Comments Add Comment

सरकारले घरबेटीलाई भन्यो-अत्यावश्यक सेवाका श्रमिकलाई नरोक्नू

१३ चैत, काठमाडौं । आपूर्ति मन्त्रालयले अत्यावश्यकीय वस्तु तथा सेवाको उत्पादन, ढुवानी तथा बिक्रीवितरणमा संलग्न श्रमिकहरुलाई काममा जानबाट नरोक्न सम्बद्ध परिवार तथा घरबेटीहरुलाई आग्रह गरेको छ ।

कतिपय घरधनीहरुले आफ्नो घरमा बहालमा बस्ने श्रमिकलाई घरबाहिर ननिस्कन दवाव दिएको र कतिपयले आफ्नो परिवारका सदस्यलाई काममा जानबाट रोकेको जस्ता गुनासाहरु आएको भन्दै मन्त्रालयले नरोक्न आग्रह गरेको हो ।

कतिपय त्यस्ता सेवामा काम गरिरहेकाहरु घरमै बस्न चाहेको भन्दै मन्त्रालयले सम्बन्धित उद्योग व्यवसायहरुलाई त्यसमा संलग्न हुने जनशक्तिको स्वास्थ्य लागि तोकिएको मापदण्ड बमोजिमका पर्याप्त सुरक्षा उपायहरु अवलम्बन गरेर मात्र काममा लगाउन स्पष्ट निर्देशन दिएको बताएको छ ।

‘श्रमिक तथा अन्य जो कोही जनशक्तिले संकटको यस घडीमा आफ्नो सुरक्षाको समेत ख्याल गर्दै पेशागत जिम्मेवारी, नैतिकता र इमानदारिताको पूर्ण पालना गर्नु पर्ने हुन्छ,’ मन्त्रालयले भनेको छ,’त्यसैले मन्त्रालय सम्बद्ध सबैलाई सचेतना, सजगता र पूर्ण सुरक्षा सहित आफू, आम उपभोक्ता र मलक सबैको संरक्षणका लागि जिम्मेवार भई सरकारलाई सहयोग गर्न हार्दिक अपिल गर्दछ ।’

सरकारले संचालनमा रहने उद्योग, ढुवानीकर्ता र बिक्रेताहरुलाई आˆना कामदारहरुलाई निश्चित सवारी साधनमार्फत ल्याउने, पुर्‍याउने, कार्यस्थलमा प्रवेश गर्नुपूर्व र कार्यालय भित्र समय समयमा साबुन पानीले हात धुने, सेनिटाइजरको प्रयोग गर्ने, मास्क तथा पञ्जा लगाउने, निर्धारित न्यूनतम दूरी कायम गरी काम गर्ने, न्यूनतम जनशक्तिबाट काम गराई आलोपालोमा बोलाउने, सेवाग्राहीको भीड हुन नदिन आवश्यक प्रबन्ध मिलाउने जस्ता व्यवस्थाहरु अनिवार्य रुपमा गर्नु पर्ने नियम बनाएको छ । तोकिएअनुसार भए नभएको सम्बन्धमा नियमित अनुगमन गरिने मन्त्रालयका प्रवक्ता प्रकाश दाहालले जानकारी दिए ।

अब अत्यावश्यक खाद्य वस्तुका सबै स्टोर एवम् विक्रेताहरुले आम उपभोक्तालाई मोबाइल भ्यान मार्फत होम डेलिभरी गर्ने व्यवस्था मिलाउनु पर्ने भएको छ ।

माग संकलन र वस्तु वितरण गर्ने कार्यलाई सहज एवम् व्यवस्थित गर्नको लागि बिक्रेताहरुले आ-आफ्नो टोल पि|m नम्बर वा अन्य नम्बर उपलब्ध गराई प्रचार प्रसार गर्ने व्यवस्था मिलाउनु पर्ने निर्देशनमा भनिएको छ ।

टेलिफोन, अनलाइन वा अफलाइनमार्फत माग संकलन गरी माग भएका आवश्यक न्यूनतम दैनिक उपभोग्य वस्तुहरुको कम्बो प्याक समेत बनाई बिक्री वितरण गर्ने सकिने व्यवस्था गरिनेछ । यसमा स्थानीय तहहरुले वडास्तरीय जनप्रतिनिधिहरुलाई परिचालन गरी आवश्यक सहयोग र सहजीकरण गर्ने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ ।

विदेशी कुटनीतिक नियोगहरु, अपार्टमेन्ट तथा व्यवसायिक आवासीय क्षेत्रहरु, आवासीय श्रमिक भएका उद्योगहरु लगायतमा अत्यावश्यकीय वस्तुको सहज आपूर्तिका लागि त्यस्ता वस्तु विक्रेताहरुले निश्चित अवधिको लागि माग संकलन गरी साप्ताहिक रुपमा एकैपटक ढुवानी दिने व्यवस्था मिलाउन सक्ने व्यवस्था मिलाइएको छ ।

अत्यावश्यक वस्तु तथा सेवाको उत्पादन, ढूवानी र बिक्री वितरणका लागि कच्चा पदार्थ ढुवानी, श्रमिकको आवतजावत र वस्तु ढुवानी गर्न आवश्यक पर्ने सवारी साधन तथा डेलिभरी भ्यानका लागि गृह मन्त्रालयले सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुमार्फत पास उपलब्ध गराउने व्यवस्था मिलाएको मन्त्रालयले जनाएको छ । पसलहरु सञ्चालन, माग संकलन र वितरण गर्ने कार्यमा आवश्यक पर्ने सुरक्षा प्रबन्ध गृह मन्त्रालयले स्थानीय प्रशासन मार्फत मिलाएको प्रवक्ता दाहालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment