Comments Add Comment

हामी दर्शकका मान्छे हौं, रुनै नै दर्शकको काँखमा त होः धुर्मुस–सुन्तली(भिडियो कुराकानी)

‘सिनेमा चलाउन रंगशालाको भावना वेचेका छैनौं’

चितवनको रामपुरमा ‘अन्तरराष्ट्रिय गौतम वुद्ध क्रिकेट रंगशाला’ बनाउँदै गर्दा हाँस्य कलाकार जोडी तथा सामाजिक अभियन्ता सिताराम कट्टेल र कुञ्जना घिमिरेले चलचित्र ‘सेन्टी भाइरस’ पनि बनाउने निर्णय गरे । चलचित्र र रंगशालाको कामलाई एकसाथ अगाडि लैजानु सजिलो थिएन ।

तर, चलचित्र निर्माण भएर रिलिज हुने तयारीमा छ । फागुण ९ गतेबाट रिलिज हुने चलचित्रको प्रचारमा सिताराम र कुञ्जना आफै कुँदिरहेका छन् । उनै, सिताराम र कुञ्जनासँग अनलाइनखबरका लागि ‘विजय आवाज’ले कुराकानी गरेका छन्ः

१. चलचित्र ‘सेन्टी भाइरस’ले तपाइको नायिका बन्ने चाहना पुरा गर्यो कि कलाकार बन्ने रहर ?
सितारामः अहिलेलाई त कलाकार बन्ने चाहना नै पुरा गर्यो । तर, नायिका बन्ने चाहना कती पुरा होला यो चलचित्र रिलिज भएपछि थाहा हुनेछ । मलाई सानैदेखि नायिका बन्ने सपना थियो । टीभीमा चुलबुले क्यारेक्टर गर्ने नायिका देख्दा म मोहित हुन्थे ।

तर, मेरो रिल र रियल लाइफमा सिताराम जस्तो मानिस आउनुहुन्छ भन्ने मलाई थाहा थिएन । उहाँको स्वभाव अनुसार नै म परिवर्तन भएँ । म सेन्टी भाइरसबाट नायिका त भएँ, तर पूर्ण सफल हुन्छु वा हुँदिन यो दर्शकको हातमा छ । तर, नायिका बन्ने हुटहुटी अझै छ । सायद, दर्शकले माया गरिदिनुभयो भने अर्को चलचित्रमा पुरा गर्नेछु ।

२. तपाइहरु त दर्शकलाई हसाँउने कलाकार । तपाइहरुले दर्शकलाई चलचित्रमार्फत ‘सेन्टी’ बनाउन मिल्छ त ?
सितारामः चलचित्रको नाम सेन्टी भाइरस भएपनि यसले दर्शकलाई पूर्ण मनोरञ्जन दिन्छ । हामीले पूर्ण रुपमा पर्फेक्ट चलचित्र बनाएका छौ भन्ने होइन, तर कोशिश भने गरेका छौं । मलाई के विश्वास छ भने, हाम्रो प्रयासले दर्शकलाई सेन्टी भने बनाउँदैन ।

३. तपाइहरुसँग त समाजका थुप्रै बिषयवस्तु थिए, तर चलचित्रमा उतार्न राजनीतिलाई नै किन रोज्नुभयो ?
सितारामः तपाई जुनसुकै घटनालाई उठान गर्नुहोस् त्यहाँ राजनीति जोडिन्छ । यसलेगर्दा, यसैको प्रभावमा चलचित्र बनेको हो । फेरि, यो चलचित्रले राजनीतिकर्मीहरुलाई देशको राजनीति कसरी संचालन गर्ने भन्ने शिक्षा पनि दिन्छ ।

कुञ्जनाः फेरि यो भनिरहँदा चलचित्रले देशको राजनीतिलाई नै उथलपुथल गर्ला कि भनेर नसोच्नुहोला ।

४. एउटा कलाकारलाई सामाजिक अभियन्ता बन्न र एउटा सामाजिक अभियन्तालाई फेरि पर्दामा फर्किन, कुनमा गाह्रो रहेछ ?

कुञ्जनाः एउटा कलाकारलाई सामाजिक अभियन्ता बन्न सजिलो छ । तर, सामाजिक अभियन्ता बनेर फेरि चलचित्रमा फर्किन गाह्रो रहेछ । किनकी, मैले आफ्नो व्यक्तिगत जीवनमा थुप्रै जीवन वाच्ने कोशिश गर्छु । तर, त्यसमा पनि दर्शकले सामाजिक अभियन्ताकै नजरमा हामीलाई हेरिदिनुहुन्छ । मलाई उहाँले खुबै संझाउनुहुन्छ । उहाँ त मेरो शैलीको नेचरमा आउनुहुन्न नै । हामीले ठूलो जिम्मेवारी पनि लिएका छौ ।
दर्शकको सहायत नभएको भए रंगशाला बन्न नै सक्दैन । तर, बाहिर सबै हामीले नै गरेजस्तो गरेर वुझिएको छ । कलाकारिताको माया त कती छ कती ?

५. सामाजिक संजालमा केही आरोपहरु पनि देखिएका छन् । विशेषगरि, रंगशालालाई देखाएर चलचित्र बेच्ने काम भयो भन्ने पनि सुनिन्छ । कतिपयले आँशु वेचे भनेर पनि आरोप लगाएका छन् । यसलाई कसरी हेर्नुभएको छ ?

सितारामः मैले त यसलाई स्वभाविक प्रक्रियाको रुपमा नै हेरेको छु । यसले हामीलाई थप उर्जा दिएको छ । जनताले सचेत गराउनुभएको हो भन्ने अनुभुती भएको छ । जहाँसम्म भावना वेच्ने आरोप छ, हामीले भावना वेच्न भन्दा पनि भावना जोड्न खोजेका हौं । रंगशाला बनाउने दायित्व सबैको हो । हामी ६ बर्षदेखि यसमै खटिएका छौ । हामी त मुलभुत हिसाबले कलाकार नै हौं ।

तर, समय र परिस्थितीले हामीलाई सामाजिक अभियन्ता बनायो । फेरि, यो संस्थागत जिम्मेवारी भन्ने कुरा पनि ठूलो हुने रहेछ । दर्शकमा रंगशालाप्रति अपनत्व महशुश गराउन पनि हामीले रंगशाला र चलचित्रलाई जोडेका हौं । काम गरिरहँदा भावनाका कुरा आउने रहेछन्, आँशु आउने रहेछन् । हामीले हाम्रा लागि काम गरेका होइनौं, व्यक्तिगत सम्पत्ती पनि जोडेका होइनौं ।

कुञ्जनाः हेर्नुहोस्, हामी दर्शकको मानिस हौं । हामीलाई पीडा हुँदा रुनै ठाउँ नै दर्शक त हुनुहुन्छ । घरमा पनि यी बिषयमा एक अर्कालाई हामी तनाव दिन चाहन्नौ । अनी, मनको भावना पोख्नका लागि दर्शकको काख नै त चाहियो नी होइन र ? रंगशालालाई सहयोग गर्न भन्दै बुढो हुनुभएको बा–आमा आउँदा पनि रुन नै मन लाग्छ । हामी रोएका मात्र छैनौ, खुशी हुँदा खुशी साटेका पनि छौ । बस्ती हस्तान्तरण गर्दा खुशी भएका छौ ।

सितारामः म अर्को पनि कुरा के स्पष्ट पार्न चाहन्छु भने, कही कतै जनताको पैसाबाट चलचित्र बनायो भन्ने पनि सुनेको छु । यो हामीले बनाएको चलचित्र होइन । यसको निर्माता डिन्डु लामा हुनुहुन्छ । यो धुर्मुस–सुन्तली फाउन्डेशनबाट बनेको चलचित्र होइन । यसैले, नाफाको ५० प्रतिशत रकम रंगशालालाई जाने भएकाले पनि यसको सबै हिसाब हुन्छ ।

६. चलचित्रलाई लिएर तपाइहरुसँग २ प्रकारको दबाब छ । नेपालमा हाँस्य कलाकारका चलचित्र असफल छैनन्, यसैले यो चलचित्र सफल हुनुपर्ने दबाब छ । अर्कोतिर, चलचित्रले जती धेरै कमाउँछ त्यती नै धेरै रकम रंगशालालाई जान्छ । कुन कुरामा बढी दबाब महशुश गर्दै हुनुहुन्छ ?

सितारामः हामीलाई दुबैमा दबाब छ । हामी त कलाकार हौं नी, यसैले एउटा कलाकारका लागि पनि चलचित्र चल्न आवश्यक छ । भोली दर्शकले चलचित्र मन पराउनुभएन भने चलचित्र क्षेत्रलाई नै घाटा लाग्छ । चलचित्र राम्रो चल्यो भने रंगशालालाई केही रकम जाने भनेको हो हामीले । यसैले, मुलभुत कुरा त चलचित्र नै चल्नुपर्छ । हाम्रो करिअरका लागि पनि चल्न आवश्यक छ ।

७. दर्शकले चलचित्र राम्रो भएका कारण हेर्ने या चलचित्र हेर्दा रंगशालालाई पैसा जान्छ भनेर हेर्ने ?

कुञ्जनाः यो हाम्रो पहिलो प्रयास हो । म दर्शकलाई धुर्मुस–सुन्तलीले बनाएको चलचित्र हो भनेर हेरिदिन आग्रह गर्दछु । दर्शकलाई हाम्रो आग्रह के हो भने, यसमा धेरै सोचेर नआउनुहोला । साधारण जीवन जिउने धुर्मुस–सुन्तलीले बनाएको चलचित्र भनेर हेरिदिनुहोला । हामी त चलचित्र कसरी बनाइरहेका छौ भन्ने पनि राम्रोसँग सोच्न सक्ने अवस्थामा थिएनौ । कहिले रंगशालाको काम त कहिले सुटिङको काम । यसैले पनि दर्शकले यो कुरालाई वुझेर आइदिनुहुनेछ भन्ने लागेको छ । अर्को चलचित्र बनाउँदा अझै मिहिनेत गरेर बनाउला । यसपटक, पहिलो प्रयास हो भनेर वुझेर हेरिदिनुहोला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment