Comments Add Comment

जब आमा हुँदिनन्

आफ्नै कोखबाट जन्माएका, आफ्नै काखमा खेलाएका, आफ्नै दुध चुसाएका लालाबाला जब हुर्कन्छन्, टाढा हुँदै जान्छन् । आमाको आँखाबाट आफ्नो सन्तान सधै बच्चा हुन्छन् । उनीहरु चाहन्छन्, ‘मेरा बालबच्चा सधै मेरो साथमा भइदिए हुन्थ्यो ।’

आमाहरु मनमनै यही कामना गर्छन् । तर, छोराछोरीको पखेटा लागिसकेको हुन्छ । उनीहरु आफ्नै साथीसंगी र संसारमा हराइसकेका हुन्छन् । बाल्यकालमा आमाको पाइला पच्छ्याउँदै हिँड्ने उनीहरु हुर्किएपछि आफ्नो सपना पच्छ्याउन थाल्छन् । क्रमस आमासँग उनीहरुको दूरी बढ्दै जान्छ ।

सानो छँदा त्यही आमा कति प्यारी लाग्थ्यो ? कति मायालु लाग्थ्यो ?

त्यसबेला आमाको काखमा लुटपुटिन पाउँदा असीम खुसी र आनन्दित महसुष गर्थे । संसारभरका सबैभन्दा प्यारो नै आफ्ना आमा लाग्थ्यो । आमाको हातबाट बन्ने खाना सबैभन्दा स्वादिलो लाग्थ्यो । आमाको पच्छ्यौरीको बास्ना मिठो लाग्थ्यो ।

जतिबेला हामी बोल्न सक्दैनथ्यौं, त्यसबेला आमाले हामीलाई बुझ्थिन् । हामीलाई दुःख-बिराम हुँदा आमालाई छटपटी हुन्थ्यो । हामी रुँदा आमाको मनमा चोट पर्थ्यो । हामी सन्तुष्ट र आनन्दित हुँदा आमा फुरुंग हुन्थिन् ।

आमाको त्यही छाती हो, जहाँ हामीले न्यानो अनुभव गर्थ्यौं । सुरक्षित महसुष गर्थ्यौं । आमाको तिनै हात हुन्, जसलाई समाएर हामीले उठ्न सिक्यौं । पाइला चाल्न सिक्यौं । ताते हिँड्न र तोते बोल्न सिक्यौं । खान, खेल्न, रमाउन, बोल्न, हिँड्न आमाबाट सिक्यौं ।

तर हामी जति हुर्कदै गयौं हामीलाई लाग्न थाल्यो, आमा भन्दा हामी जान्नेबुझ्ने छौं । आमा कमजोर छिन् । आमा अनपढ छिन् । आमाले हामीलाई बुझ्दिनन् । हामीले चाहेको कतिपय कुरामा आमा राजी भइनन् । हामी उन्मुक्त जीवन विताउन चाहन्थ्यौं । मनलाग्दो गर्न चाहन्थ्यौं । तर, आमाले हामीलाई ति सबै कुरामा छुट दिएनन् ।

हुर्कदै गएपछि हामीलाई आमाको हातले बनाएको होइन घर बाहिरको खानेकुरामा तलतल लाग्छ । आफ्नै भान्साको खाना छाडेर हामी फास्टफुडको पछाडि दौडियौं । हामीलाई घर-परिवारसँग बस्न मन लाग्दैन । आफन्त, इष्टमित्रसँग पारिवारिक जमघट गर्न वा भलाकुसारी गर्न रुची लाग्दैन । घर बाहिर साथीसंगीसँग हिँडडुल गर्न मन लाग्छ । चाडपर्व, उत्सवहरुमा हामी घर बाहिर रमाउन थाल्छौं । यस्तो अवस्थामा आमा खुसी हुँदैनन् । हामीलाई लाग्छ, आमा हाम्रो खुसीमा बाधक हुन् ।

हामी आफ्नो भविष्यलाई पच्छ्याउन थाल्छौं । हामीलाई घरभन्दा टाढा गएर पढ्न, काम गर्न मन लाग्छ । हामी विद्यार्थी भिषा च्यापेर सात समुन्द्र पारी जान चाहन्छौं । विदेशको वैभव, भौतिक विकासले तानेर हामी घर-आँगनसँग दुरी बढाउँछौं । आमा मनमनै कामना गर्छिन्, ‘छोराछोरी टाढा नगइदिए हुन्थ्यो । सधै आफ्नै आँखाको अगाडि भइदिए हुन्थ्यो ।’ तर, आमाले खुलेर यो कुरा भन्न सक्दैनन् । छाराछोरीको खुसीका खातिर आमाले आफ्नो पीडा भित्रभित्रै लुकाउँछिन् ।

हामी आफ्नै जीवनको बन्दोबस्ती मिलाउन थाल्छौं । प्रेम, विवाह, करियर, गृहस्थी । अब हामीलाई आफ्नो छुटै संसार बनाउने रहर लाग्छ । धन-दौलतको चक्करमा पर्छौं । भोग-विलास, सुख सयलको पछाडि दौडन्छौं । यतिबेला हामीलाई आफ्नो आमा बोझ लाग्न थाल्छ । हामी आमालाई घरको कुरुवा बनाउने प्रयास गछौं । बृद्धाश्रममा थन्को लगाइदिने योजना बनाउन थाल्छौं ।

अब हामी आफ्नो बेग्लै परिवार बनाउँछौं । श्रीमान-श्रीमतीसँग हाम्रा दैनिकी बित्न थाल्छ । हाम्रा बालबच्चा हुन्छन् । उनीहरुसँग खेल्दै, रमाउँदै गर्दा उमेर गुजि्रएको थाहा हुँदैन । बालबच्चा हुर्कन्छन् । उनीहरु क्रमस हामीसँग टाढा हुँदै जान्छन् । हामी चाहन्छौं, आफ्ना छोराछोरी सधै आफ्नै आँखा अगाडि भए हुन्थ्यो । तर, उनीहरु अर्कै दुनियाँमा रमाउन थालिसकेका हुन्छन् ।

त्यसबेला हामीलाई बोध हुन्छ, हिजो आफ्नी आमाले कस्तो पीडा, व्यथा समेटेर बसेकी थिइन् ? हामी आफ्ना आमाको भावना अनुभूत गर्न थाल्छौं । आमाको माहनता बुझ्न थाल्छौं । तर, यतिबेला हामीसँग आमा हुँदैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment