+
+
Shares

कोभिड-१९ को टेस्ट नबढाए अमेरिकाकै हालतमा पुग्ने जोखिम

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १६ गते १७:०५

१५ चैत, काठमाडौं । चीनबाट फर्केका एक नेपाली विद्यार्थीमा कोरोना (कोभिड–१९) भाइरसको संक्रमण देखिएको नौ हप्ता भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को हङकङस्थित कोलाबोरेटिङ सेन्टरले गत ९ माघमा ती विद्यार्थीमा कोरोना संक्रमण पुष्टि गरेको थियो । अहिले ती विद्यार्थीले स्वास्थ्य लाभ गरिसकेका छन् ।

त्यसयताको नौ हप्तामा विश्वको स्वास्थ्य स्थितमा निकै ठूलो उथलपुथल भइरहेको छ । जतिबेला नेपालमा पहिलो कोरोना संक्रमित भेटिएको थियो, त्यतिबेला कोरोनाले संसारभरी जम्मा २५ जनाको कोरोनाका कारण ज्यान गएको थियो ।

पछिल्लो दुई महिनामा २५ बाट मृतक संख्या २८ हजार नाघेको छ । विगत दश दिनमा मात्रै २० हजारको ज्यान गइसकेको छ ।

नेपालमा पहिलो संक्रमित भेटिएका बेलामा संसारभरी कोरोना संक्रमितको संख्या एक हजारभन्दा पनि कम थियो । अहिले संक्रमित संख्या ६ लाखभन्दा बढी भइसकेको छ ।

कोरोना पुगेका दुई सय देशमध्ये सबैभन्दा बढी संक्रमित अमेरिकामा छन् । त्यहाँ एक लाख पाँच हजारमा संक्रमण देखिएको छ । जसमध्ये एक लाखमा अझै संक्रमण बाँकी छ ।

दोस्रो बढी संक्रमित इटलीमा ८७ हजार पुगेको छ । अमेरिका र इटलीको संक्रमित संख्या चीनकोभन्दा बढी हो । कुल ८१ हजार तीन सय ९४ लाई कोरोना संक्रमण भएकोमा अधिकांश निको भएर घर फर्किसके । अहिले जम्मा दुई हजार सात सय ९१ संक्रमित मात्र उपचाररत छन् ।

टेस्टलाई जोड नदिँदा

इटलीमा मृतक संख्या चीनमाभन्दा तीन गुणा बढी पुगेको छ । स्पेनमा पनि चीनमाभन्दा बढी मृतक पुगिसकेका छन् ।

अमेरिका, इटली, स्पेन र इरान जस्ता देशमा एकैचोटी धेरै संक्रमित देखिनुको कारण सुरुमा टेस्टलाई महत्व नदिनु हो । डा. ओममुर्ति अनिल भन्छन्, ‘जुन देशले सुरुमै बढीभन्दा बढी परीक्षणमा जोड दियो ती देशमा चाँडो नियन्त्रण भएको देखिन्छ ।’

चीनपछि रफ्तारमा कोरोना संक्रमण बढेको देश हो, दक्षिण कोरिया । कुल संक्रमित दश हजार नपुग्दै दक्षिण कोरिया नियन्त्रणतर्फ गएको देखिन्छ ।

९ हजार ४ सय ७८ संक्रमितमध्ये आधाभन्दा बढीलाई निको बनाइसकेको छ । एक सय ४४ जनाले ज्यान गुमाएको कोरियामा ४ हजार ८ सय ११ बिरामी सन्चो भएर घर फर्किसकेका छन् । ४ हजार ५ सय २३ जनामा कोरोना संक्रमण देखिएकोमा जम्मा ५९ बिरामी मात्रै गम्भीर छन् ।

‘कोरोना शंकास्पदलाई बेलैमा टेस्ट नगराएको भए दक्षिण कोरिया पनि अमेरिका र इटलीसँग प्रतिस्पर्धा गरिरहेको हुन्थ्यो’ इपिडियमिलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व महानिर्देशक डा. बाबुराम मरासिनी भन्छन् ।

कहाँ छ नेपाल

हुनपनि दक्षिण कोरियाले प्रतिदश लाखमा छ हजार नौ सय ३१ जनाको कोरोना टेस्ट गरेको छ । कोरोना रोकथामको एउटा बलियो उपाय टेस्ट नै हो भन्ने कोरियाको अनुभवले देखाउँछ ।

त्यसपछि भने अन्यदेशले पनि टेस्टमा जोड दिन थालेका छन् । पछिल्लो तथ्यांक अनुसार प्रति दशलाखमा इटालीले पाँच हजार दुई सय ६८, बेलायतले एक हजार चार सय ६९, अमेरिकाले एक हजार दुई सय ८० जनाको कोरोना टेस्ट गरेको छ ।

नेपालको भने मुस्किलले प्रतिदश लाखमा २३ को टेस्ट भएको देखिन्छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आठ सय ७५ वटाको नमुना परीक्षण गरेको छ । चीनको वुहानबाट फर्केका एक सय ७५ जनाको दुई पटक परीक्षण भएको थियो । नमुना आठ सय ७५ भएपनि सात सय जनाको मात्रै टेस्ट भएको हो ।

यति सानो संख्यामा टेस्ट गर्दा तीन पुरुष र दुई महिलामा कोरोना पुष्टि भएको छ । दक्षिण कोरियाले जस्तो प्रतिदश लाखमा ७ हजारको टेस्ट गर्ने हो भने नेपालमा पनि संक्रमितको संख्या नबढ्ला बन्न सकिँदैन ।

गाउँ–गाउँबाट नमुना संकलन गरौं

सरुवा रोग नियन्त्रणमा लामो समय काम गरेका डा. बाबुराम मरासिनी ७७ वटै जिल्ला अस्पतालबाट नमुना संकलन गर्नुपर्ने सुझाव दिन्छन् । अधिक ज्वरो र रुघाखोकीका बिरामीलाई निगरानी राख्नुपर्ने उनको भनाइ छ ।

‘अब सेलेक्टेड बिरामीको मात्रै टेस्ट गरेर पुग्दैन’ डा. मरासिनी भन्छन्, ‘गाउँ–गाउँमा पुगेर नमुना संकलन नगर्ने हो भने वास्तविक अवस्था पत्ता लाग्दैन ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा भने धरान, हेटांैडा पोखरा, नेपालगञ्जमा नमुना परीक्षणको प्रयास भइरहेको बताउँछन् । कोरोनाको टेस्ट रगत परिक्षण जस्तो सजिलो नभएपनि सरकारले धेरैभन्दा धेरै जनाको टेस्ट गर्ने योजना बनाइरहेको उनको भनाई छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अधिकारीहरू भने डब्लुएचओले महामारी घोषणा गरेको कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि तयारी अपर्याप्त रहेको बताउँछन् । नाम उल्लेख गर्न नचाहने ती अधिकारी भन्छन्, ‘माथिल्लो निकायले अझैपनि कोरोनालाई हल्का रुपमा लिए जस्तो लाग्छ ।’

जिम्मा निकायले गम्भीरतापूर्वक लिने हो भने तीन करोड जनसंख्या भएको देशमा यसको नियन्त्रण असम्भव होइन । ‘तर महामारीलाई खेलाँची ठानेर अमेरिका र इटलीको अवस्था आउन दिनुहुँदैन’ डा. मरासिनी भन्छन्, ‘फेरि भन्न चाहन्छु, अझैदेखि धेरैभन्दा धेरैको टेस्ट गरौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?