Comments Add Comment

कोरोनाले सौराहाका होटलहरु संकटमा, कर्मचारीलाई धमाधम छुट्टी

सरकारले राहत दिनुपर्ने व्यवसायीको माग

नेपालमा मार्च, अप्रिल र मे महिनालाई पर्यटकीय मौसम मानिन्छ । विदेशी पर्यटकहरुको चहलपहल हुने यही मौसममा देशका पर्यटन व्यवसायीहरु अत्यधिक निर्भर हुन्छन् ।

तर, यतिबेला विश्वका विभिन्न देशमा फैंलिएको कोरोना भाइरसका कारण पर्यटन क्षेत्र नराम्ररी थला परेको छ । मुख्य सिजनमै पर्यटक नआएपछि व्यवसायी चिन्तित बनेका छन् । सरकारले भ्रमण वर्ष घोषणा गरेकाले यसपाली पर्यटन क्षेत्र फस्टाउने उनीहरुले अपेक्षा लिएका थिए । तर, ठीक उल्टो भयो ।

देशकै तेस्रो पर्यटकीय गन्तब्य सौराहा पनि यसबाट अछुतो रहने कुरा भएन । कोरोना भाइरसको त्रास कारण यहाँको पर्यटन व्यवसायमा ठूलो धक्का लागेको व्यवसायीहरु बताउँछन् । भूकम्प, नाकाबन्दी, नारायणगढ-मुग्लिन सडकखण्डको समस्याले भन्दा पनि ठूलो क्षति यसपटक कोरोनाको त्रासका कारणले हुने देखिएको उनीहरुको भनाइ छ ।

व्यवसायीका अनुसार विदेशी पर्यटक सर्लक्कै घटेका छन् भने, स्वदेशी पर्यटकहरु पनि न्यून संख्यामा मात्रै आइरहेका छन् । क्रिसमस र नयाँ वर्षपछि सौराहामा पर्यटकको चहलपहल बढ्थ्यो । विगतका वर्ष यो सिजनमा दैनिक एक हजारभन्दा बढी पर्यटक आउँथे । तर अहिले दैनिक २५० हाराहारी पर्यटक सौराहा आउने गरेका छन् ।

विदेशी पर्यटकमध्ये आधाभन्दा बढी चीनका पर्यटक यहाँ आउने गर्दछन् । गत वर्ष यतिबेला दैनिक ७०० हाराहारी चिनियाँ पर्यटक आउँथे । तर, अहिले चितवनमा चिनियाँ पर्यटक देख्न पाइदैन । दिल्लीमा कोरोना देखिएपछि भारतीयहरु पनि निकै कम भएका छन् । केही स्वदेशी, भारतीय र युरोपियन पर्यटकले अहिले सौराहाका होटलहरु जेनतेन चलिरहेका छन् । यहाँबाट दैनिक आठवटा वस काठमाडौँ र चारवटा बस पोखरा जान्छन् । ती बस पनि खालीजस्तै हुन्छन् ।

चितवन घुम्न आउने करिब २ लाख पर्यटकमध्ये ८५ प्रतिशतको हाराहारीमा सौराहा आउने गरेका थिए । हिमाल आरोहीहरु पनि जंगल सफारीका लागि यहाँ आउने गर्दछन् भने चरा हेर्न पनि चार प्रतिशत पर्यटक आउँछन् । सौराहा आउने पर्यटकका लागि यो मौसम निकै राम्रो मानिन्छ । यहाँ गर्मी पनि छैन र जाडो पनि हट्दै गएको छ । जाडो र गर्मी छल्न आउने चरा यो बेला एकैसाथ देखिन्छन् । तर यसपटक चरा हेर्नसमेत पर्यटक आएनन् ।

अकुपेन्सी १५-२५ प्रतिशत मात्र

यो मौसममा झण्डै ७० प्रतिशतको हाराहारीमा हुने होटलको अकुपेन्सी दर औसतमा १५ देखि २५ प्रतिशतमा झरेको क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराइले जानकारी दिए । सौराहामा ११५ होटल छन् । चिनियाँ पर्यटकमा निर्भर रहेका १२ होटल सबैभन्दा बढी प्रभावित बनेका छन् ।

अहिले कतिपय होटलहरु बन्द हुने अवस्थामा छन् भने केहीले कामदारहरुलाई बेतलवी विदा दिएका छन् । कतिपय होटलले ५० प्रतिशतभन्दा बढी कामदार कटौती गरिसकेका छन् । चिनियाँ पर्यटकमा आधारित चितवन फरेस्ट रिसोर्टका सञ्चालकसमेत रहेका क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराइले ४० कोठा क्षमताको होटलमा ५ वटा मात्रै बुक रहेको बताए ।

‘म आफैं धरासयी हुने अवस्थामा पुगेँ,’ अध्यक्ष भट्टराइले भने, ‘यदि यस्तै अवस्था केही समय रह्यो भने व्यवसायीहरु पलायन हुन्छन् ।’

उनले होटलमा काम गर्ने २५ जनामध्ये १२ जना कामदारलाई छुट्टी दिइसकेका छन् । पहिले पहिले बर्खाको समयमा ब्यापार नभएको भन्दैं यहाँका होटलले कर्मचारीहरुलाई यसरी नै विदा दिने गरेका थिए । तर, पछिल्लो १० वर्ष यता बर्खामा समेत राम्रो ब्यापार भएपछि विदा कट्टौती गरिएको थियो । अहिले सौराहाका १ सय १५ मध्ये ६५ वटा होटलले कर्मचारीलाई बिदा दिएका छन् ।

जंगल वर्ल्ड रिसोर्टका सञ्चालक टोकराज खतिवडाले सौराहाका होटल व्यवसायीको अवस्था दयनीय रहेको बताए । मुख्यरुपमा चिनियाँ पर्यटकहरु आउने उनको होटलमा गत फेबु्रअरी र मार्चमा शतप्रतिशत बुकिङ रद्ध भएको छ ।

खतिवडाको ४४ वटा कोठा रहेको होटलमा कहिलेकाहीँ त एउटा कोठा पनि जाँदैन । ९५ प्रतिशतभन्दा बढी कोठा खाली छन् ।
चीन र खाडी देश ट्रान्जिट भएका अधिकांश पर्यटकहरु आउन छाडेका छन् । सौराहास्थित गैंडाचोकमा मदिरा पसल चलाउँदै आएका पूर्ण रिजालले भूकम्प र नाकावन्दीको बेलाभन्दा पनि यसपटक सौराहा सुनसान बताए ।

सेप्टेम्बरसम्म यस्तैं रहे…

अहिलेको कोरोनोको प्रभाव र असर अगस्टसम्म रहने अनुमान यहाँका व्यवसायीको छ । सेप्टेम्बरदेखि डिसेम्वरसम्म सुधार होला र अहिलेको क्षतिलाई केही कम गराउन सकिएला कि भन्ने आशामा व्यवसायीहरु रहेको क्षेत्रीय होटल संघ सौराहाका पूर्व अध्यक्ष सुमन घिमिरेले बताए ।

‘कोरोनाको प्रभाव आगामी अगष्टसम्म रहला भन्ने सोचेका छौं, त्यसभन्दा पर गएर सोच्न पनि सक्दैनौं । सेक्टेम्बरपछि पर्यटकहरू आउँछन् भन्ने लाग्छ’ घिमिरेले भने  ‘अहिले पर्यटक नआउँदा बेहोरेको क्षति अर्को सिजनमा पर्यटक आए पूरा गर्न सकिएला की ?’

सेक्टेम्वरपछि पनि यस्तैं अवस्था रहे सौराहामा २५ भन्दा बढी होटल उठ्नै नसक्ने गरी बन्द हुने घिमिरेको भनाइ छ । यी होटल बन्द हुँदा त्यसको मार सबैतिर पर्ने उनले बताए । सौराहामा करिब ३५ सय व्यक्तिले प्रत्यक्ष रोजगारी पाएका छन् । ६ हजार ५ सयभन्दा बढी अकुपेन्सी क्षमता छ । जंगल वर्ल्ड रिर्सोटका सञ्चालक टोकराज खतिवडाले यस्तैं अवस्था रहे अर्को बर्ष होटल बन्द गर्नुपर्ने अवस्था आएको बताए ।

व्यवसायीको माग : बैकको ब्याज सहुलियत

संकटको बेला सरकारले पर्यटन क्षेत्रलाई राहत दिने कार्यक्रम ल्याउनुपर्ने माग गर्दछन् क्षेत्रीय होटल संघका अध्यक्ष भट्टराई । पर्यटकहरुको आवागमन निकै कम भएको र समस्याग्रस्त अवस्था आएकोले सरकारले यो अवधिको ब्याजमा सहुलियत मिलाइदिनुपर्ने उनीहरुको माग छ ।

‘ऋण र ब्याज मिनाहा होस् त भन्दैनौं । तर ब्याज तिर्ने समयलाई पछाडि सार्नुपर्छ । अहिले त ब्याज तिर्न सक्ने अवस्थामा कोही छैनन्, धेरै होटल सञ्चालक कालोसूचीमा पर्ने खतरा छ,’ अध्यक्ष भट्टराईले भने,  ‘सरकारले पर्यटन व्यवसायीका लागि केही न केही राहत प्याकेज नदिए व्यवसाय नै धरापमा पर्छ ।’

कतिपय जिल्ला प्रशासन कार्यालयहरुले कारोना भाइरसबाट बच्ने सतर्कताका सम्बन्धमा जारी गरेका सूचनाप्रति पनि व्यवसायीहरुले गुनासो गरेका छन् । सरकारी निकायहरुले नै जनतालाई भयभीत बनाउने गरी सूचनाहरु जारी गर्ने र जनतालाई नजरवन्दमा जस्तो गरी राख्न खोज्नु गलत भएको अध्यक्ष भट्टराईले बताए ।

‘यतिबेला जनतालाई सरकारले त्रास फैलाउने हैन, सचेतना फैलाउने हो, धराशयी बनेको पर्यटन व्यवसायलाई सहयोग गर्न आन्तरिक पर्यटक प्रर्वद्धनमा ध्यान दिनुपर्दछ’ अध्यक्ष भट्टराईले भने ।

सरकारले आन्तरिक पर्यटकलाई चलायमान बनाउने कार्यक्रम ल्याएर राहात दिनुपर्ने चाहाना व्यवसायीले राखेका छन् । क्षेत्रिय होटल संघ सौराहाका निवर्तमान अध्यक्ष सुमन घिमिरले सञ्चार मन्त्रालयमार्फत प्रचारप्रसार र प्रवर्द्धन, निजामति कर्मचारीहरुलाई विदा दिने र देश घुमौं भन्ने अभियानलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताए ।

छैन नयाँ कार्यक्रम

सौराहाको पर्यटनलाई कोरोना त्रासले धक्का दिइरहेको बेला यहाँ व्यवसायीहरुले आन्तरिक पर्यटन प्रर्वद्धनमा राज्यले जोड दिनुपर्ने बताउँदै आएका छन् । तर, सौराहामा सधैं एकै प्रकारका पर्यटकीय क्रियाकलाप हुने गरेकोले स्वदेशी पर्यटकहरू पनि त्यति आकर्षित हुन नसकेको देखिन्छ ।

क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईले नयाँ कार्यक्रम दिन नसक्दा पर्यटक कमि भएको बताउँछन् । निकुञ्जभित्र हरेक दिन प्रवेश शुल्क लाग्ने, हात्ती प्रवेश गराउन नपाइने, बाहिर केही नयाँ गतिविधि हुन नसक्दा आन्तरिक पर्यटक पनि आर्कषित हुन नसकेको उनी बताउँछन् ।

निकुञ्जलाई पर्यटकले शुल्क बुझाएर पनि हात्तीमा सामुदायिक वनमात्र घुम्नुपर्ने बाध्यता छ । जिप सफारी, जङ्गलमा पैदलयात्रा, डुङ्गा सयर, हात्ती र गोही प्रजनन केन्द्रको अवलोकन, थारु सङ्ग्रहालय, थारु संस्कृति अवलोकनमा यहाँका पुरानै प्याकेज हुन् । पहिलोपटक आउने पर्यटकलाई यी गतिविधि रमाइलो हुने भए पनि पुनः आउँदा पर्यटकले नयाँ कार्यक्रम खोज्ने गरेका छन् ।

नयाँ प्याकेज दिने बारेमा न त निकुञ्जले कुनै योजना बनाएको छ नत व्यवसायीले नै । निकुञ्ज बाहिर रात्रिकालीन जिप सफारी, धार्मिक पर्यटकीयस्थलको भ्रमण गराउनेजस्ता नयाँ कार्यक्रम ल्याउने तयारी यहाँका व्यवसायीले गरे पनि मूर्तरुप पाएको छैन । राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारीकरण र प्रचारप्रसार हुन नसक्दा नयाँ पर्यटक थपिने क्रम पनि घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment