेशमै पहिलो पटक माछा महोत्सव

रुपन्देही माछा पालनमा अब्बल बन्दै गर्दा सबैतिरबाट प्रोत्साहन गरिएको छ । प्रचारका लागि बुधबारदेखि पाँच दिने माछा माहोत्सव हुँदैछ ।

जिल्लाका सियारी गाउँपालिका, सुद्धोधन गाउँपालिका, गैँडहवा गाउँपालिका र मायादेवी गाउँपालिकाको संयुक्त आयोजनामा महोत्सव हुन लागेको हो ।

रुपन्देही मत्स्य व्यवसायी संघका अध्यक्ष तथा मेला आयोजक समितिका संयोजक दिवास भुसालले अन्य मेला महोत्सवहरुमा कृषिलाई देखाउने दाँत मात्रै बनाइएको कारण किसानहरु नै मिलेर महोत्सव गर्न लागिएको बताए ।

उनका अनुसार महोत्सवमा बिक्री वितरणभन्दा पनि बढीभन्दा बढी किसानहरुले सिक्ने वातावरण मिल्ने छ ।

सियारी गाउँपालिकाका अध्यक्ष अयोध्या थारुले एउटा क्षेत्रको मात्रै नभएर रुपन्देही जिल्लामा प्रदेश स्तरकै पहिलो महोत्सव हुन थालेको बताए ।

माछा सुपर जोन सञ्चालक समितिका संयोजक गणेशबहादुर शाहीले महोत्सवमा ३० देखि ४० हजार कृषक ल्याउने लक्ष्य राखिको र ५० वटा स्टल राखिने जानकारी दिए ।

महोत्सवको कृषिमन्त्री घनश्याम भुषालले उद्घाटन गर्ने तय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment