Comments Add Comment

संक्रमण फैलिनुअघि नै सतर्क बनौं

एउटा विदेशी साथीले सोध्यो, ‘ नेपालमा अहिलेसम्म कसरी कोरोना छिर्न सकेन ?’

मैले फ्याट्ट भनिदिएँ, ‘नेपाल सरकारले कडा – कडा कदम चालेको छ ।’

उसलाई उत्तर दिएपछि भने एकछिन सोचमग्न भएँ । महामारी न हो कतिबेला यो आगो नेपालमा सल्किन्छ कहाँ भन्न सकिन्छ र ?  यसले भौगोलिक सिमाना, पशुपतिनाथको भूमि, वीर गोर्खाली भनेर कहाँ छोड्छ र ? कतै संक्रमित व्यक्ति प्रयोगशालामा जाँच गर्न नआएर पो हो कि ? शंका पनि लाग्यो ।

त्यहीबीचमा अर्को साथी प्याट्ट बोल्यो , ‘कोरोना परीक्षण त टेकुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भइरहेकै छ, नेपालमा संक्रमण नै नदेखिएको होला ।’

ठीकै हो, संक्रमण देखिएको भए त प्रयोगशालाबाट डेङ्गीजस्तै फ्याट–फ्याट पत्ता लाग्नु पर्ने नि !

मनमा यही कुरा खेलिरहेछ कि ‘सुरुवातमा हाम्रो उत्तरी छिमेकी राष्ट्र चीनमा महामारीको रुप लिएको र तीनतिर सीमाना जोडिएको भारतमा कोरोना फैलिरहँदा बीचमा रहेको हाम्रो सानो मुलुक नेपालमा आजसम्म कोरोना प्रकोपको रुपमा नफैलिनु सुखद संयोग नै हो ।

कता कता खुशी लगेको छ कि मेरो देशमा कोरोना भित्रिएको छैन । विश्व कोरोनाको चपेटामा छ, नेपालमा पनि आर्थिक, सामाजिक र मनोवैज्ञानिक असर देखिँदा अलि अलि पीडा छ । कतै फैलिहाल्ने हो कि भन्ने डर पनि छ ।

अमेरिका, स्पेनजस्ता देशहरुले संकटकाल घोषणा गरिसकेको छ । चीनपछि धेरै जनसंख्या भएको भारतका प्राय:जसो राज्यमा कोरोना संक्रमित देखिएका छन् र कतिपय राज्यले स्कुल, सिनेमा हल, नाइट क्लब, खेलकुद, सभा सम्मेलन, जमघट बन्द गरेको छ ।

कतिपय देशले आवागमन बन्द गरेका छन् र क्वारेन्टाइनलाई प्रभावकारी बनाउँदै सम्भावित महामारीदेखि बच्न सतर्कता अपनाएका छन् । नेपाल सरकारले पनि पर्यटक भिसा बन्द गर्ने, ठूला सभा समारोह नगर्न आग्रह गर्नेजस्ता सतर्कता अपनाएको छ । तर यति सतर्कताले पनि नेपालमा कोरोना संक्रमण रोक्न पर्याप्त नहुन सक्छ ।

हामीले पनि बढी जनघनत्व भएका काठमाडौं, चितवन, पोखरा, विरा६नगर भैरहवा, धनगढी, नेपालगन्ज, बुटवलजस्ता शहरमा सिनेमा हल, विद्यालय, ठूला- कार्यक्रम केही समयलाई रोक्नुपर्छ । संक्रमण देखिएपछि मात्र सतर्कता अपनाऔंला भनेर हुन्छ र ?

नेपाल बन्द अनि शैक्षिक हड्तालमा स्कूल ठप्प पार्ने धेरैजसो नेताज्यूहरू कोरोनाको बिषयमा मौन हुनुहुन्छ । माननीय सांसदज्यूहरु कोरोनाको डर भो संसद बन्द गरौं भन्न  पाउने, संसदमा नियमित उपस्थित पनि हुनु नपर्ने तर आफ्ना साना नानीबाबुलाई कोरोनाको डरले स्कूल पठाउँदिन, केही दिन स्कूल बन्द गरौं भन्न अभिभावकले पाउने कि नपाउने ?

मन्त्री र नेताज्यूहरु ठूला कार्यक्रममा जान छाड्नुभयो, तर विद्यार्थीलाई बसमा कोचिएर स्कूल नजाऊ भन्न किन सक्नुभएन ?

धेरै स्थानीय तहमा स्वास्थ्यकर्मी अपुग भएको यथार्थ हो, त्यसैले स्थानीय स्वास्थ्य सेवा प्रभावित नहुने गरी परीक्षा केन्द्रमा राख्न लागिएको हेल्थ डेस्क व्यवस्थित होस् । सकिन्छ भने परीक्षालाई रोक्ने नत्र छिटो सक्ने व्यवस्था गरियोस्,किनकी परीक्षा भन्दा स्वास्थ्य ठूलो कुरा हो ।

संक्रमणबाट जोगिन सिनेमा हल, सभा समारोह, सामाजिक कार्य एवं मेला महोत्सवमा भेला नहुन सरकारले गरेको आह्वानलाई सबै नागरिकले पालना गर्नुपर्छ । सरकारले दिन प्रतिदिन गर्दै आएको कोरोनाविरुद्धको निर्णय सह्राहनीय छन् तर ती बुँदाहरु कागजमा मात्र सीमित नहोस् । समुदाय तहसम्म सचेतना फैलाएर सरकारका निर्णय कडाइका साथ लागू गर्न सक्नुपर्छ ।

भूकम्पको समयमा जसरी लागिपरेका थियौं, ठीक त्यसैगरी यसको रोकथाममा लाग्नु जरुरी छ । मौसम परिवर्तन हुँदैछ, पोहोर सालजस्तै डेङ्गीलगायतका रोगको प्रकोप नहोला भन्न सकिन्न, त्यसैले महामारीको पूर्वतयारी अति महत्वपूर्ण छ ।

केन्द्रदेखि स्थानीय तहसम्म सबैको सक्रिय सहभागितामा कोरोना रोकथामका लागि पहल गरौं । सरकारले घर-घरमा आएर कोरोना नियन्त्रण गर्छ भन्ने आशा गर्नु भन्दा शंका लागेको अवस्थामा आफैं कोरोना परीक्षण गर्न जाने गरौं । तर यसका निम्ति राजधानीबाहिर पनि प्रर्याप्त प्रयोगशाला, अस्पतालमा आईसोलेसन वार्ड तयार गर्नुपर्छ र आवश्यक जनशक्तिको व्यवस्था पनि हुनुपर्छ ।

अहिले निर्माण गर्न सकिने क्वारेण्टाइन, आइसोलेसन वार्ड,  अस्पताल,  भवन र उच्च प्रविधियक्त ल्याबहरु आगामी दिनका लागि पनि उपायोगी हुन सक्छ । त्यसैले स्वास्थ्य सेवामा सुधार गर्नका लागि यो उपयुक्त अवसर पनि हो ।

कोरोना संक्रमण रोक्न संक्रमण फैलिएको देशबाट आउने सम्भावित बिरामीलाई रोक्नुका साथै व्यक्ति, सामुदाय र सरकारको सहकार्यमा सेल्फ क्वारेन्टाइनलाई पनि प्रभावकारी बनाउन सकिन्छ ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन स्वास्थ्यका सिपाही (स्वास्थ्यकर्मी) को प्रयास मात्र अपुग हुन्छ, यसका लागि त हरेक नागरिकको उत्तिकै प्रयास आवश्यक पर्छ । विशेष गरी सिमाना नजिकका र स्थानीय तहका स्वास्थ्यकर्मीको सहभागितामा समुदायस्तरसम्म जनचेतना फैलाउनु संक्रमण रोक्नका लागि प्रभावकारी कदम हुन सक्छ ।

कोरोना त्रासका कारण सर्वसाधारणले धेरै मौज्दात राखेका कारण वा आपूर्ति नै कम भएका कारण उपभोग्य सामग्रीमा कालोबजारी हुन सक्छ । खाद्यान्न, माक्स, स्यानिटाइजर र औषधिमा भइरहेको कालोबजारी रोक्न सरकारकै भूमिका महत्वपूर्ण हुन्छ ।

कालाबजारी नियन्त्रण गर्न सरकार थप कठोर बन्नुको विकल्प नै छैन । सरकारले लिएको हरेक कदमलाई प्रभावकारी कार्यन्वयन गर्न नागरिकले पनि साथ दिनुपर्छ ।

सञ्चार माध्यमले नियमित जनचेतना फैलाएर कोरोना रोकथामको लागि पहल गर्नुपर्छ । भ्रम र त्रास फैलाउनेप्रति सरकार कठोर बन्नुपर्छ ।

आन्दोलनमा राँके जुलुस बोक्ने हातहरुले स्वास्थ्य सन्देशमूलक पर्चा र पोस्टर बोकेर बोक्न सकोस्, ती ओठहरुले घर दैलोमा चेतना दिन सकोस् ।

यस्तो कार्यक्रम गर्दा भिडमा नगरौं, घर-घरमा सन्देश प्रवाह गर्न जाने सबैले कोरोना पूर्व-परीक्षण गरौं ताकी अरुलाई संक्रमणको सम्भावना नहोस् । सबैले सही सन्देश प्रवाह गरौं, त्रसित हैन सचेत बनौं  ।

गोरखा घर भएका श्रेष्ठ जनस्वास्थ्यकर्मी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment