Comments Add Comment

गौरीफन्टा नाकामा रोकिएका नेपाली प्रदर्शनमा उत्रिए

फाइल फोटो

११ चैत, धनगढी । कैलालीको गौरीफन्टा नाकामा रोकिएका नेपालीहरुले सरकारविरुद्ध प्रदर्शन गरेका छन् । भारतबाट आएका नेपालीहरु नेपाली भूमिमा प्रवेश गर्न खोज्दै छन् भने प्रहरीले रोक्ने प्रयास गरिरहेको छ । जसका कारण गौरीफन्टा क्षेत्रमा केही तनावको स्थिति सिर्जना भएको छ ।

लकडाउनसँगै सीमा नाका बन्द गरेपछि भारतबाट नेपाल आउन लागेका सयौं नेपालीहरु सीमा नाकामा अलपत्र परेका छन् । उनीहरुले संकटको बेलामा पनि आफ्नो देशमा फर्किन नदिएको भन्दै आक्रोश पोखेका छन् ।

प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोराले सीमा क्षेत्रमा अलपत्र परेका नेपालीहरुलाई के गर्ने भन्नेबारेमा गृह मन्त्रालयको निर्देशन कुरिरहेको जानकारी दिए ।

सरकारले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय सिमानाबाट आउ–जाउ गर्न रोक लगाएको छ । अन्तर्राष्ट्रिय उडानहरु पनि बन्द गरिएको छ । मंगलबार बिहानदेखि १८ गतेसम्म मानिसहरुलाई घर बाहिर निस्किनसमेत नदिने गरी लकडाउन गरिएको छ । गृह मन्त्रालयले लकडाउन पूर्णरुपमा कार्यान्वयन गराउन मातहतका निकायलाई निर्देशनसमेत दिएको छ ।

यसअघि लकडाउन नगर्दासम्म सीमा नाकाबाट आउ–जाउ गर्न स्थानीय प्रशासनले दिएको थियो । १७ दिनको अवधिमा सुदूरपश्चिमका दुई नाका (कञ्चनपुरको गड्डाचौकी र कैलालीको गौरीफन्टा)बाट मात्रै ९५ हजार मानिस नेपाल भित्रिएका थिए ।

भारतमा कोरोना संक्रमण फैलिँदै गएको बेला रोजगारीको सिलसिलामा भारतमा रहेका नेपालीहरु अत्यधिक संख्यामा गाउँघर फर्किँदा नेपाल पनि कोरोनाको उच्च जोखिममा परेको छ । यद्यपि मंगलबारसम्म एक जना नेपालीमा मात्र कोरोना संक्रमण पुष्टि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment