काठमाडौं । विश्व खेलकुद नै अहिले नोवेल कोरोना भाइरस (कोभिड १९) ले प्रभावित बनिरहेको बेला इटलीमा एक खेलाडीलाई कोरोनाको संक्रमण भएको छ ।
इटालियन क्लब युभेन्ट्सबाट खेल्ने डिफेण्डर ड्यानिएल रुगानीमा कोरोना भाइरसको संक्रमण देखिएको हो । परीक्षणका क्रममा उनलाई कोरोना पोजिटिभ भेटिएको हो ।
युभेन्टसले पनि रुगानीलाई कोरोना भएको जनाएको छ । रुगानीमा हाल कुनै समस्या नदेखिए पनि परीक्षणमा भने उनलाई कोरोना भएको देखिएको हो ।
सिरि ए क्लबले कानून अनुसार रुगानीको उपचारको सबै प्रक्रिया सुरु गरिएको जनाउँदै उनीसँग सम्पर्कमा रहेका सबै व्यक्तिलाई विशेष निगरानीमा राखिएको जनाएको छ ।
क्लबले २५ वर्षीय रुगानीको अवस्था सुधारोन्मुख रहेको बताएको छ ।
यस सिजन युभेन्टसबाट ७ खेल खेलेका रुगानी गत साता इन्टरविरुद्ध युभेन्ट्सले जित हात पार्दा बेन्चमा थिए । रुगानीले उक्त खेलपछि ड्रेसिङ रुममा जितको खुसियाली मनाइरहेको फोटोसमेत सार्वजनिक गरेका थिए ।
बुधबार मात्रै इटालियन सरकारले कोरोनाको कारण फुट स्टोर र फार्मेसी बाहेक सबै पसलहरु बन्द गर्ने भनेको छ । यस्तै सरकारले अप्रिल ३ सम्म सबै खेलकुद गतिविधि स्थगित गर्ने निर्णय गरिसकेको छ ।
चीनको वुहानबाट गत डिसेमबरमा सुरु भएको कोरोना भाइरस अहिले विश्वभर फैलिरहेको छ । चीनपछि धेरै प्रभावित हुने र मृत्यु हुने संख्या बढी भएको देशमा इटली छ ।
इटलीमा अहिलेसम्म कोरोनाका १२ हजार संक्रमितको पहिचान भएको छ । जसमा ८ सयभन्दा बढीको मृत्यु भएको छ ।
प्रतिक्रिया 4