Comments Add Comment
ब्लग :

अमेरिकाबाट प्रधानमन्त्रीका नाममा खुलापत्र

कोरोना भाइरस संक्रमणबाट यसरी जोगिन सक्छ नेपाल

सम्माननीय प्रधानमन्त्रीज्यू, सबैभन्दा पहिला त दोस्रोपटक सफल मिर्गौला प्रत्यारोपण गरी स्वाथ्यलाभ गरिरहनुभएको यहाँलाई हार्दिक बधाईं दिँदै शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।

यहाँसँग विगतमा पनि पटक–पटक अन्तरवार्ता गरेको एक नेपाली पत्रकारका रूपमा हामी दुबैजना एकआपसमा परिचित छौैं । यहाँसँगको सहकार्य र परिचयले मैले यहाँलाई एक दृढ ईच्छाशक्ति भएको राजनेताका रूपमा चिन्ने बुझ्ने अवसर पाएको छु । अमेरिका आएका बेला आकस्मिक रूपमा बिरामी भएर अस्पताल बस्दाको एक साक्षीका रूपमा मैले नजिकबाटै यहाँको दृढ आत्मवल थप अनुभूत गरेको हुँ । यस अर्थमा पनि म यहाँको आत्मबल र साहसको सदैव प्रशंसक रहँदै आएको हुँ।

अहिले म भूगोलको नेपालमा हैन, भावनाको नेपालमा छु । अमेरिकाको टेक्सासलाई कार्यक्षेत्र बनाएको मैले मेरो कर्मभूमिमात्र बदलेको हुँ, जन्मभूमि हैन । म अमेरिकामा रहेरै पनि नेपाली पत्रकारिता नै गरिरहेको छु । यद्यपि, यहाँको परिस्थितिले पूर्णकालीन व्यावसायिक पत्रकारिता गर्ने छुट दिएको छैन ।

हुन त यदाकदा अमेरिका गएपछि नेपाललाई बिर्सन्छन् भन्ने आरोप पनि सुन्ने गरिन्छ । अपवादमा कोही त्यस्ता होलान् पनि । तर, म त्यो अपवादमा पर्दिनँ । मलाई लाग्छ, एक सामान्य मान्छेले आमाबुबा अनि जन्मभूमिलाई कदापि बिर्सन सक्दैन ।

सम्माननीय प्रधानमन्त्रीज्यू,

यतिबेला संसारभर कोरोनाको महामारी चलेको छ । विश्वको एक मात्र महाशक्ति अमेरिकाका लागिसमेत कोरोना कहर भारी पर्दै गएको छ । मुलुकभर राष्ट्रिय संकट लगाएर सारा शक्तिले भिड्दा पनि दिनहुँ मृतकको संख्या बढ्दो छ । संक्रमितको संख्या चुलिँदो छ ।

अमेरिकी जनजीवन अस्तव्यस्त छ । एक किसिमको हाहाकार नै छ भने पनि हुन्छ । अमेरिकी जीवनका आर्थिक, राजनीतिक, सामाजिक सबै सूचांकहरू ओरालो लागिरहेका छन् । म बसेको राज्य टेक्सास पनि कोरोनाको कहरमा छ । हरेक दिन संक्रमितको संख्या बढ्दो छ भने मृतकको संख्याले पनि खाता खोलिसकेको छ ।

सुरूमा चीनको वुहानमा यो देखिँदा अमेरिकाजस्तो देशमा के आउला र ?, आइहाले पनि एकैछिनमा अमेरिकाले ठीक पारिहाल्छ नि भन्नेमा म ढुक्क थिएँ । धेरैको सोचाइ मेरोजस्तै थियो । अमेरिकी राष्ट्रपतिले पनि यसलाई चीनको आन्तरिक समस्याका रूपमा बुझेको जस्तो देखिएको थियो । तर, आजको अवस्था सोेचेभन्दा नितान्त फरक छ । संसारकै बिकसित र एकमात्र महाशक्ति राष्ट्रले पनि कोरोनासामु निकै ठूलो लडाइँ लडेको देखिन्छ । उसले एकपछि अर्को गरेर गरेका हरेक प्रयास अझै सफल हुन सकेका छैनन् ।

हामीजस्ता सामान्य काम गर्ने सबैको दिनचर्या फेरिएको छ । आज के हुने हो या कसरी संक्रमणबाट आफु जोगिने र परिवारलाई जोगाउने होला भनेर सबैको मनमा चिन्ता छ ।

यता, कर्मभूमिमा आफ्नो अवस्था यस्तो भए पनि मन भने जन्मभूमिमै पुगिरहेको हुन्छ । आज हरेकका हातमा स्मार्टफोन छ र यसमा सूचनाको अथाह स्रोत छ । यही हातमा रहेको स्मार्टफोनमा मेरो जन्मभूमि नेपालको सूचना मिनियचर पनि लुकेको छ ।

हरेक दिन बिहान ओछ्यानमा बिउँझनासाथ डराउंदै नेपालकै समाचार खोल्छु अनि प्राथना गर्छु, हे भगवान, नेपालमा यसको नजर नपरोस् भनेर । संसारकै एकमात्र महाशक्ति राष्ट्र अमेरिकालाई त कोरोनाले त्राहिमाम पारिरहेको छ भने जन्मभूमि नेपालमा यस्तो समस्या आइहाल्यो भने कसरी सम्हाल्न सकिने होला ? मनमा यही प्रश्नले घर जमाइरहेको छ ।

सम्माननीय प्रधानमन्त्रीज्यू,

यही पृष्ठभूमिमा कोरोनाले कहर मच्चाएको कर्मभूमिको अनुभवलाई समेत ध्यानमा राखेर जन्मभूमिको सुरक्षार्थ आफूलाई लागेका उपायहरूको प्रेस्कृप्सन सादर सम्प्रेषण गरेको छु । आशा एवं विश्वास छ, यसलाई गम्भीरताका साथ लिएर यथाशम्भव लागु गर्नुहुनेछ ।

उपप्रधानमन्त्री नेतृत्वको समितिलाई अझै शक्तिशाली बनाऊँ

कोरोनाले नेपाललाई असर गर्न नसक्दै नेपाल सरकारले उपप्रधानमन्त्री ईश्वर पोखरेल ज्यूको नेतृत्वमा यस सम्बन्धी समिति बनाएर काम गरेको देख्दा केही राहत भएको देखिन्छ । जसरी अमेरिकामा उपराष्ट्रपतिको नेतृत्वमा बनेको यस्तै खालको संयन्त्रले राष्ट्रपतिको प्रत्यक्ष निगरानीमा राज्यका सबै शक्तीहरु परिचालन गरेको छ नेपालमा पनि यो समितिले अझै धेरै द्रुत गतिमा काम गर्नुपर्ने देखिन्छ ।

यतिबेला राज्यको सबै शक्ति कोरोनालाई आउनै नदिने र आईहालेमा के गर्ने भनेर मात्र ध्यान केन्द्रित गर्न आवश्यक छ । अनि यो समितिले गरेका सबै कामको हरेक दिन जनतालाई अपडेट दिन पनि आवश्यक छ । त्यसो गर्दा जनताले हामीलाई राज्यले हेरिरहेको छ र हाम्रा लागि लडिरहेको छ है भन्ने धेरै हिम्मत प्राप्त हुदोरहेछ ।

जनचेतना फैलाऔं

अहिलेको समय नेपालमा कोरोना भाइरस आइपुगेको छैन, केही हुँदैन भनेर बस्ने समय पटक्कै होइन । यो समय कोरोना भाइरस कुनै पनि बेला आउन सक्छ भनेर त्यसलाई आउनै नदिन सम्पूर्ण शक्ति लगाएर सबैखाले तयारी गर्ने बेला हो । मलाई लाग्छ, अझै पनि नेपालमा यो रोगका लक्षण र सर्ने तरिका अनि बच्ने उपायका बारेमा धेरैलाई थाहा छैन। सरकारले तत्कालै सबैखाले मिडिया आउटलेटमार्फत यसका बारेमा देशव्यापी जनचेतना फैलाउन आवश्यक छ । गाउँ गाउँमा पुगेका एफएम अनि मोबाइलबाट सबैलाई सूचनामूलक सन्देश दिन सक्यांै भने पनि यो रोग फैलनमा धेरै रोकथाम हुने छ ।

जनचेतना आम नागरिकमा मात्र नभई चेकजाँच गर्ने तल्लो तहका स्वास्थ्य सेवकदेखि सबैलाई यसको बारेमा बिशेष ज्ञान हुन आवश्यक छ । यसको आधारभूत ज्ञानको अभावमा स्वास्थ्यकर्मी नै ग्रसित हुने डर प्रशस्तै हुन्छ । अन्य रोगका बिरामी र कोरोनाको शंका लागेका बिरामी एउटै अस्पतालमा जाने र त्यही लाइनमा अन्य बिरामी सरह देखाउने हुन लाग्यो भने झनै महामारी फैलिने सम्भावना रहन्छ ।

बिरामीलाई कोरानाको शंका लागे कुन अस्पताल जाने या कुन नम्बरमा फोन गर्ने थाहा हुनुपर्छ। सिमानाकामा शंका लागेका बिरामीलाई बसमा चढेर अस्पताल जाउ भन्ने हैन, उनीहरूलाई सरकारले नै सुरक्षित रुपमा अस्पताल लैजाने ब्यवस्था गर्नुपर्छ ।

चीनबाट तत्काल राहत मागौं

हाम्रो छिमेकी मित्रराष्ट्र चीनबाट शुरु भएको यो महामारी उसले लगभग नियन्त्रणमा लिइसकेको छ । हामी सिमाना जोडिएको एक असल छिमेकी मुलुक भएकोले चीनबाट तत्काल डाक्टर र चेकजाँच गर्ने यन्त्र सहयोग माग्नु वाञ्छनीय हुन्छ । यसका लागि पर्खन जरूरी नै छैन । आजै सहयोग मागेर चेकजाँच गर्न चाहने सबैलाई यो अवसर दिइयो भने यसले एकातिर भोलिका लाग भीड कम हुन्छ भने अर्काेतिर यसले जनतामा एक किसिमको सकारात्मक सन्देश दिन्छ। चिनिया डक्टर र स्वास्थ्यकर्मीबाट नेपाली डक्टर र स्वास्थ्यकर्मीलाई तालिम आवश्यक पर्छ भने त्यो पनि यही समयमा लिन सकिन्छ । त्यसले गर्दा कोरोना भाइरसकै उपचारका लागि दक्ष जनशक्ति पनि हामीसँग तयार हुन्छ । यसो गर्न सकियो भने हामीसँग उपकरण र जनशक्ति दुबै हुन्छ, जसले गर्दा हामी भोलि जतिसुकै आपत आइलाग्यो भने पनि त्यसका विरूद्ध जाइलाग्न सक्छौं । तत्काल नेपालका सातै प्रदेशमा सहजरुपमा चाहेजति जाँच गर्न सक्ने संयन्त्रको विकास गर्न आवश्यक छ ।

सीमानाका र उडान बन्द गरौं

नेपाल सानो देश हो । सरकारले चाहेमा सजिलै सबै सिमानाका र उडान तुरून्तै बन्द गर्न सक्छ । हामीले धेरै पहिला नै आज गरे जस्तो उडान बन्द गर्नुपर्ने थियो तर अझै पनि भारत र चीनबाट विषेश जाँच गरेर सामान मात्र ल्याउने मानिस आवागमन बन्द गर्न आवश्यक छ । जसरी अमेरिका र क्यानडाले पनि यो काम गरिरहेका छन् ।

सार्वजानिक यातायातमा विशेषा सफाइ गरौं 

नेपालका धेरै ब्यक्ति सहरमा जम्मा हुने भनेकै अध्ययनले गर्दा हो जुन कुरा सरकारले स्कुल र क्याम्पस बन्द गर्ने निर्णय निकै सराहनीय छ । तर, स्कुल क्याम्पसपछि धेरै मानिसको आवागमन हुने भनेको सार्वजानिक यातायात हुन् त्यसैले करिब १ महिना अत्यावश्यक काम गर्ने बाहेकका कार्यालयहरु पनि बन्द गर्ने र बसहरुमा हरेकपटक यात्रु झरे पश्चात किटाणुनाशकबाट विषेश सफाइ गर्न आवश्यक छ । किनकि यो किटाणु बसका ढोका र सिटहरुमा लामो समय रहन सक्छ ।

सेनाको नेतृत्वमा विदेश जान नपाएका युवालाई अस्पताल निर्माणमा लगाऔं

यतिबेला धेरै देशले बैदेशिक काममा लैजान छोडेको छ, सरकारले पनि श्रम स्वीकृति दिन रोकेको छ । यस्तो अवस्थामा केही हजार पैसा कमाउने सपना बोकेका युवाहरु गाउँमा चितिन्त अवस्थामा छन् । नेपाली सेनाको नेतृत्वमा उनीहरूलाई परिचालन गरेर आपतकालीन अस्पताल निर्माण गरौं । जसबाट एकातिर उनीहरूले रोजगार पाउनेछन् भने अर्काेतिर राष्ट्रले भौतिक पूर्वाधार पनि पाउनेछ ।

यस्ता अस्पतालमा कोरोनाबाट संक्रिमत बिरामी मात्र उपाचार गर्ने वा बढी भएमा उनीहरूलाई सामुहिकरूपमा आइसोेलेसनमा राख्न सकिनेछ । यदि कोरोना नेपालमा प्रवेश नै गर्न सकेन भने आगामी दिनमा यस्तो भौतिक पूर्वाधारलाई सरकारले अरू प्रयोजनका लागि उपयोग गर्न सक्नेछ।

जनतालाई आश्वस्त पारौं

सम्माननीय प्रधानमन्त्रीज्यू, यहाँलाई राम्रोसँग थाहा छ हरेक रोगलाई जित्न होस् या कुनै पनि समस्यासँग जुध्न, पहिला त आत्मबल नै बलियो हुनुपर्छ । संसारभर आतंक मच्याएको कोरोना भाइरस नेपालमा आउन नसकेकोमा सबै नेपाली हर्षित छन् । तर, आयो भने पनि यसलाई नियन्त्रण गर्न सरकार कति सक्षम होला त भनेर सबैजना उत्तिकै चिन्तित पनि छन् ।

त्यसैले, सरकारले यही समस्यासँग जुध्न गरेका काम र तयारी अनि चेतनाका बारेमा जानकारी दिन हरेक दिन नभए हप्तामा एकपटक भए पनि पत्रकार सम्मेलन गर्नुपर्छ । सरकारले जानकारी दिने क्रममा हामीसँग खानका लागि भारतबाट ग्यास अनि खाद्यपर्दाथ प्रशस्त आउँछन् । औषधी उपचार र चेक गर्ने साधन सातै प्रदेशमा पुग्ने गरी चीनबाट अनुभवी डाक्टर नेपालमा आएका छन् भन्ने सन्देश देशभर सबैमा दिन सकियो भने मात्र पनि धेरैको आत्मबल बढ्नेछ र यो रोग नेपाल नभित्रिँदै अन्यत्रबाट बिलय हुनेछ ।

डाक्टर, नर्स, सेना र प्रहरीको आत्मबल अझै बलियो पारौं

हरेक आपत विपत पर्दा सेना, प्रहरी, अनि डाक्टर नर्सहरु चौबिसै घण्टा तयार हुनुपर्ने पेशा हो । सरकारले केही दिन पहिला कोरोनासँग लड्ने स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ताको घोषणा गर्नु निकै राम्रो काम हो तर अझै पनि यो रोग लागेका बिरामीलाई जाँच गर्दा लगाउने अत्यावश्यक लुगा नपाएर र ठुला देशहरु समस्यामा छन् त्यसैले कतिपय देशका डाक्टर नर्सहरु नै जागिर छाड्न लागेका छन् । हामीले नेपामा सेवा अनि साधन र श्रोतले यस रोगसंग लड्ने फौज विषेशरुपमा तयारी पार्नु अत्यावश्यक छ ।

अन्त्यमा, सम्माननीय प्रधानमन्त्रीज्यू,

यसो गर्न सकियो भने कोरोना प्रभावित देशलाई कर्मभूमि बनाएर जन्मभूमिका लागि धेरै चिन्ता गर्ने मजस्ता धेरै नेपालीको मन शान्त त हुनेछ नै, नेपाली जनतामा उपचारको प्रत्याभूति पनि मिल्नेछ । यसबाट सरकार त सफल हुने नै छ, मुलुक र मुलुकबासीले पनि कोरोनाको कहर भोग्नुपर्ने छैन ।

तपाईलाई शीघ्र स्वास्थ्यलाभ होस् अनि समृद्ध नेपाल र सुखी नेपालीको तपाईको सपना साकार होस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सारीमा आँचल

Advertisment