Comments Add Comment
दुःखद, तर महिला सशक्तीकरणको दृष्टान्त :

पाँच छोरीले बोके बुवाको शव, श्रीमतीले दिइन् दागबत्ती

७ फागुन, जनकपुरधाम । हिन्दू समाजमा कसैको मृत्यु भए सबै कर्ममा पुरुषकै सहभागिता हुनुपर्ने मान्यता छ । दाहसंस्कारदेखि हुने हरेक क्रियाकर्ममा महिलाको सहभागितालाई बर्जित गरिएको छ ।

झन् तराई/मधेसमा त यस्ता काममा महिलालाई झनै कडाइ गरिएको छ । त्यहाँ अहिलेसम्म महिलालाई घुम्टोभित्रै राख्ने चलन पूर्णरुपमा हटिसकेको छैन ।

निधन भएका व्यक्तिको शव दाहसंस्कारका लागि घाटसम्म लग्नुपर्दा पुरुषले नै बोक्नुपर्ने, महिलाहरु उक्त स्थानसम्म जान नपाउने संस्कार रही आएकोमा धनुषाका महिलाहरुले यस्तो संस्कृतिलाई चुनौती दिएका छन् । निधन भएका आफन्तको शवलाई आफ्नो काँधमा बोक्दै दाहसंस्कारका लागि खोला छेउसम्म महिलाहरुले नै लगेका छन् ।

मंगलबार धनुषाको सबैला नगरपालिका वडा नम्बर २ निवासी रामनारायण यादवको निधन भयो । नेपाली कांग्रेसका कृयाशील सदस्यसमेत रहेका यादवको निधन भएपछि उनको पार्थिव शरीरलाई पुरुषले काँधमा बोकेनन् । महिलाले नै बोके ।

मृत्युको यो घटना आफैंमा दुःख त हो नै, तर, महिला सशक्तिकरणको एउटा दरिलो उदाहरण पनि बन्न पुग्यो ।

पाँच छोरीका पिता रामनारयणको निधनपछि गाउँमा छलफल भयो । दाहसंस्कार र क्रियाकर्म कसले गर्ने ? रामनारायणका छोरा थिएन् । केही व्यक्तिले नातागोताका छोराबाट दाहसंस्कार गराउनुपर्नेमा जोड दिए । तर छोरीहरुले मानेनन् । उनीहरुले आफैं हरेक कर्ममा सहभागी हुने बताए । र, पाँच छोरीले आफैं काँधमा बोकेर बुबाको शव उठाए । घाटमा आमा अर्थात मृतककी श्रीमतीले दागबत्ती दिइन् ।

रामनारायणका पाँच छोरी छन् । सबैको विवाह भइसकेको छ । जेठी छोरी ४० बर्षीया नेपुर यादव, माइली छोरी ३७ बर्षीया राजदेवी यादव, साँहिली ३५ बर्षीया प्रमिला यादव, काइँली ३२ बर्षीया अनिता यादव र कान्छी ३० बर्षीया गोरकी यादवले पिताको शव आफैं बोके ।

घरदेखि पाँच किलोमिटरको दूरीमा रहेको कमला खोला छेउसम्म उनीहरुले नै पिताको पार्थिव शरीर बोकेर पुर्‍याए । त्यहाँ पुगेपछि मृतक रामनारायणकी ६२ बर्षीया पत्नी राधिकादेवीले दागबत्ति दिइन् ।

रामनारायणलाई श्रद्वाञ्जली दिन गएका कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री आनन्दप्रसाद ढुंगानाले पहाडतिरका महिलाहरु क्रियाकर्ममा बसेको देखिए पनि पार्थिव शरीरलाई काँधमै बोकेर पाँच किलोमिटरसम्म पुर्‍याएको पहिलोपटक आफूले देखेको बताए ।

अनलाइनखबरसँग कुरा गर्दै ढुंगानाले भने, ‘यो मधेसका महिलाको सशक्तीकरणको उदाहरण हो ।’

तस्वीर : जगतसुन्दर साहको फेसबुकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment