Comments Add Comment

चितवनका अस्पताल सुनसान, लकडाउनले बिरामी घटायो !

२९, चैत, चितवन । सरकारले जारी गरेको लकडाउन तेस्रो हप्तामा चलिरहदा चितवनका अस्पतालहरुमा उपचार गराउने आउने बिरामीको संख्या ह्वात्तै घटेको छ । जिल्लाका ठूला तथा साना निजी अस्पतालहरुमा उपचार गराउने आउने बिरामीको संख्या ९२ प्रतिशतभन्दा बढिले घटेको ती अस्पतालहरुले जनाएका छन् ।

जिल्लाका अस्पतालमा विभिन्न जिल्लाका झण्डै ६ हजार ५ सय बिरामी दैनिक उपचार गराउन आउने गरेका थिए । हाल यस्तो संख्या मुस्किलले पाँच सय पुग्ने गरेको छ । बिरामी आउन छाडेपछि अस्पतालहरु सुनसान भएका छन् ।

चितवनको भरतपुर अस्पतालमा गत बर्ष यस सिजनमा दैनिक १५ सयको हाराहारीमा बिरामी उपचार गराउन आउँथे । ओपिडीमा खुट्टा राख्ने ठाउँ पनि हुँदैनथ्यो । ठेलमठेल भीड लाग्थ्यो । ल्याव, काउन्टर, भिडियो एक्सरे गर्ने ठाउँमा लामो लाइन हुन्थ्यो । तर, अहिले अस्पताल सुनसान देखिन्छ ।

दशैंका बेलामा देखिने दृष्य अहिले धेरै अस्पतालमा देखिन्छ । धेरैजसो चिकित्सकहरू फूर्सदिला बनेका छन् । मौका मिले नीजि अस्पतालमा विहान–बेलुका झुल्किन्छन् दिउँसो सरकारीमा हाजिर गर्छन् । घर र क्वाटरमा गएर सुत्छन् । कतिपय त आउन पनि आनाकानी गर्न थालेका छन् ।

भरतपुर अस्पतालको ओपिडीमा साधारण अवस्थामा १५ सय र आकस्मिक कक्षमा उपचार गराउन आउने औसत संख्या ११५ को हाराहारीमा हुन्थ्यो । सरकारले जारी गरेको लकडाउनपछि अस्पतालको ओपीडी सेवा बन्द भएर ज्वरो क्लिनिक चल्न थालेको छ । अहिले अस्पतालमा मुस्किलले डेढ सय जना नयाँ विरामी आउने गरेका छन् । तीमध्ये ओपिडीमा औसत ३० जना र बाँकी आकस्मिक कक्षमा आउँछन् ।

आकस्मिक कक्षमा न्यून संख्यामा बिरामी बढेको सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए । भरतपुर अस्पतालमा ४५० इन्डोर बेड छन् । त्यसमा १५० जनाजति बिरामी भर्ना भएका छन् । बाँकी बेड खाली छन् । एक सय बेड त प्रसुती गराउने महिलाहरुकै कारण भरिएको छ । भरतपुर अस्पताल राजधानी काठमाडौं पछिको सबैभन्दा धेरै प्रसुती सेवा लिने अस्पताल हो ।

भरतपुर अस्पताल मात्रै हैन, जिल्लाका दुई ठूला मेडिकल कलेज, क्यान्सर अस्पताल र २० वटा नीजि अस्पतालको पनि अवस्था उस्तै छ । जिल्लामा रहेका २० वटा नीजि अस्पतालमा साधारण अवस्थामा दैनिक दुई हजार विरामीले ओपीडी र दैनिक दुई सयले आकस्मिक सेवा लिने गरेका थिए । अहिले सबैमा गरेर मुस्किलले ५० पुग्छन् । जिल्लामा ५० बेडमाथि १० र ५० बेडभन्दा कम १० बेड क्षमता भएका निजी अस्पताल छन् । यी अस्पतालको इन्डोर बेड संख्या करीव ११ सयको हाराहारीमा रहेको निजी अस्पताल समन्वय समितिका सचिव विक्रम अधिकारी बताउँछन् । अहिले भर्ना भएर बस्ने बिरामीको संख्या मुस्किलले दुई सय मात्रै छ ।

भरतपुरकै चितवन मेडिकल कलेजमा दैनिक १५ सय २ हजारसम्म बिरामी ओपिडीमा आउने गरेको निर्देशक डा. दयाराम लम्सालले बताए । अस्पतालको ओपीडी सेवा बन्द भएसँगै ज्वरो क्लिनिक सञ्चालन गरिएको छ । ज्वरो क्लिनिकमा १२ देखि १५ जनासम्म मात्रै बिरामी आउँछन् । सरकारको निर्देशन अनुसार ओपीडी सेवा बन्द छ । ७५० इन्डोर बेड रहेकोमा जम्मा १८४ मात्रै भरिएको छ ।

‘अरु बेलामा बेड मिलाइदिन भनेर फोन आउँथ्यो तर अहिले सबैजसो खाली छ,’ निर्देशक डा. लम्सालले भने, ‘बिरामी र भिजिटर गरेर दैनिक तीन–चार हजार मान्छे यहाँ आउँथे । बाटोमा जति बेला पनि भिड हुन्थ्यो, तर अहिले खुल्ला छ ।’

कलेजको आकस्मिक कक्षमा दैनिक ८० जनाको हाराहारीमा बिरामी आउने गरेको निर्देशक डा. लम्सालले बताए ।

‘क्रोनिक टाइपका पुराना बिरामी, उच्च रक्तचाप, प्यारालाइसिस्, डायलासिस् गर्नुपर्ने, सर्जिकल केस भएका, स्त्रीरोग र प्रसुती सम्बन्धि बिरामीहरु मात्रैं आउँछन्,’ निर्देशक डा. लम्सालले भने ।

यता, भरतपुरकै पुरानो मेडिकल कलेजमा साधारण अवस्थामा ७५० जना बिरामीले ओपीडीबाट उपचार सेवा लिने गरेका थिए । तर लकडाउनपछि अहिले दैनिक ६० जना बिरामी आउने गरेको निर्देशक डा. मनोहर प्रधानले जानकारी दिए । पहिले आकस्मिक कक्षमा ५० जना आउने गरेकोमा अहिले दैनिक ३० जनाको हाराहारीमा आउँछन् । कलेजले ओपीडि सेवा बन्द नगरेको निर्देशक डा. प्रधानले बताए ।

पूरानो मेडिकल कलेजमा ५८६ वटा इन्डोर बेड छन् । तिनमो ८० जनाजति बिरामी रहेको डा. प्रधान बताउँछन् । बिरामी नै आउन छाडेपछि केही स्वास्थ्यकर्मीहरुलाई फोर्स लिभमा बस्न भनिएको उनले जानकारी दिए ।

भरतपुरको क्यान्सर अस्पतालमा पनि निकै कम मात्रै बिरामी उपचारका लागि आउने गरेका छन् । अन्य बेलामा दैनिक ६ सय जनाले आउने ओपिडी सेवा बन्द छ । आकस्मिक कक्षमा दैनिक ७० जनाजति बिरामी आइरहेको निर्देशक डा. बिजयचन्द्र आचार्यले जानकारी दिए । क्यान्सर अस्पतालको ४५० इन्डोर बेडमध्ये जम्मा एक सय बेडमा मात्रै बिरामी छन् । बाँकी बेड खाली नै छन् ।

भरतपुर कोरोना अस्पतालमा भने अहिलेसम्म ३४१ जनाले उपचार तथा परामर्श सेवा लिएका छन् ।

किन घटे बिरामी ?

सरकारले जारी गरेको लकडाउनका कारणले उपचार गराउन बिरामीहरु अस्पतालसम्म नसक्नु नै मुख्य कारण हो । यातायातको सहज उपलब्धता नहुँदा बिरामीको संख्या घट्नु स्वभाविक भएको अस्पताल सञ्चालकहरु बताउँछन् । तर कारण यति मात्रै भने हैन । बिरामी हुने क्रम पनि निकै कम भएको चिकित्सक बताउँछन् ।

विभिन्न चिकित्सकहरुसँग फोनबाट सल्लाह लिएर औषधी खाने, सानातिना समस्या पछि देखाउँला भनेर थाँति राख्ने गर्दा बिरामीहरु घटेको चितवन मेडिकल कलेजका निर्देशक डा. दयाराम लम्सालले बताए ।

लम्सालका अनुसार अहिले बिरामी हुने क्रम पनि निकै कम भएको छ । मानिसहरु घरमा बसेर समयमै खाने, धुवाँधुलोमा नहिँड्ने, अर्गानिक खानेकुरा खाने लगायत कारणले बिरामी पनि कम भएको डाक्टरहरु बताउँछन् ।

यो समयमा अघिल्ला बर्षहरुमा अधिकांश रुघाखोकी र ज्वरोका बिरामी आउने गरेको स्मरण गर्दछन् पुरानो मेडिकल कलेजका निर्देशक डा. मनोहर प्रधान । उनी भन्छन्, ‘अहिले त फ्लुको सिजन हो, भाइरसहरु एकबाट अर्कोमा सर्दथ्यो । तर विद्यालय बन्द छ, सभा–सम्मेलन छैनन् । सिनेमाहल घर बन्द भए । बजारमा फ्लो छैन । धुवाँधुलो कम छ, विहे ब्रतबन्ध पार्टी छैन । समयमा खाने र आराम गर्ने गर्र्दा मानिसहरु बिरामी पनि भएका छैनन्, संक्रमण पनि छैन ।’

भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार अहिले अस्पतालमा गभर्वती महिलाको अप्रेशन, आकस्मिक हाडजोर्नीको अप्रेशन बाहेक अन्य अप्रेशसनहरु हुन छाडेका छन् । ‘पहिला पहिला कुनै बिरामी भेट्न भिजिटर पनि लाइन लागेर आउँथे, अहिले एक–दुई जना परिवारका सदस्य मात्रै आएका छन् । यसले गर्दा भिड घटेको छ,’ सूचना अधिकारी पौडेलले भने ।

चितवन मेडिकल कलेजका निर्देशक डा. लम्सालले सानो–सानो रोगको उपचारका लागि पनि ठूला–ठूला अस्पतालमा आउने परिपाटीलाई कम गर्न र प्राथमिक स्वास्थ्य उपचार केन्द्रप्रति विश्वास जगाउन पनि यो अवसर भएको बताए ।

लकडाउनले आर्थिक पर्यटन र श्रमिक क्षेत्रमा हानी गरे पनि वातावरण र जनस्वास्थ्यको क्षेत्रमा सकारात्मक प्रभाव पारेको जनस्वास्थ्य विज्ञहरु धारणा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment