+

एपीएफका खेलाडी ड्युटीमा फर्किए

२०७६ चैत  २० गते १४:४७ २०७६ चैत २० गते १४:४७
एपीएफका खेलाडी ड्युटीमा फर्किए

२० चैत, काठमाडौं । कोरोना संक्रमणको जोखिम र लकडाउनले गर्दा नेपाली खेलकुद अहिले ठप्प छ । त्यसैले नेपाली खेलकुदको एक महत्वपूर्ण अंगको रुपमा रहेको सशस्त्र प्रहरी बल (एपीएफ)का खेलाडीहरु ड्युटीमा खटिन थालेका छन् ।

एपीएफमा जागिरे खेलाडीहरु बुधबारदेखि ड्युटीमा फर्किएका हुन् । चैत १० देखि खेलाडीहरु छुट्टीमा बसेका थिए । चैत १८ गते छुट्टी सकिएपछि खेलाडीहरु ड्युटीमा फर्किएका हुन् । स्रोतका अनुसार गृह मन्त्रालयको आदेशमा अन्तर्राष्ट्रिय खेल खेलिसकेका खेलाडीहरु पनि राष्ट्र सेवाका लागि ड्युटीमा फर्किएका छन् ।

नेपाली महिला राष्ट्रिय टिमकी खेलाडी सावित्रा भण्डारी (साम्बा), नम्बर वान गोलकिपर एन्जिला तुम्बापो सुब्बादेखि अन्य विभिन्न खेलका खेलाडीहरु बुधबारदेखि हलचोकस्थित एपीएफको हेडक्वाटरमा छन् ।

उनीहरुलाई बिहान १० देखि ५ बजेसम्मको ड्युटीमा राखिएको छ । अहिले खेलाडीहरुलाई हेडक्वाटरमा स्ट्यान्डबाई राखिएको र एक दुई दिनपछि फिल्डमै खटाउने सम्भावना रहेको एक खेलाडीले बताए ।

अनिता कार्की

नेपालका लागि सर्वाधिक अन्तर्राष्ट्रिय गोल गरेकी सावित्रा भण्डारी (साम्बा)ले दुई हप्ता जति ड्युटी खटिनुपर्ने बताइन् ।

कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपालमा अहिले दोस्रो चरणको लकडाउन छ । नेपालमा एक हजारभन्दा बढीलाई परीक्षण गर्दा पाँच जनामा कोरोना पोजेटिभ देखिएको छ । जसमा एकजना निको भएर घर फर्किसकेका छन् । त्यही कोरोना भाइरसका कारण अहिले नेपाल लगायत संसारका धेरै देश लकडाउनमा हुँदा खेल क्षेत्र ठप्प छ ।

पहिलो चरणको लकडाउन चैत ११ देखि १८ गते बिहानसम्म थियो । स्थिति अनुकूल नरहेकाले सरकारले पुनः आठ दिनको लकडाउन अवधि थप गरेको हो । अब चैत २५ गतेसम्म देश लकडाउनमै रहनेछ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय