Comments Add Comment

साथी एउटा सुल्पा छ !

द्वन्द्वपिडित परिवारको नयाँ घर ठडियो, तर आधार ढल्यो

७ माघ, रोल्पा  । यो कथा ५० को दशकबाट सुरु हुन्छ । भुवन बुढा त्यतिबेला भर्खर १५ वर्षका थिए । काठे फलेकको पाटीमा खरीढुंगाले अक्षर लेख्न भर्खर सिक्दै थिए उनी ।

तत्कालीन विद्रोही माओवादी र राज्य पक्षबीच द्वन्द्व सुरु भइसकेको थियो । २०५३ माघ १० गते गाउँमा एक हुल सुरक्षाकर्मी बन्दुक बोकेर जेलबाङ ठूलो गाउँ पसे । उनीहरुले विद्रोही आरोप लगाएर भुवन बुढालाई गिरफ्तार गरे ।

गाउँभन्दा केही पर हालको सुनछहरी १ सेरम, जम्की डाँडामा लगेर गोली हानी भुवनको हत्या भयो । एउटै गाउँ (जेलबाङ) का ७३ जनाले ज्यान गुमाउँदा उनी दोस्रो नम्बरका ‘सहिद’ बने ।

परिवारको एक्लो छोरो थिए, भुवन । प्रहरीको गोलीले छोराको हत्या भएको खबर पत्याउन सजिलो कहाँ भयो र बाआमालाई ? तर, थियो तितो सत्य ।

एक्लो छोरो त्यसरी कलिलो उमेरै राज्यसत्ताको निशानामा परेपछि बुढा परिवारले कैयौं रात रोएरै बिताए । तर, जति आँशु बगाए पनि छोरा फिर्ता आउने थिएनन् ।

१७ हजारको लाशमाथि टेकेर देशमा गणतन्त्र आयो । कम्युनिस्ट सरकारले सत्ता हातमा लियो । तर, भुवनहरुका परिवारमा न खुसी आयो न गणतन्त्र । दुई दशकसम्म पनि उनीहरुको पीडा हल भएको छैन ।

रोल्पाको विकट गाउँ हो जेलबाङ । केही समयअघि बीबीसी नेपाली सेवाबाट प्रसारित साझा सवालले जेल्बाङमा पुगेर एउटा स्टोरी गर्‍यो– मंगले र उनकी धर्मपत्नी फर्की बुढाको । भुवन बुढाका आमाबुवासँगको कुराकानीमा आधारित दारुण कथाले धेरैको मनलाई पगाल्यो ।

सानो झुपडीजस्तो घरमा उभिएर मंगलेका दम्पत्तिले आफ्नो कथा सुनाएका थिए । वर्तमान सरकारका उर्जामन्त्री वर्षमान पुन र पूर्वसभामुख ओनसरी घर्ती स्वयं उपस्थित भएको कार्यक्रममा उनीहरुले मंगले दम्पत्तिलाई नयाँ घर बनाइदिने घोषणा गरे ।

घोषणा अनुरुप पुरानो भुइँछानो घर भत्काइयो र त्यहाँ २ तले नयाँ घर ठडियो । टिनले छाएको आकासे निलो घरले सञ्चारमाध्यममा ठूलै चर्चा पायो । वर्षमान स्वयं गत वर्ष नवनिर्मित घरको शिलान्यास गर्न पनि पुगे ।

तर, नयाँ घरको अनुभव भूवनका बा मंगले बुढाले धेरै लिन पाएनन् । गत कात्तिकमा उनको ९० वर्षको उमेरमा निधन भयो । त्यसपछि घरमा एक्लो छिन्, फर्की बुढा । हातमा कक्कड भरेको सुल्पा छ र त्यही सुल्पालाई साथी बनाएकी छिन् । केही दिनअघि अनलाइनखबरसँगको भेटमा उनले भनिन्, ‘साथ दिने सबैले छोडेर गए । अब साथी यही सुल्पा त हो । अब यसले मलाई सँगै लिएर जाला नि !’

०००

नयाँ घर । तर, नितान्त एक्लो छिन्, फर्की बुढा । अनलाइनखबर टोली त्यहाँ पुग्दा अगेनामा बसेर सुल्पा तानिरहेकी थिइन् । चुल्होमा आगो बलिरहेको थियो र धुवाँ कोठाभरि मडारिइरहेको थियो ।

‘यो काठ पनि पहिले बुढा हुँदाखेरि नै ल्याएको हो । अब त सकिन लागिसक्यो,’ बुढाले दुखेसो पोखिन्, ‘काठ सक्यापछि ता भोकै मर्ने होला ।’

साथ दिनेमान्छे सबै गइसकेपछि नयाँ घर पनि बिरानो लाग्न थालिसकेको छ उनलाई । पहिले छोराले छोडेर गयो । त्यसपछि २ छोरी बिहेबारी गरेर आआफ्ना घर लागे । र गत कात्तिकमा जीवन साथीले पनि छोडेर गए ।

‘सबैले छोडेर गैगए, अरु काम गर्न सक्दिन । सुल्पा तानेर दिन बिताइराछु,’ उनले भनिन्, ‘माघमा कोठा पनि पोतें । तर, कोइ पाउना जो आइनन् ।’

पहिले उनको सानो झुपडी थियो, काठले छाएको । तर, ऊर्जामन्त्री पुनले नयाँ घर बनाइदिने पछि उनीहरु हौस्सिए । मन्त्री पुनले बुढा परिवारलाई १० लाख ५० हजार रुपैयाँ दिएर नयाँ घर बनाइदिने वाचा गरेका थिए ।

छोरा भुवनको नाममा आएको २ लाख रुपैयाँ र श्रीमानको स्वास्थ्योपचारका लागि उठेको १ लाख ५० हजार रुपैयाँ पनि नयाँ घर बनाउनै खर्च गरे । गोजीमा भएको सारा धन सकियो ।

मन्त्रीले दिन्छु भनेर घोषणा गरेको पैसा अझै नपाएको उनको गुनासो छ । ‘यसको पैसा पछि आउँछ भनेका छन् । तर आउँछ कि आउँदैन त्यो पनि थाहा छैन,’ उनले भनिन्, ‘वर्षमानले दिन्चु भन्याछन्, दिन्छन् होला नि !’ उनी नयाँ घर सरेको करिब १ वर्ष हुन लागिसकेको छ ।

‘मान्छेबिनाको रित्तो नयाँ घर अब मलाई के मतलब र ? आफैं त थोत्रो बाँच्या छु, । थोत्रा मान्छेलाई नयाँ घर पनि नसुहाउने के !’ अघि थप्छिन् ।

गाउँमा मृतकहरुको सम्झनामा चौपारी बनाउने चलन छ । उनको पनि एउटा सपना छ, मृतक श्रीमानको सम्झनामा एउटा चौपारी बनाउने । तर, आर्थिक हैसियत छैन । ८५ वर्षीय फर्की बुढा भन्छिन्, ‘वृद्धभत्ता आउँछ । त्यही पैसा जम्मा गर्दै बसिराख्या छु । मान्या (मरिजाने)को नाममा एउटा चौपारी बनाउने रहर छ ।’

मंगले बुढा घर निर्माण समिति अध्यक्ष राजेन्द्र रोकामगरले भने घर बनाउन आएको पैसा ९ लाख रुपैयाँ वर्षमानबाट आइसकेको बताए । उनले भने, ‘बाँकी कहिले आउँछ, थाहा छैन ।’ घर बनाउन कुल ११ लाख ७७ हजार रुपैयाँ लागेको शिलालेखमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment