Comments Add Comment
गाउँपालिकाको चिन्ता :

काठमाडौंका मान्छे गाउँ पठाउनु नै समाधान हो ?

अलपत्र यात्रुबारे विवाद नगरौं, अर्को तयारी थालौं

अहिले विश्व नै कोरोना भाइरसबाट सिर्जित महामारीसँग लडिरहेको छ । हामी पनि त्यसैमा संघर्षरत छौं । विश्वका शक्तिशाली र सम्पन्न मुलुकहरुको जुन हालत छ, त्यसको तुलनामा सीमित साधन स्रोतका बाबजुद पनि हाम्रो प्रयास सार्थक नै छ । यसको अर्थ, हामीले गर्न बाँकी केही छैन भन्ने होइन । धेरै गर्न बाँकी छ ।

नेपालमा लकडाउन अवधि एक महिना पुग्नै लाग्दा घर बाहिर रहेका धेरै श्रमिक मजुदरहरुलाई समस्या परिरहेको छ । खास गरी उनिहरुसँग दैनिक काम गर्ने अवस्था पनि नरहेकाले खाद्यान्नको समस्या छ । खाद्यान्नकै मात्र समस्या पनि नहुन सक्छ ।

स्थानीय सरकारहरुले आफनो क्षेत्रमा भएका मजुदर श्रमिकहरुलाई राहत उपलब्ध गराइरहेको छ, भलै त्यो पर्याप्त हुन सकिरहेको छैन होला । तर, केहीमा चाहिँ काठमाण्डौंमा कोठामा बसिरहनु भन्दा बरु गाउँमै रमाइलो छ भन्ने मानसिकताले पनि काम गरेको देखिन्छ । यो अनुमान हैन, हामीसँग सम्पर्कमा आएका व्यक्तिका अनुभव हो ।

सहरले गाँस, बासको टुङ्गो नगर्ने, गाउँले आफ्ना टोल, वस्ती, चोकमा रूख ढालेर बाटो थुन्ने अनि सहर छाडेर गाउँका लागि हिँडेका पैदलयात्रु सडकमा अलपत्र पर्नु दुर्भाग्यपूर्ण हो

अर्को दबाव चाहिँ पेप्सीकोलामा पोजिटिभ केस देखिएपछि पनि ल अब काठमाडौंमा बस्नु हुन्न भन्ने मानसिकताले काम गरेको पाइन्छ । मानिसहरु आफनो घर जानका लागि सयौं किलोमिटरको दुरी कष्टकर पैदल यात्रा गरिरहेका छन् ।

हामी कहाँनिर चुक्यौं ? यसको समीक्षा गर्न जरुरी छ । अहिलेको महामारीबाट बच्न जो जहाँ छ, त्यहीँ बस्नु नै सबै भन्दा उत्तम विधि हो । तर, हामी देखिरहेका छौं, यसो भइरहेको छैन ।

किन मानिसहरुले लकडाउनका कारणले भोकै मर्नुपर्दैन भन्ने सरकारको आश्वासनमा विश्वास गरेनन् ? यो साँच्चिकै समस्या हो कि मनोसामाजिक उतार–चढाव हो ? मानिसहरु आफ्नो घर जानका लागि बालबच्चा, झोलागुण्टा बोकेर कष्टकर यात्राका दृश्यले हामीलाई विक्षिप्त बनाइरहेको छ ।

शहरले गाँस, बासको टुङ्गो नगर्ने, गाउँले आफ्ना टोल, वस्ती, चोकमा रुख ढालेर बाटो थुन्ने अनि शहर छोडेर गाउँका लागि हिँडेका पैदलयात्रु सडकमा अलपत्र पर्नु पर्नेस्थिती दुर्भाग्यपूर्ण हो । यो हाम्रो विपद व्यवस्थापन प्रतिकार्य तयारीको विम्व पनि हो ।

अहिले पनि पहुँच हुनेहरु विभिन्न बाहाना बनाएर गाडीबाटै र पहुँच नहुनेहरु धेरै हिँडेरै शहरबाट गाउँ जाने क्रम छ । यो रोकिनुको सट्टा बढ्दै गइरहेको छ । सामाजिक सञ्जाल तथा सञ्चार माध्ययमहरुमा यस विषयलाई लिएर दुईखाले बहस छ ।

एकातिर लकडाउनमा कडाइ नभएको संक्रमण फैलिने खतरा बढेको कोणबाट तर्क भइरहेको छ भने अर्कातिर मानवीय संवेदनामाथि खेलबाड भएको र सरकार संवेदनाहीन बनेको कोणबाट पनि तर्क भइरहेको छ । तर्कका हिसावले हेर्दा असामान्य लाग्दैन, दुवैमा दम छ । तर, तर्क भावनामा केन्द्रित भएर हैन, तथ्यमा उभिएर गरौं ।

होमनारायण श्रेष्ठ

हामीले भुल्नै नहुने कुरा लकडाउन गर्नु मात्र महामारीको उपचार हैन । यो केवल महामारीविरुद्ध लड्नका लागि तयारी गर्ने समय मात्र हो । अहिलेसम्म हामीले के तयारी गर्यौंं ? महामारी विरुद्ध केही न केही गर्ने, नयाँ नयाँ काम गर्ने, सबै भन्दा छिटो गर्ने हुटहुटीले धेरै राम्रा पनि भएका छन् । केही हामी सबैले आ–आफ्ना ठाउँबाट गरेका अलग–अलग राम्रा प्रयासलाई सम्भावित महामारी विरुद्ध लड्न सक्ने सामथ्र्यका रुपमा संस्थागत गर्न ढिलाई नगरौं । जुनसुकै बेला जे पनि हुन सक्छ भन्ने अनुमानसहित तयारी अवस्थामा रहौं ।

हिजोदेखि घर जान भनेर निस्केका मानिसहरुलाई स्थानीय प्रशासनले अघोषितरुपमा सघाइरहेको छ । कतिपय उच्च तहका व्यक्तिहरु, माननीय सांसदज्युहरु, मन्त्रीज्युहरु नै यसमा अप्रत्यक्षरुपमा संलग्न हुनुहुन्छ । कुनै तयारीविना मानिसहरुलाई गाडी चढाएर गाउँ पठाउँदैमा समस्या समाधान हुँदैन । नीतिगतरुपमा निर्णय नगरी व्यक्तिले गर्ने छिटपुटे प्रयासले दिगो समाधान दिँदैन । यसले अवस्था झन जटिल बन्दैछ ।

सधैंभरि अलपत्र यात्रुको दयनीय अवस्था विरुद्ध लकडाउनको रटानले मात्र समाधान निस्कँदैन । अब बीचको बाटो खोज्नेबेला भइसकेको छ ।

गाउँ फर्किन चाहने व्यक्तिहरुलाई विधिपूर्वक फर्काउन सकिन्छ । तर, जतिसुकै विधिवत ढंगले फर्काए पनि संक्रमणको खतरा शून्य बनाउन सकिँदैन । यो सत्य हो । तर, अहिले अव्यवस्थित ढंगले भइरहेको आवात–जावत भन्दा विधिवत ढंगले, सुरक्षा विधि अवलम्वन गरी फर्काउदा जोखिम कम हुन सक्छ ।

म फेरि पनि दोहोर्‍याउँछु– सक भर जो जहाँ छ, त्यहीँ रहने कुरालाई प्रोत्साहित गर्नुपर्छ । यसका लागि खाद्यान्न वा आर्थिक सहयोग प्रदान गर्नुपर्दछ । तर, अहिले जसरी पूर्ण पालना गराउन नसकी अघोषितरुपमा बढिरहेको आवत–जावतलाई व्यवस्थित गर्न घोषित लकडाउन अब एक हप्ता मात्र बाँकी रहेका अवधिमा निम्न कार्यहरु गरी शहरमा फसेका जनताको उद्धार गर्न सकिन्छ–

– आफ्नो थातथलोमा फर्कन चाहने नागरिकको विवरण संकलन गर्ने । सम्बन्धित स्थानीय तह, वडा कार्यालयले यसको व्यवस्थित विवरण राख्ने ।

– गाउँ फर्किन चाहनेहरुको विगत एक डेढ महिनाको ट्राभल हिस्ट्री राख्ने ।

– उनीहरुको स्वास्थ्य अवस्था, रुघा, खोकी, ज्वरो आदिको अवस्थाबारे जानकारी राख्ने ।

– सुरक्षित सवारी साधनको व्यवस्थापन गर्ने । खचाखच नहुनी गरी, मास्क पञ्जा, सेनिटाइजरको व्यवस्थासहितको सवारी साधनको प्रयोग गर्ने ।

– निर्धारित स्वास्थ्य परीक्षण पश्चात मात्र यात्रा अनुमति प्रदान गर्ने ।

– घर फर्किएपछि अन्य व्यक्तिसँगको दुरी, परिवारका सदस्यसँगको दुरी, सामाजिक जमघट तथा क्रियाकलापलाई कडाइ साथ निगरानी राख्ने । आवश्यक्ता अनुसार स्वयंसेवक परिचालन गर्ने ।

– गाउँ फर्किएका व्यक्तिहरुको सम्वन्धित वडाको स्वास्थ्य चौकीमार्फत कम्तिमा २ हप्तासम्म प्रत्येक दिन स्वास्थ्य अवस्थाको रेकर्ड राख्ने ।

– डर, त्रास, चिन्ता, लाञ्छनाजस्ता मनोसामाजिक कठिनाइमा भावनात्मक सहयोग पुर्‍याउने ।

– समुदायमा हुन सक्ने आरोप, प्रत्यारोप, प्रतिवाद, झगडा हुन नदिने ।

सधैंभरि अलपत्र यात्रुको दयनीय अवस्थाविरुद्ध लकडाउनको रटानले मात्र समाधान निस्किँदैन । अब बीचको बाटो खोज्ने बेला भइसकेको छ

यति गरेर मात्र पुग्दैन । यसरी घर फर्काउन चाहनेलाई फर्काइसके पछि अन्तराष्ट्रिय नाका पूर्णरुपमा सिल गर्नुपर्छ । खास गरी भारतबाट हुन सक्ने आवागमनमा कुनै सम्झौता गर्नुहुँदैन । आन्तरिक आवागमनलाई पूर्णरुपमा बन्देजै गरिनुपछँ । धेरै ठाउँमा टेस्ट किटहरु पुगेका छन् । धेरै भन्दा धेरै परीक्षणमा जोड दिनुपर्छ । त्यसपछि ट्रेसिङ भएका केस क्षेत्रलाई लक गरी अन्य क्षेत्रका दैनिकीलाई सामान्य अवस्थातर्फ लैजानुपर्छ ।

हामी महामारीविरुद्ध एक हुनुपर्ने बेलामा अलपत्र यात्रुका विषयलाई लिएर विवाद गरेर बस्नुभन्दा छिटो समाधानतिर लागेर अर्को तयारीमा जुट्नुपर्छ ।

गाउँ फर्र्किएका व्यक्तिहरुमा संक्रमण देखियो भने हाम्रो दुरदर्शिता माथि प्रश्न उठ्नेछ । यसको लागि हामी तयार हुनु पर्दछ । पैदल हिडेर रातारात मान्छेहरु गाउँ जाँदा संक्रमण नहुने नहुने अनि सक्दो सुरक्षाको प्रबन्ध गरेर गाडीमा लैजादा चाही संक्रमण हुने हैन । संक्रमित व्यक्तिले पैदल यात्रा मार्फत जाँदाको जोखिम झन धेरै गुणा बढी हुन्छ ।

हामी तीनै तहका सरकारहरु आ–आफ्नो क्षेत्रमा काम गरिरहेका छौं । हामी भर्खरै मध्य नेपालको भूकम्प, तराई डुवान, बाढी पहिरो जस्ता विपत्ती झेलेर आएका छौं । त्यसका प्रतिकार्य अनुभवहरु यसमा काम नलाग्ने त होइन । तर, पूर्वतयारीको हाम्रो अवस्था भने दयनीय नै थियो ।

डिसेम्वरको अन्त्यमा शुरु भएको महामारीबाट हामी पनि ढिलो–चाँढो प्रभावित हुने नै वाला थियौं । हामीसँग पूर्वतयारीका लागि प्रशस्त समय थियो । त्यो समयको सदुपयोग हामीले कति गर्न सक्यौं या सकेनौं भनेर बहस गर्न सकिन्छ । तर, यसमा अल्मलिने बेला छैन अहिले । हरेक विपत्तिले केही न केही पाठ पढाउँछ । यसबाट पनि सिक्नुपर्छ । सिकौं र अघि बढौं ।

कोभिड–१९ बिरुद्धको औषधी, भ्याक्सिन बनिसकेको छैन । बनिहाले पनि हामी प्राथमिकतामा पर्दैनौं । त्यसैले हामी जोगिनुको विकल्प छैन । विश्वका अन्य राष्ट्रहरुका अनुभवले पनि मानिसहरुको आवागमन जमघटलाई नियन्त्रण नै यसको रोकथामको मूख्य आधार रहेको बताउँछ ।

महामारी फैलिएर उपचारात्मक पद्दति जानु पर्दाको चरणमा हामीलाई धेरै गाह्रो हुन सक्छ । त्यसैले रोकथामकै चरणमा काम गर्नु पर्दछ ।

हामी महामारीविरुद्ध एक हुनुपर्ने बेलामा अलपत्र यात्रुका विषयलाई लिएर विवाद गरेर बस्नुभन्दा छिटो समाधानतिर लागेर अर्को तयारीमा जुट्नुपर्छ

अन्तराष्ट्रिय उडान, मानिसहरुको भिडभाड र आन्तरिक आवागमन बेलैमा नरोकिएको भए हाम्रो अवस्था पनि भयावह हुन सक्थ्यो । लककडाउनको घोषणा पनि एकदम बोर्डर लाइन आएर भयो । त्यसको केही असर देखिँदैछ । यद्यपि अझै पनि हामी वस्तुगत योजनासहित अघि बढ्यौं भने यो महामारी बिरुद्धको लडाइ हाम्रो पक्षमा हुने छ ।

हरेकपटकका विपदले नयाँ संकट जन्माउँछ । त्यसैले विपद व्यवस्थापन र प्रतिकार्यमा प्रशस्त कमजोरीहरु देखिन्छन् । मात्रा मात्र घटीबढी हो, यो विश्वका राष्ट्रहरु सबैका हकमा लागु हुन्छ । आगलागी भइसकेपछि दमकलमा पानी भर्न निस्कने हाम्रो स्वाभावमा अझै धेरै परिवर्तन आउन बाँकी छ ।

योपटक विश्वमै महामारी भएकाले विकास क्षेत्रमा कार्य गर्ने संघसंस्थाको उपस्थिति असाध्यै न्यून छ । लगभग सरकार र सरकारका संयन्त्रहरु मात्र परिचालित छन् । त्यसैले यस महामारीमा प्राप्त उपलब्धी पनि हाम्रै क्षमताका कारणले हो भने भएका कमजोरी पनि हाम्रै जिम्मामा छ । यसबाट दोष अरुलाई दिएर पन्छिने सुविधामा हामी छैनौं ।

आशा गरौं ! यो संकट पनि एक दिन टरेर जाने छ । हामी पूर्ववत अवस्थामा फर्कनेछौं । हाम्रो दैनिक क्रियाकलापहरु स्वाभाविक अवस्थामा फर्किनेछ ।गाउँमा मानिसहरु फर्किनु संक्रमणको जोखिम मात्र होइन । श्रम, सीप र सिर्जनाको अवसर पनि हो । संक्रमणको जोखिममा सावधानी अपनाऔं । अनि गाउँ फर्किएकाहरुलाई गाउँकै उत्पादन र रोजगारीमा जोड गरौं । हरेक बादलमा चाँदीको घेरा हुन्छ । एकै छिन बादललाई नभुलिकन चाँदीको घेरा पनि हेर्ने कि ?

( सिन्धुपाल्चोककाे जुगल गाउँपालिकाका अध्यक्ष श्रेष्ठ गाउँपालिका महासंघका केन्द्रीय अध्यक्ष हुन् )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment