Comments Add Comment

आँखा रोग विशेषज्ञ भन्छन्, ‘लकडाउनमा मोबाइलको लत, आँखाको लागि जोखिम

अहिलेको पुस्ताको साझा प्रवृत्ति छ । मोबाइल बिना सुत्नै नसक्ने । ओछ्यानमा पल्टिएपछि मोबाइल चाहिन्छ । बिहान उठ्नसाथ पनि उनीहरुले मोबाइल खोज्छन् । यसरी सुत्दा–उठ्दा उनीहरुका लागि नभई नहुने भएको छ, मोबाइल ।

अहिले कोरोना भाइरसको संभावित जोखिमबाट बच्न सबैजना होम क्वारेन्टाइनमा छन् । कार्यलय धाउनु पर्दैन, विद्यालय जानु पर्दैन । बाहिर हिँडडुल वा घुमफिर गर्न पाइँदैन । मोबाइलमा लिप्त हुनेहरुका लागि अरु बाहाना के चाहियो ?

भनिन्छ, लकडाउनपछि इन्टरनेटको प्रयोग अत्याधिक बढेको छ । घर–घरमा मोबाइल, ल्यापटपमा झुन्डिने क्रम बाक्लिएको छ । कतिपय त चौबिसै घण्टा मोबाइल खेलाइरहेका छन् ।

सामान्य दिनमा भए त पढाई वा कामकाजले गर्दा मोबाइलको प्रयोग अनियन्त्रित हुँदैनथ्यो । तर, अहिले अभिभावक स्वयम् मोबाइलमा व्यस्त छन् । छोराछोरीका लागि बाँदरलाई भ¥याङ भएको छ । दिन कटाउनका लागि भन्दै मोबाइल, ल्यापटप, टिभीमा झुन्डिने यो प्रवृत्ति क्रमस लतको रुपमा विकास हुन सक्ने जोखिम छ । भोलिका दिनमा उनीहरुलाई मोबाइलबाट छुटाउन निकै हम्मे पर्ने देखिएको छ ।

घरमा बस्दा बालबालिका चकचक गर्ने, खानेकुरा मागिरहने, झगडा गर्ने गर्छन् । अतः उनीहरुलाई शान्त बनाउनका लागि पनि कतिपय अभिभावकले मोवाइल दिने गरेको पाइन्छ । मोवाइल बालबालिकालाई दिँदा उनीहरु आफूलाई स्वतन्त्र भएको र फूर्सदिलो ठान्छन् र आफू पनि एउटा कुना तिर गएर मोवाइल चलाएर बस्छन् ।

तर, यसले उनीहरुको शारीरिक स्वास्थ्यमा कति असर पुग्छ भनेर हेक्का राख्ने गरिएको छैन । भरतपुर आँखा अस्पतालकी नेत्र रोग विशेषज्ञ डा. मारिया गौतमले लगातार आँखा नझिम्काई हेर्दा आँखा सुख्खा भई दृष्टि गुमाउँदै जाने सम्भावना भएको बताउँछिन् । ‘हरसमय हाम्रो आँखा भिजेको हुनुपर्दछ, लगातार मोवाइल वा टिभी हेर्दा आँखा सुख्खा हुन्छ, त्यसले बिझाउने, मधुरो देख्ने र अन्तिममा आँखा नै नदेख्ने अवस्था आउन सक्छ’ डा. गौतम भन्छिन्, ‘बालबालिकाको आँखा कलिलो हुन्छ, सेपमा बसिसकेको हुँदैन, त्यसले भोलिका दिनमा समस्या ल्याउँछ ।’

डा. मारिया गौतम

पछिल्ला समयमा धेरैजसो बालबालिका चस्मा पहिरिएका देखिन्छन् । अघिल्लो पुस्ताभन्दा अहिलेको पुस्तामा आँखामा बढि समस्या पाइनुको कारण यस्तैं भिडियो गेम, मोबाइल तथा कम्प्युटर लगायतका आधुनिक ग्याजेट भएको डाक्टर गौतम बताउँछिन् ।

आधुनिक ग्याजेटको प्रयोगका कारण बालबालिकामा दृष्टि दोष (रिफ्राक्टिभ एरर) को समस्या धेरै हुने गरेको छ । दृष्टि दोषको उपचार समयमै नगरेको खण्डमा यसका कारण आँखा विग्रने सम्भावना धेरै हुने गर्दछ ।

अहिले बच्चाहरुलाई नजिकको दृष्टि दोष (मायोपिया) हुने खतरा डा. गौतमको भनाइ छ ।  एक अध्ययनका अनुसार भिडियो गेम, कम्प्यूटर, मोबाइल फोन लगायतको प्रयोगका कारण बालबालिकामा नजिकको दृष्टि दोषको समस्या गम्भीर भएको पाइएको छ । दैनिक तीन चार घण्टा भन्दा बढि यस्ता साधान हेर्न नहुने धारणा डा. गौतमको छ । ‘लगातार एक घण्टा भन्दा बढि र दिनमा चार पाँच घण्टाभन्दा बढि यस्ता साधानहरुमा हेर्नु आँखाको लागि हितकर छैन’ डा. गौतम भन्छिन्, ‘मोवाइल, ल्यापटपले आँखा त बिर्गाछ नै, यसले बालबच्चामा असामाजिक हुने, घुलमिल नहुने, बाहिर संसारका बारेमा थाहा नहुने, एकाङ्की बनाउँछ ।’

हिजोआज अभिभावकहरुले नै साना बच्चालाई घरबाहिर धेरै खेल खेल्यो भनेर कठालोमा समातेर घरभित्र ल्याउने गरेको पनि पाइन्छ । बच्चाले घरभित्र खेलेको रुचाउने तर घरबाहिर बढी समय विताएको नरुचाउने अभिभावकका कारणले बालबालिकाकाो मनोविज्ञानमा असर गरेको डा. गौतमले बताइन् । ‘घरभित्र भए पछि त के गरेर बस्ने त बच्चा मोवाइल मागिहाल्छ, रोई नै हाल्छ’ डा. गौतमले भनिन् ।

मोबाइलको तल बसेको बालबालिकालाई एकै पटक तल घटाउन निकै गाह्रो डा. गौतमको भनाइ छ । ‘उनीहरुले हेर्ने समयलाई सहमतीमा नै घटाउँदै एक घण्टा, आधा घण्टा गरेर विस्तारै मोबाइलको तल छुटाउन सकिन्छ डा. गौतम भन्छिन ‘जसले गर्दा साथीसँग बोल्ने र  खेल्ने गर्न थाल्छन् भने  शारीरिक तथा मानसिक विकास पनि राम्रो हुन्छ ।’

लकडाउनका बेलामा मोबाइलको सट्टा बालबालिकालाई खेल्ने कुराहरु बढि दिने, गीत गाउन र नाँच्न सिकाउने, चित्रहरु कोर्न दिने जस्ता बिषयमा भुलाउन सकिन्छ । उनीहरुको रचनात्मक क्षमता पनि बढ्छ ।   अभिभावकले प्रशस्त समय दिने, होमवर्क गर्न सघाउने जस्ता कुराले पनि मोबाईलको तल छुटाउन सकिन्छ । बच्चालाई उनीहरुले गर्न सक्ने काम लगाउने हो भने पनि बच्चाहरुलाई भुलाउन सकिन्छ । धेरै मोवाइल तथा ल्यापटम हेर्दा आँखा कमजोर भई बाक्लो चश्मा लगाउनुपर्ने र पछि पावर बढाउँदै जाँदा आँखाको पर्दामा ‘रेटिनल डिट्याच्जमेन्ट’ हुने खतरा रहने डा. गौतमले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment