Comments Add Comment

सरुवा रोग अस्पताल बनाउन गण्डकी सरकारले माग्यो डेढ अर्ब

मुख्यमन्त्रीको संयोकत्वमा उच्चस्तरीय निर्देशन समिति

२३ फागुन, पोखरा । सरुवा रोगको उपचार गर्न विशिष्टीकृत अस्पताल बनाउने योजना अगाडि सारेको गण्डकी प्रदेशले संघीय सरकारसँग डेढ अर्ब रुपैयाँ बजेट माग गरेको छ ।

विशिष्टिकृत अस्पताल निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदनसमेत बनाइसकेको प्रदेश सरकारले तत्काल निर्माण थाल्न बजेटको व्यवस्था गरिदिन माग गरेको हो ।

काठमाडौंमा रहेको एकमात्र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको विकल्पमा गण्डकीमा १ अर्ब ३४ करोड रुपैयाँको अनुमानित लगातमा क्वारेन्टाइनसहितको अस्पताल निर्माण गर्ने योजना गण्डकी सरकारको छ ।

२ सय बेडको क्वारेन्टाइन र १ सय बेडको आइसोलेसन वार्डसहित ३ सय बेडको अस्पताल निर्माण गर्ने प्रदेशले योजना बनाएको छ । ‘केही वर्षको फरकमा यस्ता भाइरसको संक्रमणबाट विश्वमा माहामारी फैलिइरहेको छ । अहिले हामीले कोरोनाबाट पाठ सिक्दै तत्काल अस्पताल निर्माण गर्न सक्छौं,’ सरकारका प्रवक्ता रामशरण बस्नेतले अनलाइनखबरसँग भने, ‘त्यसका लाग संघीय सरकारको साथ खोजेका हौं ।’

अहिले कोरोनाको संक्रमण फैलिँदो अवस्थामा रहेकाले फास्ट ट्रयाकमार्फत अस्पताल निर्माण गर्न सकिने प्रदेश स्वाथ्य निर्देशक विनोद विन्दु शर्माले बताए ।

‘विगतबाट पाठ सिक्दै, अहिलेको कोरोना भाइरससँग लड्दै भविष्यका निम्ति अस्पतालको खाँचो छ,’ डा. शर्माले भने, ‘सरकारले चाह्यो भने छोटो प्रक्रियाबाट अस्पताल छिटै निर्माण गर्न सकिन्छ ।’

गण्डकी सरकारले कोरोनासँग लड्ने पूर्व तयारी स्वरुप ४ वटा अस्पतालमा ६० वटा आइसोलेस बेड तयार पारेको छ भने हरियो खर्क अस्पतालमा थप ५० बेडको तयारी गरिएको छ ।

यस्तै गण्डकी प्रदेश सरकारले कोरोना भाइरसको नियन्त्रण र उपचारका लागि उच्चस्तरीय निर्देशन समिति र समन्वय समिति गठन गरेको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको संयोजकत्वमा २६ सदस्यीय निर्देशन समिति र प्रमुख सचिव हरिप्रसाद बस्यालको संयोजकत्वमा १७ सदस्यीय समन्वय समिति मन्त्रिपरिषदको बैठकबाट गठन गरिएको सरकारका प्रवक्ता बस्नेतले जानकारी दिए ।

प्रदेश स्वाथ्य निर्देशनालयमार्फत चिकित्सक टोलीलाई तालिम, स्वास्थ्य उपकरण खरिद तथा तत्कालको व्यवस्थापनका लागि ४ करोड रुपैयाँ प्रदेश सरकारसँग माग गरिएको छ ।

सरकारले गठन गरेको समितिले तत्कालको आवश्यकता हेरी बजेट ब्यवस्थापन तथा सावधानी र उपचारका लागि पूर्वतयारी गर्ने प्रवक्ता बस्नेतको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment