Comments Add Comment

अस्ट्रेलियन दूतावासले भन्यो– सकेसम्म दूतावास नआउनू, कागजात हुलाकबाट पठाउनू

५ चैत, काठमाडौं । अत्यावश्यकबाहेकका सेवाका लागि दूतावास नआउन अस्ट्रेलियास्थित नेपाली राजदूतावासले अपिल गरेको छ । आउनै पर्ने भएमा एक्लै उपस्थित हुन उसले अनुरोध गरेकाे छ ।

कोरोना संक्रमणबाट बच्न अस्ट्रेलियन सरकारले विभिन्न उपायहरू अवलम्बन गरिरहेका बेला त्यहाँस्थित नेपाली राजदूतावासले १९ मार्चदेखि अत्यावश्यकबाहेकका काममा दूतावास नआउन अपिल गरेको हो ।

दूतावासले राहदानी नवीकरण, यात्रा अनुमतिपत्र, गैरआवासीय नेपाली परिचयपत्र, भिसा र सवारी चालक अनुमतिपत्रलगायतका कागजात प्रमाणीकरण गर्नुपर्ने भए हुलाकमार्फत पठाउन भनेको छ ।

अधिकृत वारेशनामा, मञ्जुरीनामालगायत राजदूतावासमा स्वयं उपस्थित भई सहीछाप गरिनुपर्ने कामका लागि भने नेपाली दूतावास जान सक्नेछन् । तर, त्यसका लागि सर्त लागू हुनेछ ।

क्यानबेरास्थित नेपाली राजदूतावासका अनुसार, अत्यावश्यकीय सेवा लिन आउने व्यक्तिले पहिले त्यसबारे टेलिफोनमार्फत जानकारी गराउनु पर्नेछ । यसरी जानकारी गराएका व्यक्तिले आफूमात्रै आएर बिहान १० देखि १ बजेभित्र सेवा लिनसक्नेछन् ।

‘राजदूतावास आउनुपर्ने अत्यावश्यक काम भएमा टेलिफोन सम्पर्क गरी समय लिएर मात्र अफिस खुल्ने दिन बिहान १० देखि १ बजेसम्म आउने,’ कन्सुलर सेवासम्बन्धमा दूतावासद्वारा जारी सूचनाको तेस्रो बुँदामा भनिएको छ ।

अत्यावश्यक अवस्थाबाहेकमा हिँड्डुल नगर्न पनि त्यहाँस्थित दूतावासले नेपालीलाई आग्रह गरेको छ ।

विश्वव्यापी रूप लिएको कोरोना भाइरस अस्ट्रेलियाका लागि पनि टाउको दुखाइको विषय बनेको छ । वर्ल्डओमिटर्सका अनुसार, कोरोना संक्रमणबाट हालसम्म यहाँका ५ जना मानिसको ज्यान गइसकेको छ भने ४ सय ५२ संक्रमित छन् ।

अस्ट्रेलियामा रहेका १ नेपालीमा समेत कोरोना संक्रमण पुष्टि भएको छ । ती नेपालीको हाल उपचार भइरहेको छ । कोरोनाको संक्रमण फैलिएपछि अध्ययन, रोजगारीलगायतमा आबद्ध नेपालीमा त्रास छाएको छ ।

हेर्नुहोस् दूतावासको सूचना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment