Comments Add Comment

संक्रमणबाट सुरक्षित रहेर यसरी गर्न सकिन्छ खाद्य व्यवसाय

कोरोनाको त्रास र त्यसपछि सरकारले गरेको लकडाउनमा थुप्रै कर्मचारी घरमै बसेर कार्यालयका काम गरिरहेका छन् । तर कतिपय यस्ता क्षेत्र हुन्छन्, जसको काम घरमा बसेर गर्न सम्भव हुँदैन । जस्तो कि खाद्य प्रशोधनकर्ता, खाद्य उद्योगका कर्मचारी वा खाद्य व्यवसायीहरु ।

आज सिंगै देश ठप्प भएको अवस्थामा खाद्य उद्योगहरु पनि सञ्चालन भइरहेका छैनन् । यसले आज नभए भोलि खाद्यपदार्थको अभाव सिर्जना गर्ने निश्चित नै छ । त्यसैले सुरक्षित तरिकाले खाद्य प्रशोधन उद्योगलाई विस्तारै सञ्चालनमा ल्याउन थाल्नुपर्छ ।

खाद्य व्यवसायीहरु स्वास्थ्यकर्मीहरु जतिकै कोरोनाभाइरस संक्रमणको जोखिममा नभए तापनि उनीहरु एक किसिमले फ्रन्ट लाइनका कर्मचारी जस्तै नै हुन् । यस्ता व्यवसायीहरुमा खाद्य प्रशोधन उद्योगमा काम गर्ने कर्मचारीहरु मात्र नभएर, खाद्य पदार्थ ढुवानी गर्ने, विक्रीवितरण गर्ने तथा आमउपभोक्ताहरु माझ पुर्‍याउने व्यक्तिहरु सबै पर्दछन् । खाद्य पदार्थको आपूर्ति सुनिश्चित गर्ने जिम्मेवारी उनीहरुको हुन्छ । त्यसैले यी व्यवसायीहरुको खाद्य श्रृंखलामा संवेदिनशील भूमिका रहन जान्छ । अतः यस्ता व्यवसायीहरुको सुरक्षा अत्यन्तै महत्त्वपूर्ण हुन्छ ।

खाद्य श्रृंखलामा संक्रमणको कमी ल्याउन तथा खाद्य स्वच्छता कायम गर्नका लागि खाद्य स्वच्छता व्यवस्थापनमा आधारित विभिन्न सिद्धान्त तथा नियमनका गुण्स्तरहरु तोकिएका छन् । संयुक्त राष्ट्रको खाद्य तथा कृषि संगठन र विश्व स्वस्थ्य संगठनको संयूक्त रुपमा स्थापित भएको कोडेक्स एलिमेन्टेरियस कमिसनले खाद्यश्रृंखलामा स्वच्छताका लागि गुणस्तरहरु निर्धारण गरेको छ । यसका साथै ह्यासाप HACCP) भनिने सिद्धान्तले खाद्य श्रृंखलामा आउन सक्ने जोखिम पहिचान गर्ने र सोको निराकरण गर्ने सिद्धान्तहरु पनि प्रतिपादन गरेको छ ।

त्यस्तै गरेर अन्तर्राष्ट्रिय गुणस्तर संघठन आईएसओलगायतका विभिन्न संघ–संस्थाहरुले पनि खाद्य स्वच्छताका लागि गुणस्तर एवं मापदण्डहरु व्यवस्था गरेका छन् । नेपालमा खाद्य श्रृंखलामा स्वच्छता प्राप्त गर्ने उद्देश्यले नेपाल सरकारले खाद्य ऐन २०२३ तथा खाद्य स्वच्छता नीति २०७५ अवलम्बन गरेको छ । तर, आजको यो वैश्विक महामारी र कोभिड १९ को जोखिमालाई मध्यनजर गर्दै खाद्य श्रृंखलामा यस भाइरसको संक्रमण रोकथाम गर्नका लागि विश्व स्वास्थ्य संगठनले केही थप सरसफाइका अवाधारणाहरु अघि सारेको छ ।

यी अवधारणाहरु मूख्यतः खाद्यकर्मीहरुलाई कोभिड १९ बाट संक्रमित हुनबाट जोगाउन, भाइरसको संक्रमण फैलिन नदिन, तथा अवस्थित खाद्य सरसफाई व्यवहारलाई अझ सुदृढिकरण गर्नका लागि तयार पारिएको हो । यस अवधारणाले खाद्य श्रृंखलामा स्वच्छताको अखण्डतालाई कायम राखी पर्याप्त मात्रामा खाद्य पदार्थहरु आम उपभोक्तामाझ पुर्‍याउनका लागि सुनिश्चत गर्ने प्रयास गरेको छ ।

हालसम्म गरिएका विभिन्न वैज्ञानिक अनुसन्धानबाट प्राप्त नतिजाअनुसार कोभिड १९ खाद्यपदार्थ तथा प्याकेजिङ्गबाट सर्नसक्ने सम्भावना कम रहेको छ । यसका साथै सिद्धान्ततः श्वासप्रश्वास सम्बन्धि रोगहरु खाद्यपदार्थ तथा प्याकेजिङ्गबाट सर्न सक्दैनन् । यस्ता भाइरसहरु प्लास्टिक तथा स्टिलजन्य पदार्थहरुमा केही समय रहन जाने भएता पनि खाद्यपदार्थ तथा प्याकेजिङ्गबाट संक्रमण भएको आजसम्म गरिएका अनुसन्धानहरुले देखाएका छैनन् । तथापि यस्ता भाइरसहरु खाद्य व्यवसायहरुले काम गर्ने वातावरणमा रहेको हुन्छ । व्यवसायीहरुले प्रयोग गरेका मास्क, पन्जा, र उनीहरुले कामको दौरानमा छोएका सामान आदिमा यी भाइरस रहनसक्ने भएकाले यस्ता चिजको सरसफाइमा विशेष रुपले ध्यान दिनु पर्दछ ।

कोभिड १९ को संक्रमणबाट जोगिनका लागि खाद्य व्यवसायीले मुलतः यी कुराहरुमा ध्यान दिनुपर्छ ।

१. कोभिड १९ का लक्षणहरुबारे कामदारहरुमा चेतना अभिवृद्धि गर्ने

२. यस्ता लक्षण देखिएका कामदारहरुको जानकारी सम्बन्धित निकायलाई दिई काममा नलगाउने

३. काम गर्नसक्ने क्षमता भए–नभएको जानकारी लिनका लागि प्रोटोकल बनाउने

४. संक्रमणबाट जोगिन कामदारहरुबीच उचित दुरी राख्ने, बारम्बार हात धुने व्यवस्था गर्ने तथा कामदारहरुले छोएका सामानहरु नियमित स्वच्छ र सफा (Sanitize) राख्ने । यदि कम्तिमा १ मिटरको दुरी राख्न सक्ने अवस्था नभएमा कामदारहरुले उचित व्यक्तिगत सुरक्षा उपकरण पीपीईको प्रयोग गर्ने । (यदी कपडाको मास्क प्रयोग गरिएको छ भने, यसलाई कम्तिमा ६० डिग्री तातोपानीमा साबुनले धोएर र सफा ठाउँमा सुकाएर मात्र पुनः प्रयोग गर्न सकिन्छ । तर डिस्पोजेबल मास्कलाई पुनःः प्रयोग गर्नु हुँदैन) ।

५.उत्पादनमा केही कमी आए मानव संशाधनको प्रयोगमा समेत कमी गर्ने वा प्रशोधन क्षेत्रमा उपकरणहरुलाई बीचमा पारी व्यक्तिहरुको दुरी कायम गर्ने

ढुवानी गर्दा ध्यान दिनुपर्ने

खाद्य उद्योगमा जस्तै खाद्य पदार्थ ढुवानी गर्दा कामदारहरुले यस भाइरस संक्रमणका लक्षणहरुको जानकारी राख्ने तथा यस्ता लक्षण भएका व्यक्तिहरुलाई काममा नलगाई जानकारी गराउनु पर्दछ । यसका साथै अन्य कुराहरुमा समेत ध्यानदिनु पर्दछ ।

१. खाद्य पदार्थको ढुवानी वा विक्री–वितरण गर्दा दुरी कायम गर्ने र पीपीएको प्रयोग गर्ने

२. ढुवानी गर्ने चालकलाई गाडीबाट निस्किन नदिने

३. खाद्य पदार्थ वा दस्तावेजहरु हस्तान्तरण गरेपछि हात स्यानिटाइजर वा साबुन पानीले धुने

विक्रिवितरण गर्दा ध्यान दिनुपर्ने

खाद्य पदार्थ विक्रि–वितरण गर्ने स्थान भाइरस संक्रमणका लागि सबैभन्दा जोखिमयुक्त भएकाले यी स्थानहरुमा विशेष ध्यानदिनु पर्दछ ।

१. पीपीईको प्रयोग अनिवार्य गर्ने

२. धेरै चोटी छुने स्थानहरुमा स्यानिटाइजर राख्ने वा हात धुने व्यवस्था गर्ने

३. उपभोक्ताहरुसँग कम्तिमा १ मिटरको दुरी राख्ने र सो दुरी राख्न उपभोक्ताहरुलाई समेत जानकारी दिने । यसका लागि उपभोक्ताहरुलाई सिमित संख्यामा मात्र पसलमा प्रवेश दिने

४. सामान राख्ने भाँडा (जस्तै ट्रली, बास्केट, तरकारी जोख्ने भाँडा, आदि) स्यानिटाइज गर्ने

५. बिक्री गर्न राखिएका खाद्य पदार्थहरु, विशेषगरि फलफूल तरकारी जस्ता वस्तुहरुलाई उपभोक्ताहरुले सजिलैसँग देख्न सकिने गरी राख्ने । यसले गर्दा उपभोक्ताहरुले धेरैचोटी केलाउननपर्ने हुँदा खाद्य वस्तुलाई कम मात्र छुन पुग्छन् ।

यसका अलावा क्यान्टिन आदि जो अहिले पनि प्रयोगमा छन्, यस्ता स्थानहरुले पनि यी आधारभूत सिद्धान्तहरुको पालना गरेमा कोभिड १९ को संक्रमणमा कमि ल्याउन सकिन्छ ।

उपभोक्ताहरुले ध्यान दिनुपर्ने

माथि उल्लेखित बाहेक, उपभोक्ताहरुले अत्यावश्यक खाद्य पदार्थ खरीद गर्न जाँदा निम्न कुराहरुमा ध्यान दिनुपर्छ ः

१. आफू जाने पसलमा भीडलाई नजर गरी दूरी राख्न प्रयास गर्ने

२. पसलमा छुने सामानहरु स्यानिटाइज गरिएको छ छैन भनेर विचार पुर्‍याउने

३. सामान खरिद गर्दा आफ्नो हात, मुख वा नाकतिर नछुवाउने

४. घर फर्किसकेपछि साबुन–पानीले कम्तिमा २० सेकेण्डसम्म हात मिचिमिचि धुने

५. खरिद गरेको तरकारी फलफूल सफा पानीमा धोएर मात्र प्रयोग गर्ने

६. विश्व स्वास्थ्य संगठनले तोकेको ५ सिद्धान्तको अवलम्वन गर्ने

(लेखक नेपाल पोषणविद् तथा आहारविद् संघका अध्यक्ष हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment