Comments Add Comment

एक थिए कमले

सग्लो नाम, कमल । पुरक नाम, कमल विश्वकर्मा ।

हामीले उनको सद्दे नामलाई अंगभंग गरिदिएका थियौं । अर्थात कमलको अन्तिम अक्षरमा एउटा एकर झुड्याइदिएका थियौं, कमले ।

हाम्रो बालसखा, कमले । एउटै आँगनमा खेलिन्थ्यो । उही हावामा सास फेरिन्थ्यो । उही माटोमा उभिन्थ्यौं ।

तर, उनलाई हाम्रा घरभित्र प्रवेश निषेध थियो । उनले छोएको खान बन्देज थियो । उनी आरनमा काम गर्थे । गाउँभरलाई चाहिने हसिया, कचिया, खुकुरी, चक्कु, कोदालो, बन्चरो बनाउँथे । घर–घरमा पु¥याउँथे । उनकै सीप र श्रमले तिखारिएको चक्कु हरेकको भान्सामा हुन्थ्यो । त्यसैले काटेर तरकारी पकाइन्थ्यो । तर, उनलाई भान्सासम्म पुग्न अनुमति थिएन । सबैको घरको मूलद्वार कमलेको लागि बन्द थियो ।

कतै हिँड्न लागेको बेला वा शुभ कार्य गरिरहँदा टुप्लुक्क कमले आइपुग्न सक्थे । यस्तो बेला मुर्मुरिदै गाली गरिन्थ्यो, ‘साला डांग्री ?’

आफ्ना दिदी–बहिनी वा घाउँघरका चेलीबेटीसँग झगडा हुँदा इख्याउनका लागि केही गर्नै नपर्ने । एउटै वाक्य काफी हुन्थ्यो, ‘ओइ कमलेको बुढी ।’

कमलेसँग नाम जोडेपछि जस्तोसुकै शान्त चेलीबेटीको पनि पारो तात्थ्यो । मुर्मुरिन्थे । झोकिन्थे । र, हातमा ढुंगा, हँसिया जे छ त्यसैको झटारो हान्थे । कमलेसँग नाम मात्र जोडिदिँदा कत्रो उत्पात ?

तर, कमले आफैमा कमालका थिए ।

कमलेको कमाल

हाम्रा लागि ऊ आविष्कारक थिए । इन्जिनियर थिए । डिजे थिए । डन्सर थिए । यतिमात्र भनौं, कमले जादुगर थिए ।

एकदिन हामी केटाकेटीमाझ कसैले ब्रेकिङ न्युज सुनायो, ‘कमलेले क्या दामी गाडी बनाएको छ ।’ सञ्जिवले दार्जिलिङबाट ल्याएको बज्दै उफ्रिने भ्यागुता हेरेर जिल खाएका हामीलाई ‘कमलेको गाडी’ हेर्न कम्ता हतार भएन । दौडदै आरनमा पुग्यौं । घर अघिल्तिरको बाटोमा ऊ आफ्नो काठको सानो गाडी देखाएर दुई÷चार भुराभुरीलाई चकित बनाइरहेका रहेछन् ।

यादाकदा हाम्रो गाउँतिर आइपुग्ने ठूलो ट्रक दुरुस्तै । बजियाले खिप्न पनि कसरी खिपेका ? ट्रली, चक्का सबै काइदाको । स्टेयरिङ चाहि पछिल्तिर बनाएका, जहाँ हातले सजिलै चलाउन मिल्ने । स्टेयरिङ बटार्दा अगाडि टायार दायाँ–बायाँ घुम्ने ।

हामीसँग बजारको खेलौना नहुने । कमलेको ट्रक हेरेर कति थुक निल्यौं होला ? फकाएर माग्ने प्रयास गरिएन कि, चोर्ने दाउ रचिएन कि ? तर, काग भन्दा कोइली बाठो । कमलेले हामीलाई त थाङ्नामा सुताइदिन्थे ।

ऊ बेलामौकामा गाउँबाट अलाप हुन्थे । फर्कदा तराई (झापा) पुगेर आएको बताउँथे । उनको कुरालाई पत्याउने आधार हुन्थ्यो, हिन्दी सिनेमाको अडियो क्यासेट । फूल और काँटे, दिल, दिवाना, बाजिगर, मोहरा, राजा, मै खिलाडी तु अनाडी जस्ता सिनेमाका क्यासेट कोठाभरी हराभरा बनाउँथे ।

भएभरका थोत्रो सेल व्याट्री बटुलेर बाँसको ढुंग्रेभित्र खाँदेका थिए । कोठाभित्र क्यासेट प्लेयर राख्थे । बाहिर बार्दलीमा माइक । गाउँ नै गुल्जार हुनेगरी दिनभर घन्कन्थ्यो, ‘चुरा के दिल मेरा गोरीया चली ।’

मिथुन उर्फ कमले

हुलियाले पनि बजियालाई साथ दिएको थियो । करिब पाँच फिट ८ इन्च अग्ला, छरितो ज्यान, केही लामो र कर्ली कपाल । कसो–कसो गरेर हेर्दा मिथुन चक्रवती जस्तै ।

हामी फुर्क्याउँथ्यौं, ‘तँ त ठ्याक्कै मिथुन जस्तै ।’

‘हो र ?’ भन्दै ऊ गमक्क परेर मुस्कुराउँथ्यो ।

कमलेसँग लुगा किन्ने पैसा हुँदैनथ्यो । तर, भएको लुगालाई रिमेक गरेर लगाउथे । स्टिकर टाँसेर हुन्छ वा रंग दलेर, ‘युनिक’ बनाउँथे । अक्सर जिन्स वा लेदरको ज्याकेट लगाउँथे । आफुलाई फेसनेवल ठान्थे । कहिले कपाललाई ‘आशिकी कट’ बनाएको गफ हाक्थे, कहिले आफ्नो ज्याकेट शाहरुख खानको जस्तै भएको धाक लगाउँथे । जे भनेपनि उनको आज्ञाकारी श्रोता र दर्शक थियौं हामी ।

गाउँम बिहे त के बच्चाको न्वरान वा भात ख्वाई (अन्नप्राशन्न) छ भने पनि नाचगानका लागि तयार भैहाल्ने ।

जहाँ–जहाँ बिहे–कार्जे छ, त्यहीँ अडियो क्यासेट बोकेर पुग्थे । धुलो उडाएर नाच्थे । जे होस्, उसले आफुँलाई हिरो सम्झन्थे ।

तर हाम्रो प्रयास हुन्थ्यो कमलेलाई जोकर बनाउने ।

उमेर र पढाईको तालमेल नमिले पनि कमले विद्यालय भने धाउथ्यो । कक्षा तीन वा चारमा पढ्थ्यो । परीक्षमा उसले उटपट्याङ जवाफ लेख्यो भनी चलेको किस्सासँगै ऊ जोकर बने ।

सरहरु भन्थे, ‘पुलिसले के काम गर्छ भनी सोधेको प्रश्नमा कमलेले उत्तर लेखेको थियो, डन्ठा खेलाउने ।’

सरहरु भन्थे, ‘शहरमा के पाइन्छ भनी सोधेको प्रश्नमा कमलेले उत्तर लेखेको थियो, सय बोको कुम्लो मुटु तुर्लुङ ।’

‘शहरमा मट्टीतेल पाइन्छ लेख्न खोजेको नजानेर सय बोको कुम्लो मुटु तुर्लुङ’ लेख्यो भन्दै सरहरु अट्टहासका साथ हाँस्थे । यसरी हाँसोको पात्र बन्नु परेर होला उसले पढाईलाई पूर्णबिराम लगाइदियो ।

कमले लेखपढमा कमजोर नै थिए । तर, उनको सीप गजब थियो ।

कमलेको पेस्तोल

उसको पूख्र्यौंली पेशा आरन । उनका बुवा आरन तान्थे । कमले घन हान्थे । खुकुरी, बन्चरो, कोदालो, कचिया, हसिया, छुरा उसकै आरनमा बन्थ्यो । गाडीको स्प्रीङ पाता आगोमा रापिलो बनाएर शनासोले च्याप्थ्यो, घन चलाउँथ्यो । यसरी उनको हातबाट थरीथरीको हतियार तयार हुन्थ्यो ।

उसको चित्त बुझेको छ भने राम्रो फालामको हतियार बनाइदिन्थ्यो । धारिलो र बलियो । चित्त बुझेको छैन भने सानो हाँगा छिनाउँदा दुई टुक्रा हुने हतियार पनि बनाइदिन्थ्यो । फलामको गुण र हतियार बनाउने खास तौर–तरिका थियो कमलेसँग ।

कमले कतिसम्म सिपालु भने चिया पकाउने कित्ली, खसीको पक्कु पकाउने डेक्ची, पानी खाने जग, कराही छोप्ने ढक्कन सबै बनाउथे । अरु कुनैपनि आरनमा नबन्ने काइदा–काइदाका हतियार र भाँडावर्तन बनाउने खास सीप थियो उनीसँग ।

त्यसबेला गाउँभरका मान्छेलाई चिया काट्ने छुरा चाहिन्थ्यो । तर, कस्तो छुराले चिया कटिङ गर्ने ? थाहा थिएन । हसियामा धार लगाएर किसानहरुले काम चलाउँथे ।

चिया काट्नकै लागि भनेर कमलेले यस्तो छुरी बनाए,, जसले एउटै सतहमा चियाको बोट मिलाएर काट्न औधी सजिलो भइदियो । किसानले हिँडडुल गर्दा सजिलै बोक्न मिल्ने गरी उक्त चक्कु फोल्ड गर्न सकिने । लाहुरेहरुले यदाकदा बोक्ने ‘रेम्बो छुरा’ कै डिजाइन हेरेर उनले चिया काट्ने चक्कु तयार गरेका थिए ।

कमले भन्थे, ‘त्यस्तो मुला पेस्तोल त म पनि बनाइदिन्छु ।’

उसको गफ सुनेर हामी दंग पथ्र्यौं । आरनमा झुम्मिन्थ्यौं । एकातिर बार्दलीमा हिन्दी गीत घन्किरहेको हुन्थ्यो । अर्कोतिर आरनमा नयाँ–नयाँ आइटम बनिरहेको हुन्थ्यो । कमलेको गफ त बोनस नै भइगयो ।

उसले पेस्तोल त बनाएन । तर, बन्दुक भने बनायो । भरुवा बन्दुक । मृग, कालिच मार्न सकिने ।

कमलेको सायरी

‘चांदनी चांद से होती है, सितारो से नही । प्यार एक से होती है, हजारों से नही ।’

गाउँभरको हतियार बोकेर दैलो–दैलोमा पुग्थे । दुई÷चार पैसा उठाउथे । गाउँ चाहर्दै रक्सी पिउथे । अनि राजा हुन्थे ।

हल्का मातेर आँखा झिमझिम पार्दै आएपछि ऊ यसरी सायरी सुनाउन थाल्ने, हामी ट्वाल्ल परेर हेरेपछि ऊ फुरुक्क फुर्किन्थ्यो । अनि हिन्दी सिनेमाको डायलग फलाक्न थाल्थ्यो, जुन उसले रात–दिन सुनेर कण्ठ गरेको हुन्थ्यो । त्यसपछि ऊ नाच्ने मुडमा देखिन्थे । ‘आइ एम अ डिस्को डान्सर । जिन्दगी मेरा गाना, मै किसी का दिवाना । तो झुमों, तो नाचों ।’

वस्, त्यती त थियो उसको जिन्दगी । नाचों, झुमों ।

न कुनै आकंक्षा, न कुनै लक्ष्य । घर जग्गा जोड्ने, धन–सम्पति कमाउने, ऐश–आरम गर्ने कुरा कहिल्यै गरेनन् । गरे, स्वैरकाल्पनिक कुरा । कहिले संसार कब्जा गर्ने रोबोट बनाउने त, कहिले संसार ध्वस्त गर्ने बम बनाउने । कहिले श्रीदेवी र माधुरीहरुसँग बिहे गर्ने, कहिले डन बन्ने ।

भन्थ्यो, ‘बुझिस् केटा हो म डन बन्छु ।’

अब हामीलाई उसको कुरामा चाख त लाग्थ्यो तर विश्वास लाग्न छाडिसकेको थियो ।

सयथरी गोडा एकै चाल

‘ओई अगुल्टो दे त ।’ ढोकामा अडेसिएर कमले अर्डर गथ्र्यो । उसको ओंठमा कुखुरी चुरोट चेपिएको हुन्थ्यो ।

हामी भन्न थालेका थियौं, ‘मुला आफै लैजा ।’

ऊ गर्वसाथ हाम्रो चुल्होमा पुग्थ्यो र सानदार चुरोट सल्काउथ्यो । न कुनै विद्वानले उपदेश दिनुप¥यो, न कुनै एनजिओले अभियान छेड्नुप¥यो । न कसैले समानताको कुरा गर्नुप¥यो । न कसैले अधिकारको । समाजकै लय र गतिसँगै कमलेका लागि सबैको मुल ढोका खुला भयो ।

ऊ निसंकोच सबैको चुल्होसम्म पुग्थे । कसैको घरमा पाकेको भात खान्थे । आफ्नै घरमा मीठो–मसिनो पकाएर दौतरीलाई चखाउथे ।

सानो गाउँ । झुरुप्प बस्ती । राइ, लिम्बु, सुनुवार, सेर्पा, क्षेत्री, बाहुन, विश्वकर्मा, यादव, गुरुङ घुलमिल भएको । एउटै परिवार जस्तो । सबैको चुल्हो, सबैका लागि खुला ।

पछि माओवादी द्वन्द्व चर्कियो । त्यसपछि पो ‘अधिकार’ र ‘समानता’को रुखो नाराले समाजलाई विभाजित गर्न थाल्यो । कोही लहलहैमा लागे । कोही भड्किए । कोही तड्पिए । समाज छिन्नभिन्न भयो ।

न गाउँघरमा लुगाफाटो सिलाउने सीप रह्यो, न हात–हतियार बनाउने । ‘मेड इन चाइन’ लुगाले आङ ढाक्न त सकिन्थ्यो तर दिनहुँ घाँस–दाउरा गर्ने हात–हतियार कहाँबाट ल्याउने ? भुत्ते हतियारले काम गर्दा दिक्क भएपछि गाउँलेहरुले कमले सम्झिए । यस्तै सिपालु मान्छेलाई संरक्षण गर्नुपर्छ भन्ने बुझे । तर, यतिबेलासम्म कमलेको लय बिग्रिसकेको थियो ।

न आरन रह्यो, न जाँगर । बरु गाउँभर डुल्यो, मात्यो ।

कहाँ मासु काट्छ, कहाँ बिहे भोज हुन्छ । त्यही पुग्यो । रमझम ग¥यो ।

एकदिन अनायसै खबर फैलियो, ‘कमले त मरेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

कठैबरा करिष्मा !

Advertisment