Comments Add Comment
पुस्तक अंश :

सपनाको व्यापार : हरेक दिन तीन लास !

युरोप यात्राको क्रममा २०७१ कात्तिकको एक साँझ अस्टि्रयाको इन्सबर्ग ट्रेन स्टेशनमा म स्विट्जरल्यान्ड जानलाई रेल कुरिरहेको थिएँ । एकजना २७ वर्षका र अर्का ४० वर्ष जतिका दुई नेपाली तन्नेरी हातमा एउटा कागजको चिर्कटो बोकेर यता-उता दौडिरहेका देखें ।

नेपाली अनुहार देखेर एक्कासी उनीहरुको सामुन्ने पुगेर मैले बोलाउँदा दुवै छक्क परे । हातमा अष्ट्रियाको राजधानी भियना लेखेको कागजको टुक्रा बोकेर कताबाट जाने भन्दै रेल खोज्दै रहेछन् । मैले रेल आउने समय र चढ्ने ठाउँ देखाउँदै उनीहरुबारे बुझ्न चाहें । तीमध्ये एक, मगर थरका रोल्पाका पूर्वमाओवादी र अर्का छेत्री थरका पोखरेली रहेछन् ।

नेपालमा दलाललाई १५/१५ लाख बुझाएर सिंगापुरबाट पानीजहाजमा लिबिया, इटाली हुँदै अस्ट्रियासम्म आइपुगेका रहेछन् । करिब १५ दिनको यात्रापछि तीन दिनअघि युरोप छिरेर दलालले दिएको कागजको चिर्कटो बोकेर भियना खोज्दै रहेछन् । युरोप छिर्नासाथ राहदानी, कागजपत्र सबै फ्याँकेर अनागरिक बनेका उनीहरु बिना टिकट रेल यात्रा गरिरहेका थिए । ‘अलिअलि भएको पैसाले लोकल रेलको टिकट लिएर लामो यात्रा गर्दै, समात्यो भने ओर्लेर अर्को रेलमा चढ्दै यहाँसम्म आइपुग्यौं । भियानासम्म पुग्न पाए त्यहाँ लुकेर काम गर्न पाइन्छ रे ।’ ‘प्रहरीले समात्यो भने नि ? मेरो प्रश्न नखस्दै छेत्रीले भने ‘हामीसँग केही छैन, कुन देशको हौ भन्दैनौं, उसको भाषा पनि बुझ्दैनौं, पक्रेर के गर्ला र मज्जाले बसिदिन्छौं’, म सुनेको सुनै भएँ ।

मैले आफू भने जर्मनीबाट स्वीट्जरल्यान्ड जान लागेको बताएँ । ‘जर्मनीमा काम नपाएर उता हिँडेको ?’ एकजनाले भने । ‘होइन, म युरोप घुम्न आएको ।’ मेरो जवाफ उनीहरुले पटक्कै पत्याएनन् । उल्टै प्रश्न गरे, ‘गफ नदिनुस् न नेपालमा दलाललाई १५ लाख बुझाएर पनि कोही युरोप घुम्न आउँछ ?’ मेरो रेल आउने समय भइसकेको थियो, शुभयात्रा भन्दै म बाटो लागें ।

उता विद्यार्थी भिसामा युरोप पुगेका नेपालीको जीवन भने फरक भेटियो । तर, युरोपका १० वटा देश घुम्दा भेटिएका नेपाली विद्यार्थीहरुको जीवन नेपालबाट हेर्दा जस्तो लोभलाग्दो थिएन । काम गर्दै पढ्छु भनेर पुग्नेहरु धेरै ठूलो समस्यामा रहेछन् । त्यसो त धेरैका लागि विद्यार्थी भिसा युरोप प्रवेश गर्ने बहाना मात्रै हो । उता प्रवेश गरेपछि गैरकानुनी रुपमा ‘ओभर स्टे’ बस्ने र शरणार्थी आवेदन दिएर पर्मानेन्ट रेसिडेन्ट (पीआर) को आशामा वर्षौं बिताउने प्रशस्तै छन् । बेल्जियम र पोर्चुगलमा काम र पीआर सजिलो पाउने भनेर धेरै नेपाली त्यता पुगिरहेका रहेछन् ।

हरेक वर्ष हजारौं नेपाली विद्यार्थी अध्ययनका लागि युरोप, अमेरिका, अस्टे्रलिया जान दलालका ढोका र कन्सल्टेन्सीका कार्यालय पुग्छन् । लाखौं खर्चेर जति विदेशिन्छन् त्यसभन्दा बढी दलालहरुबाट ठगिन्छन् । नेपालमा घरजग्गा धितो राखेर, ऋण लिएर विदेशका कलेजमा महँगो शुल्क तिरेर भर्ना भएका धेरैको ध्यान पढाइभन्दा पनि काम खोजेर पैसा कमाउने नै हुन्छ । उता काम नपाएर अभिभावकले नेपालबाटै खर्च पठाएर पढ्नेहरु पनि धेरै छन् ।

२०७० पुसमा मलेसियामा बिजोग हालमा केही विद्यार्थी भेटिए । पढाइपछि उतै आकर्षक जागिर पाउने लोभ देखाउँदै रु. ८ लाख लिएर उनीहरुलाई दलालले अलपत्र बनाएका थिए । उनीहरुको पीडादायी अवस्था देखेपछि मैले त्यहाँको नेपाली राजदूतावासमा कुरा पुर्‍याउन र नेपाल फर्केर दलालको कर्तुतबारे लेख्ने काम गरें । सुन्दर भविष्यको मीठो सपना सँगालेका नेपाली कसरी आँखा चिम्लेर दलालहरुको फन्दामा परिरहेका छन् भन्ने उदाहरण धेरै भेटिन्छन् । सपना बेचेर ठग्नेहरुले नै वैदेशिक रोजगारलाई बदनाम गरिरहेका छन् ।

नेपालीलाई एयरपोर्टमै ‘अन अराइभल भिसा’ दिने थोरै देशमध्ये पर्छ सिंगापुर । डेढ दशकअघि नेपाली विद्यार्थी र कामदारका लागि भरपर्दो गन्तव्य समेत रहेको सिंगापुर त्यस यता गोर्खा भर्ती भएर प्रहरी सेवामा पुग्ने तन्नेरीका लागि मात्र खुला छ ।

नेपालीका लागि सिंगापुर सरकारले सन् २००८ मा अध्ययन भिसा र सन् २०१० मा रोजगार भिसा बन्द गर्दा दुवै क्षेत्रका करिब १० हजार नेपाली विस्थापित भएका थिए । २०७० पुसमा सिंगापुर पुग्दा उतैको पीआर पाएका करिब एक हजार नेपाली र दुई हजार जति भारतीय नेपालीको बसोबास थियो । तर सिंगापुरको अति संवेदनशील क्षेत्रहरूको सुरक्षामा गोर्खा पुलिस फोर्स (गोर्खा कन्टिन्जेन्ट) खटिन थालेको ६ दशकभन्दा बढी भइसकेको थियो । सिंगापुर गोर्खा पुलिसको माउन्ट भर्नन क्याम्पमा त्यस बेला परिवारसहित करिब ६ हजार नेपाली थिए । यी बाहेक छात्रवृत्तिमा अध्ययनका लागि पुगेका नेपाली विद्यार्थी न्यून मात्रामा भेटिए । प्रहरी सेवासँगै उतैका नागरिक भइसकेका नेपालीको काम, कमाइ र जीवनशैली भने आकर्षक छ ।

हरेक दिन तीन लास

 अरु बेला वैदेशिक रोजगारीमा जाने, पैसा कमाएर पठाउने नेपालीहरु र उनीहरु रोजगारीका लागि जाने भरपर्दो गन्तव्यबारे लेख्दै आएको म सम्वत् २०६६ को जेठको अन्तिम सातातिर एउटा फरक रिपोर्टिङमा लागें । श्रम मन्त्रालय, श्रम विभाग, म्यानपावर कम्पनी र अन्तर्राष्ट्रिय विमानस्थलमा निकै दिन भौंतारिएपछि तयार भएको रिपोर्ट थियो, ‘धनको आश फर्कियो लास’ । वैदेशिक रोजगारीमा गएका नेपालीहरु काठको बाकसमा बन्द भएर फर्किने गरेको समाचार बेलाबेला आइरहन्थे । तर, दैनिक कति लास नेपाल आइरहेका छन् भन्ने तथ्यांक कतै थिएन ।

यो पनि पढ्नुस्–१० वर्षमा साढे सात हजार युवा विदेशबाट बाकसमा फर्किए

परिवारसहित युरोप, अमेरिकातिर बस्ने नेपालीको मृत्यु हुँदा धेरैको अन्त्येष्टि उतै हुने तर रोजगारका लागि खाडी, मलेसिया, कोरिया, जापान लगायतका देशमा बितेकाहरुको शव भने प्रायः नेपाल नै ल्याइन्थ्यो । तर, श्रम मन्त्रालय अन्तर्गतका सबै कार्यालय र वैदेशिक रोजगार व्यवसायी संघ समेतलाई यसबारे कमै मात्र जानकारी थियो । त्यसपछि थाई, गल्फ र कतार एयरवेजको कार्गो रेकर्ड र विमानस्थलमा कार्गो पनि हृयाण्डल गर्ने नेपाल एयरलाइन्सका कार्गो शाखाका कर्मचारीहरुबाट तीन महिनाको दैनिक रेकर्ड भिडाएर हेर्दा मासिक ९० देखि ११० वटासम्म लास आउने गरेको पाइयो । रिपोर्टिङ गरिरहेकै बेला २६ असार २०६६ मा एकै दिन सात जना नेपाली थाई, गल्फ र कतार एयरवेजबाट कफिन (शव राख्ने काठको बाकस) मा ओरालिएका थिए । अन्तर्राष्ट्रिय विमानस्थलमा त्यस बेला दैनिक अवतरण गर्ने १९ वटा देशी-विदेशी एयरलाइन्समध्ये कुनै न कुनै एयरलाइन्सले नेपालीका शव ल्याएकै हुन्थे । त्यस बेलासम्म मलेसिया, साउदी अरब, युएई, कतार, कुवेत लगायतका देशमा १३ लाखभन्दा बढी नेपाली कामदार कार्यरत थिए । मत्यु हुनेमध्ये धेरैको सडक दुर्घटना, चर्को गर्मी, काम र बसोबासको दयनीय अवस्थाका कारण मृत्यु हुने गरेको पाइएको थियो ।

बाकसमा शव ।

यो रिपोर्ट हिमाल खबरपत्रिका मा प्रकाशित भएको ९ वर्ष भइसक्यो । तर, अहिले पनि अधिंकाश नेपाली मिडियाले ‘दैनिक तीन लास आउँछ’ भनेरै लेखिरहेको देख्छु । अहिले मलेसिया, कतार लगायतका खाडी मुलुकमा मात्र ३० लाखभन्दा बढी नेपाली कार्यरत छन् । लास आउने संख्या पनि यही अनुपातमा बढेको हुनुपर्छ ।

कमाउन गएकाहरु लास बनेर फर्किएको हृदयविदारक कथा जस्तै दलालबाट ठगिने, विदेश पुगेर अलपत्र पर्नेहरुको दुःखलाई मैले महसुस गरेको छु । संवत् २०६४ मा अलपत्र परेकाहरुबारे ‘हुँदैछ उद्धार’ रिपोर्टिङमा दलालको चंगुलमा परेर मलेसिया, साउदी अरब, कतार, बहराइन, ओमान, दुबई लगायतका देश पुगेका धेरै नेपालीको व्यथा थियो । त्यस बेला साढे चार लाख नेपाली कामदार रहेका मलेसियामा एक हजारभन्दा बढी नेपाली अलपत्र थिए । डेढ लाख नेपाली रहेको कतारमा करिब पाँच सय तत्काल उद्धार गरिनुपर्ने अवस्थामा थिए । खाडी मुलुकहरूमा नक्कली कम्पनीको नाममा पुगेर पछि भने जस्तो काम र तलब नपाएर, भिसा सकिएर र पासपोर्ट हराएर अलपत्र हुने अहिले पनि उत्तिकै भेटिन्छन् । २०७० पुसमा मलेसिया पुग्दा अलपत्र परेर फर्किन चाहनेको संख्या करिब एक लाख थियो । तीमध्ये ३३ हजार नेपाली काम र तलब नपाएर कम्पनी छाडेर गैरकानुनी भइसकेका थिए, १५ सय जना त जेल नै परेका थिए ।

सरकारले कडा सजायसहितको नयाँ ‘वैदेशिक रोजगार ऐन २०६४’ लागू गरे पनि ठगी घटेको छैन । श्रम तथा रोजगार प्रवर्द्धन विभागमा उजुरीको चाङ छ । म्यानपावर कम्पनी र दलालबाट ठगिएपछि स्वदेश र विदेशमा अलपत्र परेका घटना अहिले पनि दिनहुँ सुनिन्छन् । खाडी मात्रै हैन दलालहरुले हङकङ जस्तो ठाउँमा समेत धेरैलाई अलपत्र पार्दै आएका छन् । विभिन्न तरिकाले हङकङ पुगेका नेपालीहरू शरणार्थी भन्दै बस्न खोजेपछि अध्यागमन विभागले ६ जून २००५ देखि नेपाली कामदार र विद्यार्थीलाई प्रवेशाज्ञा (भिसा) दिनै बन्द गर्‍यो ।

वैदेशिक रोजगारका जोखिमको कुरा गर्दा १५ भदौ २०६१ मा इराकमा १२ जना नेपाली मारिएको र त्यसलाई लिएर नेपालमा ‘१६ भदौ काण्ड’ भएको धरेलै बिर्सेका छैनन् । वैदेशिक रोजगार व्यवसायको क्षेत्रमा यस दिनलाई ‘कालो दिन’ को रुपमा सम्झिने गरिएको छ । अर्कोतिर, धेरै नेपाली कामदार लिने खाडी मुलुक र मलेसियाका कम्पनीमध्ये ४५ प्रतिशतले अहिले पनि निःशुल्क भिसा र टिकट उपलब्ध गराइरहेका छन् । तर बीचमै त्यो सुविधा खाने व्यवसायीहरू कामदारबाट थप रकम असुल्न दलाल परिचालन गर्ने र विदेशी कम्पनीसँग आफैं दलाली गरिररहेका छन् ।

कतिपय कम्पनीले निःशुल्क भिसा- टिकटसँगै नेपाली म्यानपावर सञ्चालकलाई अलग्गै सेवा शुल्कको रूपमा कमिसन दिएकै भए पनि प्रतिकामदार थप ७०-८० हजार रूपैयाँ बेग्लै असुल्ने गरेका छन् । २०७२ साउनमा ‘वैदेशिक रोजगारीमा दलालीको राज’ भनेर रिपोर्ट प्रकाशित गरे पनि पछिल्ला दिनमा दलाली घटेको छैन, बरू थप संस्थागत बन्ने खतरा छ । यही दलाली राजको अन्त्य गर्न योजनाबद्ध तरिकाले लागिपरेका श्रममन्त्री गोकर्ण विष्ट योजनाहरु कार्यान्वयन नै गर्न नपाई १८ महिनामै मन्त्री पदबाट बाहिरिनुपर्‍यो ।

(नोट- पत्रकार डम्बरकृष्ण श्रेष्ठले दुई दशक अघिदेखि वैदेशिक रोजगार र यसका विविध आयाममाथि कलम चलाइरहेका छन् । यस क्रममा उनी खाडी मुलुक कतार, मलेसियाका साथै सिंगापुर, हङकङदेखि बेलायत, युरोप र अमेरिकाका नेपालीमाझ पुगेका छन् । प्रस्तुत सामग्री सेन्टर फर द स्टडी अफ लेबर एण्ड मोबिलिटी, सोसल साइन्स बहाःका लागि हिमाल किताबद्वारा प्रकाशित श्रेष्ठद्वारा लिखित पुस्तक ‘नेपाली प्रवासन : नियति र रहर’ पुस्तकमा प्रकाशित रिपोर्टरको डायरीबाट लिइएको हो । पुस्तक १० माघ २०७६ शुक्रबार दिउँसो ३ बजे यलमाया केन्द्र, पाटन ढोकामा लोकार्पण हुँदैछ ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment