Comments Add Comment

यसरी पुग्छ भक्तपुरबासीको घर-घरमा तरकारी (भिडियोसहित)

२२ चैत, काठमाडौं । किसानको बारीमा तरकारी कुहिने र उपभोक्ताले खान नपाउने स्थिति सिर्जना भएपछि भक्तपुरका युवाहरुले घर–घरमा तरकारी पु¥याउने अभियान थालेका छन् ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलन नदिन सरकारले लागू गरेको लकडाउनका कारण भक्तपुरका किसानहरुले आफ्नो उत्पादन बजारमा पु¥याउन पाएका छैनन् । उपभोक्ताले पनि ताजा तरकारी खान पाएका छैनन् । यही अवस्थाका कारण भक्तपुरका अगुवा कृषकहरुले भने किसानको बारीमा गएर तरकारी संकलन गर्ने र प्याकिङ गरेर उपभोक्ताको घर–घरमा पुर्याउने अभियान थालेका हुन् ।

जिल्ला कृषि सहकारी संघका सचिव समेत रहेका प्रचण्ड प्रधान भन्छन्, ‘भक्तपुरका स्थानीय बासिन्दा तथा कृषकहरुले उत्पादन गरेका तरकारीहरु हामीले संकलन गर्छौं । ढुवानी र भाडा जोडेर सय/पचासको प्याकेट बनाउँछौ ।’

खेर जाने हरियो तरकारीमा २५ देखि ३० र खेर नजाने आलु, प्याज जस्ता तरकारीमा १० देखि १२ प्रतिशतसम्म मार्जिन राखेर काम गरिरहेको उनीहरु बताउँछन् ।

अर्का अगुवा कृषक कुलबहादुर नेमाफुकी भन्छन्, ‘किसानको तरकारीलाई चलेको भाउमा किनेर घरबाट निस्कन नपाउने मान्छेहरुलाई घरदैलोमा पु¥याउन हाम्रो भूमिका हुनसक्छ भनेर यो काम थालेका हौं ।’

तरकारी बोकेको गाडी चाँगुनारायण र सूर्यविनायक नगरपालिकाका जनप्रतिनिधि र स्वयंसेवकसँग समन्वय गरेर टोल–टोलमा पुग्छ । र, एक–एक मिटरको दूरीमा रहेका उपभोक्तालाई प्याकिङ गरिएको तरकारी बिक्री गरिन्छ । बिक्रीकर्ताहरले तरकारीमा विषादी छर्दा लगाउने रेनकोट, पञ्जा, मास्क लगाउँछन् ।

गत वर्ष कृषि ज्ञान केन्द्रले विषादी छर्ने बेला लाउने गरी दिइएको पोशाक नै  किसानसँग मागेर अहिले तरकारी वितरणका बेला लगाउने गरिएको नेमाफुकीले बताए ।

तरकारी टोल–टोलमा पुर्याउने कामको नेतृत्व गरेको जिल्ला कृषि सहकारी संघका अध्यक्ष शनिस लागेजुले संकटलाई अवसरको रुपमा लिएर काम गर्नुपर्ने निष्कर्षका साथ उपभोक्ताको हात–हातमा तरकारी पुर्याउने काममा जुटेको बताए । उनले भने ‘किसानले उत्पादन गरेका तरकारीलाई बजार पु¥याउन कुनै व्यवसायीलाई भन्नुपर्ने अवस्था छैन । हामीले पनि गर्न सक्छौं भन्ने हाम्रो निष्कर्ष हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment