Comments Add Comment

एक बाहुनको दलित प्रेम !

‘पुर्खाले दलितमाथि अत्याचार गरेकाले ‘निहारिका’ लेखेँ’

४ माघ, काठमाडौं । प्रकाश तिवारीले साढे दुई वर्षअघि किताब लेख्न बस्दा मानिसहरु भन्थे, ‘दलितको विषयमा चाहिँ नलेख्नु है, यो मुद्दा निकै पुरानो भैसक्यो ।’

तर, तिवारीले दलितकै मुद्दामा पुस्तक लेखे । र, केही प्रकाशककहाँ धाए । उही जवाफ आयो– ‘दलितका विषयमा लेखिएका पुस्तक बिक्दैनन् ।’ हाम्रा प्रकाशकलाई मुद्दासँग होइन, व्यापारसँग सरोकार छ ।

तैपनि तिवारीले उपन्यास ‘निहारिका’ प्रकाशन गरिछाडे । उनको अनुभूतिले भन्थ्यो, ‘यो जतिसक्दो बढी लेखिनुपर्ने मुद्दा हो ।’

तिवारीले आफ्नो उपन्यासमा अन्तरजातीय प्रेम र विवाहपछिका अप्ठ्याराहरुलाई शब्दमा उनेका छन् । उनी भन्छन्, ‘तर, पुस्तकमा यत्ति मात्र विषय छैनन् ।’ अर्थात निहारिका ‘वान लाइन स्टोरी’ होइन ।

तिवारीले ०७२ सालमा पहिलो उपन्यास ‘परित्यक्त’ सार्वजनिक गरेका थिए । उनकै भाषामा भन्ने हो भने ‘परित्यक्त’ नेपालका सीमान्तकृत, बहिस्कृत र तिरस्कृतहरुको कथा हो । जहाँ दलितको विषय पनि उठाइएको छ ।

त्यसपछि ०७४ मा तिवारीले ‘नीलोफर’ बजारमा ल्याए । जहाँ वैदेशिक रोजगारका कारण परिवारमा आएको विश्रृंखलतालाई उदांगो परिएको छ । उपन्यासमा विशेषगरी यौनका कारण सृजत विकृतिलाई दर्शाइएको छ । र, त्यहाँ पनि दलित समुदायका विषय कतै न कतै नसमेटिएको होइन ।

तिरवारीलाई अझै धित मरेको थिएन । त्यसैले, दलितकै विषयमा तिवारीले धित मर्ने गरी ‘निहारिका’ लेखे । जुन इन्डीको इंकले चार महिनाअघि बजारमा ल्याएको छ ।

०००

लम्जुङका तिवारी ब्राम्हण परिवारमा जन्मिए । तर, उनको घरमा चाहिने हसियाँ, कोदालो, भाँडा कामीले बनाउँथे । जुत्ता सार्कीले सिउँथे, तयार पार्थे । कपडा दमाइले सिलाउँथे । जसबापत उनीहरुले छ महिनामा एकपटक बाली पाउँथे । खेत जोत्नका लागि हलीहरु हुन्थे, उनीहरु पनि प्रायः दलित नै ।

तिवारी त्यस्तै १० वर्षका हुँदा हुन् । एक दिन हँसिया बनाउने कामी एकाविहानै उनको घरमा रिसाउँदै आइपुगे ।

केहीछिनमा तिवारीका काका र ती बालीघरे आमने–सामने भए । झगडा भयो । यत्तिकैमा तिवारीका काकाले बालीघरेको मुखभरि थुकिदिए । बालीघरेको अनुहारभरि सुर्ती टाँसियो ।

हातले अनुहारको सुर्ती सोहोर्दै बालीघरेले भने, ‘आज औँशीको दिनमा मेरो मुखमा थुकिदिइस् काठा । यसको सजायँ तैंले कुनै दिन भोग्नेछस् ।’

तिवारीको कलिलो दिमागले नमिठो अनुभूति गर्‍याे। उनी भन्छन्, ‘अहिले भएको भए त्यो घटना कस्तो रुप लिन्थ्यो होला ?’

तिवारीले एसएलसी पास गर्नेवित्तिकै सह लेखापालमा अस्थायी जागिर पाए । त्यसपछि जेटिएमा जागिर शुरु गरे । त्यसपछि नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)को स्थायी जागिरे भए । उनले जागिरसँगै अध्ययनको रफ्तार बढाए । दलितका विषयमा पनि खुब पढे । उनी जति–जति दलितका विषयमा पढ्दै, बुझ्दै जान्थे, त्यति–त्यति औडाहा छुटेर आउँथ्यो ।

तिवारी मनुस्मृतिलाई सम्झन्छन् । मनुस्मृतिकालमा त यतिसम्म भएको रहेछ कि सुद्रले घाँटीमा घण्टी झुण्डाएर हिँड्नुपर्ने रहेछ । ताकि कथित उच्चजातिले सुद्र आएको थाहा पाओस् र लुकोस् । किनकि सुद्रलाई देखेपछि अगति परिन्छ भन्ने मान्यता मुनस्मृतिले स्थापित गरेको थियो । शुद्रले घाँटीमा माटोको भाडा झुण्डाउनुपथ्र्यो । ता कि उनीहरुको थुक बाटोमा नपरोस् र त्यही भाँडोमा संगालेको थुकलाई उसैले कतै व्यवस्थापन गरोस् । पुठ्ठोतिर कुचो झुण्डाउनुपथ्र्यो, ता कि उसले आफू हिँडेको बाटोलाई सफा गरोस् ।

दलितमाथि भएका यस्तै चरम अत्याचारका कारण नै तिवारीलाई दलितमाथि लेख्न मन थियो । तिवारी भन्छन्, ‘निनु चापागाई, आहुती, चैतन्य मिश्रका किताबहरु खोजी–खोजी पढेँ र थाहा पाएँ कि कथित शुद्रहरुमाथि हाम्रा पूर्खाले यतिधेरै अत्याचार गरेका छन्, त्यसैले मलाई लाग्यो, दलितका विषयमा सम्पूर्ण खण्ड लेख्नुपर्छ । यो विषयमा अझै धेरै लेख्न र गर्न बाँकी छ ।’

निहारिकामा के छ ?

निहारिकामा मोहन विश्वकर्माका साथी ब्राह्मण समुदायका रञ्जित हितैसी हुन्छन् । रञ्जित आफ्नी श्रीमती र अन्य कारण अत्यधिक मदिरा सेवन गर्छन् । मृत्युको मुखमा पुग्छन् । उता मोहनले ब्राह्मण पुत्री शारदासँग बिहे गर्छन् । तर, चाहेर पनि जीवनमा खास केही गर्न सकेका हुँदैनन् ।

रञ्जितले आफ्नो डायरीमा लेखेको हुन्छ कि ‘म मरेपछि मेरो पार्थिव शरीरमा मोहनले दागबत्ती देओस् ।’ साँच्चिकै रञ्जितको मृत्यु हुन्छ र मोहनले नै दागबत्ती दिन्छ ।

बिस्तारै मोहनको यात्रा राजनीतितर्फ लम्कन्छ । मन्त्रीलाई सफलताको सूचक मान्ने हो भने मोहन सफल हुन्छन् । र, मोहनले भन्छन् कि संसदको चालु अधिवेशनमा हामीले जाति प्रथामा बन्देज लगाउने कानून निर्माण गर्दैछौँ । किनकि जाति प्रथाले नै हाम्रो समाजलाई निकै पछि पारेको छ । मानिसमाथि अत्याचार भएको छ ।’

जब यो उपन्यासकी नायिका अर्थात शारदाको मृत्यु हुन्छ । मोहनले आफ्नी पत्नीका नाममा शालिक खडा गर्छन् । शालिकको जगमा पहिलो ईंट्टा राख्दै विधवा सल्माले परेवा उडाउँछिन् । हिन्दु केटासँग बिहे गरेकै कारण पहिलोदिनमै आफ्नो पति गुमाउँछिन्, मुस्लिम सल्मा । हनिमुन मनाउने रातमा सलमालाई पीताले पतिको लास उपहार दिन्छ ।

परेवा उडाउँदै तिनै सल्माले भन्छिन्–

रगत सबैको रातो भए हुन्न ठूलो–सानो जाति ।

यही लोक–सन्देश छर्दै उड प्रेमी आकाशमाथि ।

लेखक तिवारी भन्छन्, ‘अन्तरजातीय विवाहसँगै हिन्दु वर्णव्यवस्था कसरी भयो ? चार जात ३६ वर्ण कसरी विभाजन गरियो ? सुद्र कसरी बनाइयो ? छुत–अछुत कसरी बनाइयो ? यसलाई उपन्यासमा प्रस्तुत गरेको छु ।’

उसो त तिवारीले सानै छँदा आफ्नै गाउँमा पनि अन्तरजातीय विवाहको दृश्य देखेका थिए । एकजना क्षेत्री युवाको सार्की थरकी युवतीसँग प्रेम थियो । जब यो कुरा समाजले थाहा पायो, युवालाई घरबाट निकालेर छुट्टै राखियो । त्यसैबेलादेखि ऊ दलित भएर यो समाजमा बाँचिरहेको छ ।

०००

लेखनसँगै अहिले तिवारीको जागिर पनि चलिरहेको छ । ३७ वर्ष भयो, उनले जागिरे जिन्दगी शुरु गरेको । तिवारी अहिले नार्कको सम्पत्ति व्यवस्थापन महाशाखामा कार्यरत छन् । उनले आफ्ना तीन उपन्यासलाई अफिसको व्यस्तताबाट समय निचोरेर जन्म दिए । तिवारीले फुर्सद पाउनसाथ आफ्नो कम्प्युटरको किबोर्ड थिचेर सिर्जना फलाए ।

जागिर गर्दै लेख्न कसरी सम्भव छ ? तिवारी भन्छन्, ‘अघिल्लो दुई वर्ष कर्मचारी महाशाखामा थिएँ । खास काम थिएन । त्यो समयलाई सदुपयोग गरें ।’

उनका सिर्जना प्लटहरु भने मर्निङवाकको बेला फुर्छन् । ‘म एक तमासले हिँडिरहेका बेला मस्तिस्कमा विचारका छालहरु उत्पन्न भइरहेका हुन्छन्’, तिवारी भन्छन्, ‘त्यतिबेला मोबाइलमा रेकर्ड गर्छु वा टिप्छु । अनि पछि किताबको आकार दिन्छु ।’

यसरी नै तिवारीले कथे – एक अमर प्रेम कहानी । र, त्यही हरफबाट शुरु भयो– निहारिका ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment