Comments Add Comment

वीरगञ्जका ४ संक्रमितमध्ये ३ जनाको दोस्रो रिपोर्ट पनि पोजेटिभ

७ वैशाख, वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत चार जना कोभिड-१९ संक्रमितमध्ये तीन जनाको दोस्रो परीक्षणको रिपोर्ट पोजेटिभ नै देखिएको छ । एक जनाको रिपोर्ट भने नेगेटिभ आएको छ ।

वीरगञ्ज–२ छपकैयास्थित मक्की जामे मस्जिदमा बस्दै आएका तीन जना भारतीय जमातीमा एक साताअघि कोभिड-१९ को संक्रमण पुष्टि भएको थियो ।

रौतहटबाट पठाइएका संक्रमित एक युवकको उपचार पनि नारायणी अस्पतालमा नै भइरहेको छ । उनीहरूमध्ये कसको रिपोर्ट नेगेटिभ भन्ने खुलाइएको छैन । उनीहरूको स्वास्थ्य अवस्था भने सामान्य नै रहेको अस्पतालले जनाएको छ ।

नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले तेस्रो चरणको परीक्षणका लागि आइतबार थ्रोट स्वाब नमुना संकलन गरेर प्रयोगशाला पठाइएको जानकारी दिए ।

वीरगञ्जमा पीसीआर मेसिन आइसकेको भए पनि आवश्यक अन्य समान नहुँदा ल्याब सञ्चालन हुन सकेको छैन । त्यसैले थ्रोट स्वाब संकलन गरेर वाग्मती प्रदेशको राजधानी हेटौंडास्थित प्रादेशिक प्रयोगशालामा पठाउने गरिएको छ ।

संक्रमित भारतीय नागरिक पुगेको क्षेत्रमा आइतबार पनि र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट कोरोनाको एन्टिबडी परीक्षण गरिएको छ । आइतबार मात्रै सुगौलीमा तीन सय ४० जनाको आरडीटी गरिएको छ । यसअघि वीरगञ्ज महानगरपालिका वडा नं १, २ र ३ वडा र २६ सुगौली क्षेत्रका मस्जिद आसपासमा १२ सय ५३ जनाको आरडीटी परीक्षण गरिएको थियो ।

सबैको एन्टिबडी नेगेटिभ देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका वरिष्ठ जनस्वास्थ्य अधिकृत कामेश्वर चौरसियाले जानकारी दिए ।

‘संक्रमित जमाती पुगेको क्षेत्रमा र्‍यापिड डाइग्नोष्टिक टेस्ट गरिसकिएको छ । सबैको एन्टिबडी रिपोर्ट नेगेटिभ आएको छ’ उनले भने, ‘संक्रमण स्रोत पत्ता नलागे पनि हालसम्मको अध्ययनले स्थानीय संक्रमण नभएर यो आयातित संक्रमण हो भन्ने बुझिन्छ । अरुमा सरेको पनि देखिएको छैन ।’

भारतीयलाई आफन्तको जिम्मा लगाइयो

वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसमा राखिएका एक सय दुई जना भारतीय नागरिकलाई आफन्तको जिम्मा लगाइएको छ । १४ दिनसम्म राखेर र्‍यापिड टेस्ट गर्दा रिपोर्ट नेगेटिभ आएपछि आफन्तको जिम्मा लगाइएको हो ।

नेपालका विभिन्न सहरमा कामको सिलसिलामा रहेका तर लकडाउनको समयमा घर जान हिँडेका एक सय ८९ जनालाई ठाकुरराम बहुमुखी क्याम्पसमा बनाइएको क्वारेन्टाइन स्थलमा राखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment