+
+
Shares

एकताबारे कमल थापा– बलियो विकल्प तयार भो, विकृति हटाएर समृद्धि ल्याउँछौं

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन २६ गते ९:३१

२६ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले दुई राप्रपाबीचको एकताले भरपर्दो राजनीतिक विकल्प तयार भएकाे बताएका छन् । साथै उनले विकृति र विसंगतिविरुद्ध लडेर एकीकृत नयाँ पार्टीले देशमा समृद्धि ल्याउने दाबी पनि गरेका छन् ।

उनी नेतृत्वको राप्रपा र पशुपतिशमशेर जबरा नेतृत्वको राप्रपा (संयुक्त) बीचको एकीकरण गर्ने समझदारीपछि उत्साहित देखिएका थापाले एक भिडियो सन्देश जारी गर्दै जनताले बलियो राष्ट्रवादी शक्ति पाएको दाबी गरेका हुन् ।

‘दुई राप्रपा मिल्दा देशले बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति पाएको छ,’ थापाले भिडियो सन्देशमा भनेका छन्, ‘प्रमुख ठूला दलको अकर्मण्यता र गलत नीतिका कारण देशले भोग्नु परिरहेको विकृति र विसंगतिबाट देशलाई मुक्त तुल्याएर देशमा शान्ति तथा स्थायित्व कायम गर्ने र आर्थिक विकास एवं समृद्धिको लक्ष्य हासिल गर्ने भरपर्दो राजनीतिक विकल्ल्प अब जनताले प्राप्त गरेका छन् ।’

विगतप्रति पश्चाताप

दुई राप्रपाबीच एकीकृत पार्टी निर्माण गर्ने सहमति जुटे पनि यसको स्थायित्वमाथि आशंका व्याप्त छ । स्वयं पूर्वपञ्चहरू नै अब बन्ने नयाँ पार्टीको भविष्यप्रति विश्वस्त छैनन् । यद्यपि, थापाले घुमाउरो पाराले विगतको कमजोरी स्वीकार्दै कार्यशैली सुधार्ने संकेत गरेका छन् ।

यसअघि दुई राप्रपा एकताको छोटो समयमै ०७३ फागुनमा विभाजित बनेका थिए । उक्त विभाजनमा कमल थापाको कार्यशैली जिम्मेवार रहेकाे आरोप अद्यापि रहँदै आएको छ । थापाले त्यतिबेलाको कमजोरीको जिम्मेवारी ३ वर्षपछि लिएका छन् । यसमा अन्यको पनि भूमिका रहे पनि आफू आरोप–प्रत्यारोप गर्ने पक्षमा यतिबेला नरहेको थापाको भनाइ ।

‘महाधिवेशनको छोटो समयमै यसअघि पार्टीमा आएको विभाजन रोक्न नसक्नुमा म नैतिक रूपमा जिम्मेवार छु,’ थापाले विगतको कमजोरी स्वीकार्दै भिडियो सन्देशमा भनेका छन् ।

थापाले विगतमा भएको पार्टी विभाजनको मूल्य आफ्ना लागि चर्को परेको समेत स्वीकारेका छन् । ‘यसको मूल्य धेरै ठूलो चुकाउनु पर्‍यो । पार्टी विभाजन किन भयो , कसको कारणले भयो ? अहिले म त्यसबारे चर्चा गर्न चाहन्नँ । आरोप प्रत्यारोप गर्न चाहन्नँ,’ थापाले पार्टी विभाजनको हिसाब प्रस्तुत गर्दै भने ।

थापाले पार्टी एकताका लागि अव्यवहारिक र अस्वभाविक थाहा हुँदाहुँदै पनि केही प्रावधान कायम गरिएको बताए । यद्यपि, यस्ता असंगत प्रावधान महाधिवेशनसम्म कायम हुने उनले जानकारी दिए ।

थापाले राप्रपालाई देशको अग्रणी शक्ति बनाउने अभियानमा जुट्न सबै तहका कार्यकर्तालाई आह्वान पनि गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?