५ चैत, काठमाडौं । साझा यातायातले आइतबारबाट आफ्नो बसहरुमा संक्रमणको जोखिम घटाउन ‘स्यानिटाइजर’ छर्कन सुरु गर्यो । रिङरोडमा विजुली बस चलाइरहेको सुन्दर यातायात प्रालिबाहेक अरु सार्वजनिक यातायात कम्पनीले यस्तो अभ्यास थालेका छैनन् ।
सार्वजनिक सवारी साधनभित्र कोरोना भाइरस संक्रमणको जोखिम हुन्छ नै । निजी गाडी नभएकाहरुले सार्वजनिक सवारी प्रयोग गर्नुको विकल्प पनि छैन । सार्वजनिक सवारीलाई सुरक्षित राख्न सरकारले पहल गर्नुपर्ने माग उपभोक्ताकर्मीले गर्दै आएका छन् ।
तर, अहिलेसम्म यातायात कम्पनीहरुले खर्च हुने भन्दै सतर्कताको ठोस प्रयास गरेका छैनन् । सरकारले पनि एउटा स्पष्ट निर्देशन सम्म दिएको छैन । कदाचित कोरोना भित्रिए यो लापरबाहीले भाइरस फैलने दर अनियन्त्रित हुने जोखिम छ ।
संक्रमण फैलाउने हिसावले काठमाडौंको सार्वजनिक यातायात सबभन्दा जोखिमपूर्ण रहेको विज्ञहरु बताउँछन् । सार्वजनिक गाडीमा गुन्द्रकुजसरी कोचिएर यात्रा गर्नुपर्ने बाध्यता छ । भाइरस संक्रमणको हिसावले यसलाई ज्यादै खतरनाक अवस्था भन्छन्, सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुन ।
फेरि सार्वजनिक सवारी प्रयोग गर्ने अधिकांश यात्रुलाई कसरी सतर्कता अपनाउने भन्ने जानकारी पनि छैन । जानकारी भएकाहरु पनि हेलचेक्र्याइँ गर्छन् । मास्क लगाएर यात्रा गर्नेहरु थोरै देखिन्छन् ।
कतिपय सार्वजनिक सवारी सञ्चालकहरुले यात्रुलाई ज्वरो आए, नआएको जाँच गर्न त थालेका छन्, तर बिरामीलाई गाडीमा निषेध गर्न सकिदैन । यसले गर्दा सार्वजनिक यातायातलाई कोरोना सल्केर बिस्फोट हुने वारुदखाना जस्तो बनाइदिएको छ ।
स्वास र नाक–मुखबाट निस्कने छिटाका कारण स्वास्थ सुरक्षाको हिसाबले सार्वजनिक सवारी त्यसैपनि उच्च जोखिममा हुने डा. पुन बताउँछन् । ‘सार्वजनिक गाडीमा यात्रुहरुबीच प्रत्यक्ष सम्पर्क–सम्वाद हुन्छ नै’, उनी भन्छन्, ‘कोरोना भाइरसको यो समयमा सार्वजनिक यातायातको क्षेत्रमा अरु बेलाजस्तै भइरहेको हेल्चेक्र्याईंले ज्यादै खतरनाक सन्देश दिइरहेको छ ।’
वेलायतमा भएको एक अध्ययनले र्याल, सिँगान, थुकलगायतबाट सर्ने सरुवा रोगको लागि सार्वजनिक यातायातका साधनलाई ‘हटस्पट’ भनेको छ । सार्वजनिक सवारी प्रयोगकर्ताहरु अरुभन्दा ६ गुणा बढी सुरुवा रोगको जोखिममा हुने अध्ययनको निश्कर्ष छ ।
सार्वजनिक सवारीमा यात्रु–यात्रुबीचको दूरी निकै कम हुने हुँदा एक जना बोल्दा, खोक्दा वा हाछ्युँ गर्दा धेरैजना प्रत्यक्ष प्रभावित हुन्छन् । एउटा यात्रु उठेको सिटमा तुरुन्तै अर्को बस्छ । सबै यात्रुले समाउने डण्डी, ढोकाको ह्यान्डल, रेलिङ, सिट बार उही हुन्छ । यो अवस्थामा कुनै एक संक्रमित यात्रुले समातेको डण्डी नै सहरभरि संक्रमण पुर्याउन काफी हुन्छ ।
अनुसन्धानले लामो दूरीको तुलनामा छोटो–छोटो दूरीका सार्वजनिक गाडीका यात्रु बढी स्वास्थ्य जोखिममा हुने देखाएको छ । त्यसैगरी धेरै ट्रान्जिट प्रगोग गर्ने यात्रुलाई पनि संक्रमणको जोखिम बढी हुन्छ ।
सार्वजनिक सुरक्षामाथि नै प्रश्न
नेपालमा सार्वजनिक सवारी प्रयोग गर्नेमा निम्न र मध्यम वर्गका बढी छन् । उनीहरु कम सचेत हुने कारणले संक्रमण फैलने जोखिम पनि उच्च हुन्छ ।
हेलचेक्र्याँई गर्नेहरु पनि उत्तिकै हुन्छन् । यो अवस्थामा सार्वजनिक गाडीहरुको बढी जोखिमयुक्त भागहरुमा स्यानेटाइजर छर्केर भाइरस सर्ने जोखिम कम गर्न सकिन्छ । धुँदा पनि रोग सर्ने जोखिम कम हुन्छ । तर, नेपालमा सञ्चालित सार्वजनिक यातायातका साधनमा दैनिक स्यानिटाइजर छर्कनु त टाढाको कुरा, धुनेसम्म गरिन्न ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला स्यानिटाइजर महंगो हुने भएकोले सञ्चालन खर्च बढ्ने बताउँछन् । सरकारले सहजीकरण गरे बसहरुलाई ‘स्यानिटाइज’ गरेर चलाउने उनले बताए ।

कोरोना संक्रमणले घेरी सक्दा पनि सरकारले भने व्यवसायीहरुलाई आफ्ना गाडीहरु सुरक्षित पार्न निर्देशनसम्म दिएको छैन । अहिलेको अति संवेदनशील अवस्थामा पनि सामान्य समयकै पारामा छ, सार्वजनिक यातायात । यसबाट सार्वजनिक सुरक्षामाथि नै प्रश्न उठिरहेको छ ।
सरकारको यातायात व्यवस्था विभाग र स्वास्थ्य सेवा विभागले यस विषयमा अहिलेसम्म संयुक्त छलफल गरेका छैनन् ।

































