Comments Add Comment

किताबमा नमिलेको हिसाब : भारु १८०, नेरु ४७२

करको बाहना गर्दै, चर्को मूल्य असुल्दै   

२३ फागुन, काठमाडौं । ‘एड्भान्स इंग्लिस ग्रामर’ नामको एक पुस्तक नयाँ दिल्ली अन्सारी रोडमा रहेको क्याम्ब्रिज युनिभर्सिटी प्रेस इण्डियाले छाप्छ । उक्त पुस्तकको बाहिरी पातोमा लेखिएको एमआरपी मूल्य अर्थात अधिकतम् खुद्रा बिक्री मूल्य भारु १८० रुपैयाँ हो ।

उक्त पुस्तकलाई नेपाली बिक्रेताले नेपाली रुपैयाँ ४७२ रुपैयाँमा बिक्री गर्ने गरेको हामीलाई प्राप्त पुस्तकमा देखिन्छ । नेपाली बिक्रेताले उपभोक्तालाई बिक्री गरेको उक्त पुस्तकमा भारतीय एमआरपी स्टीकरमा भने कालो दलेर मूल्य छोपिएको छ ।

भारतभरि बिक्रीका लागि १८० भारु भनेको उक्त पुस्तकको नेपाली रुपैयाँ २८८ रुपैयाँ हुन आउँछ । भारतीय प्रकाशकले नेपाली बिक्रेतालाई कुनै छुट नदिई पुस्तक बिक्री गर भने २८८ रुपैयाँ नेपाली रुपैयाँमा बिक्रेताले नेपालमा उक्त पुस्तक ल्याउन सक्छन् ।

ज्ञानमा कर लगाएको भन्दै नेपालका पुस्तकप्रेमीहरु यतिबेला चरणवद्ध आन्दोलनमा छन् । सरकारले भने पुस्तकमा लगाइएको कर पुनर्विचार नहुने दोहो¥याइरहेको छ । कर जायज रहेको भन्दै अर्थमन्त्री डा. युवराज खतिवडाले यस विषयमा आफू जुनसुकै ठाउँमा बहस गर्न तयार रहेको बताएका छन् ।

आयातकर्ता र बिक्रेताको परल मूल्य र बिक्री मूल्यको अन्तरमा सरकारी कर घटाउँदा अझै १५५ रुपैयाँ बच्न आउँछ । अड्भान्स इंग्लिस ग्रामरमा बिक्रेताले खरिद गरेको मूल्य र उपभोक्तालाई बिक्रीबीचको अन्तर ६३.८८ प्रतिशत देखिएको छ

पुस्तक बिक्रीमा कर लगाउने अन्तराष्ट्रिय अभ्यास रहेको भन्दै अर्थमन्त्री खतिवडाले अर्बौं लगानी गरेर स्वदेशमा खुलेका छापाखाना संरक्षण गर्न पनि सरकारले उक्त नीति परिवर्तन नगर्ने दाबी गरेका छन् ।

सरकारले यसै आर्थिक वर्षदेखि विदेशमा छापिएर नेपाल भित्रिने पुस्तकमा १० प्रतिशत भन्सार महसुल लगाउने निर्णय गरेको थियो । यसअघि पुस्तकमा भन्सार लाग्ने व्यवस्था थिएन ।

पुस्तकको खास मूल्य र बजार मूल्यमा अन्तर

अड्भान्स इंग्लिस ग्रामर नामक पुस्तकको नेपाली बजारमा बिक्री भएको मूल्य र भारतमा किनेको मूल्यबीचको अन्तर १८४ रुपैयाँ हुन आउँछ । यो सबै मूल्यलाई नाफा भन्न मिल्दैन, यसमा पुस्तक ढुवानी, आयात खर्च र बिक्रेता कर मिसिएको हुन्छ ।

अर्थ मन्त्रालयको दाबी छ कि नेपाली बिक्रेताले भारत लगायतका देशबाट पुस्तकमा लेखिएको भन्दा पनि निकै सस्तोमा पुस्तक छपाउँछन्/किन्छन् । राजश्व अनुसन्धानको कारबाहीबाट कितावको भन्सार घोषणा मूल्यांकनमा कैफियत पाइएको अर्थमन्त्री खतिवडाले बताउने गरेका छन् ।

भन्सार नलाग्ने भएकाले भन्सारले पनि वास्ता नगर्नु आफूहरुको पनि कमजोरी भएको डा. खतिवडाले स्वीकार गरेका छन् ।

पुस्तक व्यापार हो, नाफाका लागि गरिने व्यापारमा कर लाग्छ डा. खतिवडाले भनेका छन् ।  २८८ रुपैयाँमा खरिद गरेको पुस्तकमा अब राज्यले १० प्रतिशत कर लगायो भने आयातकर्ता र बिक्रेताले २८ रुपैयाँ ८ पैसा कर राज्यलाई तिर्नुपर्छ, जुन यसअघि तिर्नु पर्दैनथ्यो ।

आयातकर्ता र बिक्रेताको परल मूल्य र बिक्री मूल्यको अन्तरमा सरकारी कर घटाउँदा अझै १५५ रुपैयाँ बच्न आउँछ । अड्भान्स इंग्लिस ग्रामरमा बिक्रेताले खरिद गरेको मूल्य र उपभोक्तालाई बिक्रीबीचको अन्तर ६३.८८ प्रतिशत देखिएको छ ।

पुस्तक व्यवसायी लिखत पाण्डेका अनुसार ८ लाख ७१ हजार ४० रुपैयाँ नेपाली लगानी गरेर भारतबाट ५९ बण्डल नयाँ किताब नेपाल ल्याउँदा १० प्रतिशत करको सरकारी नियमपछि एक लाख १३ हजार ३४३ रुपैयाँ ११ पैसा रकम खर्च हुन्छ । यो खर्च भनेको ढुवानी, गोदाम र मजदुर शुल्कसहित हो । त्यसमा बढीमा २० प्रतिशत मात्र नाफा राखेर बिक्रेताले पाठकलाई पुस्तक बिक्री गर्ने हो ।

कत्रो छ नेपालमा आयातीत पुस्तकको बजार ? 

आर्थिक वर्ष ०७५/०७६ मा नेपालले वर्ष १ अर्ब १८ करोडको पुस्तक आयात गरेको बिक्रेताहरुको दाबी छ । भन्सार विभागको विवरणअनुसार विभिन्न प्रकारका ब्रोसर, लिफलेट, डिक्सनरी, इन्साईकोपेडिया र विदेशमा मुद्रण भएका पुस्तक नेपालमा भित्रिन्छन् । गत वर्ष १ अर्ब ८ करोड ८९ लाख रुपैयाँ बराबरको १ करोड तीन लाख ९२ हजार थान पुस्तक नेपाल भित्रिएको भन्सार विभागले जनाएको छ ।

दश वर्षमा पुस्तक आयात

1 India Kg. 38,336,616 4,644,557,679
2 China P. R. Pcs. 374,200 70,824,442
3 U.S.A. Kg. 30,796 29,439,569
4 U.K. Pcs. 46,432 5,242,105
5 Germany Pcs. 2,288 3,692,522
  • स्रोतः व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र

चालु आर्थिक वर्षको सात महिनामा विदेशमा मुद्रण भएका ३३ लाख ६१ हजार थान पुस्तक नेपाल भित्रिएका छन् । विदेशबाट पुस्तक आयात गर्नका लागि ३१ करोड ८० लाख रुपैयाँ मुलुकबाट बाहिरिँदा यसबाट राज्यलाई ३ करोड ४९ लाख रुपैयाँ राजश्व संकलन भएको छ ।

अघिल्लो महिना २५ लाख ९४ हजार प्रति पुस्तकहरु नेपाल भित्रिएको थियो । त्यसबाट राज्यले सवा तीन कारोड भन्दा धेरै राजश्व पुस्तक शीर्षकमा मात्रै संकलन गरेको थियो ।

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार १० वर्षमा नेपालमा ३८ करोड ८१ लाख ९५ हजार थान पुस्तकहरु नेपाल भित्रिएका छन् । जसका लागि ४ अर्ब ७६ करोड ८२ लाख नेपाली रुपैयाँ विदेशिएको छ । केन्द्रको तथ्याङ्क अनुसार नेपालले सबैभन्दा धेरै पुस्तक भारतबाट आयात गर्छ । १० वर्षमा भारतबाट ३८ करोड ३३ लाख किलो पुस्तक आयात भएको छ, जसका लागि ४ अर्ब ६४ करोड रुपैयाँ खर्च भएको छ ।

यस्तै, चीनबाट ३ लाख ७४ हजार थान आयातका लागि ७ करोड ८ लाख २४ हजार, अमेरिकाबाट ३० हजार ७ सय किलो पुस्तकका लागि २ करोड ९४ लाख, बेलायतबाट ४६ हजार ४ किलो आयातका लागि ५२ लाख  र जर्मनीबाट २२ सय थान पुस्तका नेपाल भित्रिएको छ । यसका लागि १० वर्षमा ३६ लाख रुपैयाँ खर्च भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment