Comments Add Comment

राष्ट्रिय टिमको क्याम्प त्यागेर एलन विदेशतिर

काठमाडौं । विश्वकप २०२२ को छनोट अन्तर्गत चाइनिज ताइपेई र अष्ट्रेलिया विरुद्ध हुने होम म्याचका लागि नेपालले फागुन १८ गतेबाट क्याम्प सुरु गर्ने तालिका थियो । क्याम्पका लागि अखिल नेपाल फुटबल संघले ३१ खेलाडीको प्रारम्भिक सूची सार्वजनिक गरेको थियो ।

आइतबारदेखि क्याम्प सुरु पनि भयो । तर क्याम्पका लागि बोलाइएका खेलाडीहरुमधये केही अहिले मोफसलको नकआउट प्रतियोगितामा व्यस्त रहेकोले सबै काठमाडौंमा उपलब्ध हुन सकेनन् ।

तर एक खेलाडी भने देशमा होइन विदेश गएकोले क्याम्प आएनन् । ए डिभिजन लिगमा च्यासल युथ क्लबबाट खेलेका गोलकिपर एलन न्यौपानेले शनिबारै अष्ट्रेलिया गएको खबर सार्वजनिक भयो । एलनको जिल्ला मकवानपुरबाट प्रकाशि हुने प्रदेश दैनिकले एलन अष्ट्रेलिया गएको समाचार प्रकाशित गरेपछि यो खबर सबैतिर फैलिएको हो । पारिवारिक स्रोतलाई उल्लेख गर्दै उक्त राष्ट्रिय दैनिकले एलन रोजगारीका लागि विदेश गएको उल्लेख गरेको छ ।

एलन विश्वकप छनोट जस्तो खेलको लागि क्याम्पमा परेपनि क्याम्प नै त्यागेर विदेशिएपछि यो गम्भीर विषय बनेको हो ।

नेपालमा फुटबलको भविष्य नदेखेपछि खेलाडीहरु विदेशिने क्रम जारी छ । गत मंसिर २८ देखि सुरु भएको ए डिभिजन लिगको पहिलो खेलपछि नै मिडफिल्डर हेमन गुरुङ अष्ट्रेलिया लागेका थिए । उनले मछिन्द्रबाट पहिलो खेल मात्र खेले ।

एलनसहित लिग खेलेका ती गोलकिपर प्रारम्भिक सूचीमा थिए । लिग च्याम्पियन मछिन्द्र क्लबका विशाल श्रेष्ठ र त्रिभुवन आर्मीका विकेश कुथु पनि क्याम्पका लागि सूचीमा थिए । यस्तै नेपालका नम्बर वान गोलकिपर तथा कप्तान किरण चेम्जोङ भने हाल भारतीय आइ लिग खेलिरहेकोले क्याम्पको सूचीमा उनको नाम राखिएको छैन । तर उनी नेपाल आएपछि क्याम्पमा समावेश गराउने एन्फाले यसअघि नै जनाइसकेको छ ।

एलन विदेश गएको बारेमा एन्फाले केही जानकारी नगराएपनि प्रशिक्षणमा नआउने खबर भने यसअघि नै गराएको राष्ट्रिय टिमका व्यवस्थापक मधुसुदन उपाध्यायले बताए । ‘केही दिनअघि नै उनले म प्रशिक्षणमा आउँदिन भनेका थिए । अरु केही भनेको थिएन,’ उपाध्यायले भने ।

एलनको नेपालको यू २३ राष्ट्रिय टिमबाट खेल्दै आएपनि राष्ट्रिय टिमबाट भने अहिलेसम्म खेल्न पाएका छैनन् । उनी नेपालले सन् २०१६ मा बंगबन्धु गोल्डकप र १३औं सागमा स्वर्ण जित्दा नेपाली टिमका सदस्य थिए । यस्तै सन् २०१६ मा इन्डोनेसियामा भएको एसियन कपमा पनि नेपाली टिममा थिए । यस्तै सन् २०१४ मा दक्षिण कवरियाको इन्चोनमा भएको एसियन गेम्समा पनि एलन नेपाली टिममा थिए । सिनियर राष्ट्रिय टिममा परेपनि उनले अहिलेसम्म खेल्न पाएका छैनन् ।

एलन नआउने भएपछि एन्फाले यसअघि नै उनको स्थानमा मनाङ मर्स्याङ्दी क्लबका गोलकिपर दिप कार्कीलाई क्याम्पमा बोलाएको पनि उपाध्यायाले जानकारी दिए । ए डिभिजन लिगमा साविक विजेता मनाङ यस पटक तेस्रो भएपनि दिप कार्की भने उत्कृष्ट गोलकिपर चुनिएका थिए । तर उनलाई प्रारम्भिक सूचीमै नराखिएपछि एन्फाको आलोचना समेत भएको थियो ।

व्यवस्थापक उपाध्यायले राष्ट्रिय टिमको क्याम्पमा सोमबारसम्म बाहिर रहेका खेलाडी समेत आइपुग्ने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment