Comments Add Comment

यसरी खुकुलो बनाउन सकिन्छ लकडाउन

विश्वले कोभिड-१९को संक्रमणबाट बच्न लकडाउनको विधि अपनाएजस्तै नेपालले पनि २०७६ साल चैत्र ११ गते बाट सुरु गरेको लकडाउन बैशाख १५ सम्म कायमै छ । नेपालमा कोभिड-१९ को परीक्षणका क्रममा देखिएको नतिजाले यस सम्बन्धमा अनुमान गरिएभन्दा फरक किसिमको संक्रमणको क्रियाकलाप देखाएको छ।

हामीमा यस भाइरसले न त संक्रमणको महामारी नै फैलाएको छ, न त अब भाइरस संक्रमण सकियो लकडाउन खोल्दा हुन्छ भनेर ढुक्क हुने सन्देश नै दिन सकेको छ ।

वैज्ञानिकहरु समेतले नेपालमा यस भाइरसको संक्रमण भयावह हुन्छ वा यतिकै सकिएर जान्छ, केही आँकलन गर्न सक्ने अवस्थामा छैनन् । लकडाउनकै अवधिमा कोरोना-१९ को संक्रमण थपिँदै जानु भनेको हामी वैज्ञानिकहरुको हेराइमा संक्रमितको संख्या थोरै नै भए पनि यो अझै समुदायमा संक्रमणको अवस्थामा रहेको छ।

भाइरसको संक्रमण थोरै संख्यामा छ भनेर लकडाउन खुलाउँदा देशभित्र भाइरसले समुदायमा संक्रमण गर्न सुरु गरिसकेकाले यसले महामारीको रुप लियो भने के गर्ने ? एकातर्फ लकडाउनलाई कडाइका रुपमा पालना गरिएन भने जुनसुकै क्षेत्र र जुनसुकै समयमा महामारी ल्याउने सम्भावना छ। अर्कोतर्फ लकडाउन नखुलाउँदा देशको आर्थिक अवस्था र नागरिकको जनजीवन भयावह हुने भन्ने कुराले सरकार र सम्पूर्ण देशबासीलाई चिन्तित पारेको छ ।

भाइरसको संक्रमण थोरै संख्यामा छ भनेर लकडाउन खुलाउँदा देशभित्र भाइरसले समुदायमा संक्रमण गर्न सुरु गरिसकेकाले यसले महामारीको रुप लियो भने के गर्ने ?

यस्तो अवस्थामा आगामी दिनमा हामीले के गर्ने, देशको आर्थिक अवस्था कस्तो हुने, शिक्षा नीति कस्तो हुने, हाम्रो दैनिक जनजीवन र रोजगारीको अवस्था कस्तो हुने भन्ने कुरा अन्यौलग्रस्त छ। सायद कोरोना भाइरसको संक्रमण र सम्भावित महामारीको नियन्त्रणमै अलमलिएर होला हालसम्म यस सम्बन्धमा खासै कुनै निकाय वा विज्ञहरुबाट बिचार मन्थन र सरकारी निकायबाट पनि लकडाउन खुलाउने विषयमा कुनै कार्यदिशा वा विधि तयार गरेको भन्ने सुन्नमा आएको छैन।

भाइरसको महामारीबाट बच्न लकडाउ नगरी सामाजिक दुरी कायम गर्न एउटा चुनौती भएजस्तै हामी कसरी लक डाउनबाट बाहिर निस्कन्छौं र आफ्नो नियमित जीवनमा फर्कन्छौ भन्ने झन् अर्को ठूलो चुनौती रहेको छ।

जबसम्म हाम्रो शरिरमा कोरोना बिरुद्ध लड्न सक्ने प्रतिरोधात्मक क्षमता वा खोपको विकास हुँदैन तबसम्म हामी पूर्ववत् साधारण जीवनमा फर्कन सक्ने अवस्था देखिँदैन। खोपको विकास भई हामी सम्म कहिले आइपुग्ने भन्ने कुनै सुनिश्चितता नभएकाले त्यतिबेलासम्म हामीले वैकल्पिक जीवनयापन गर्ने शैलीको विकास गर्नुको कुनै विकल्प छैन ।

नेपाल सरकारले तत्कालै निश्चित भौगोलिक सीमा वा व्यावसायिक गतिविधिलाई खुकुलो बनाउँदै क्रमशः लकडाउन खुकुलो बनाउँदै लैजाने गृहकार्य थाल्नुपर्छ । यद्यपि, सरकार अन्तर्राष्ट्रिय आवागमन खोल्न सक्ने स्थितिमा भने हुने छैन। लकडाउनका कारण देशको आर्थिक गतिविधि ठप्प छ, व्यापार व्यवसाय प्रभावित छन्। सरकारको राजस्व वृद्धि लक्ष्यको तुलनामा निकै कम छ।

धेरै देशहरुले यस वर्षको डिसेम्बरसम्म आवतजावतमा सहजता नदेखाएकाले पर्यटन व्यवसायले गति लिने छाँटकाँट देखिँदैन। कोरोना महामारीका कारण संसारभरी नै रोजगारी गुमेकाले रेमिट्यान्स भित्रिने सम्भावना पनि न्यून छ।

यदि कोरोना महामारीले उग्र रुप लियो भने नेपाल सरकारको सिमित कोषको रकम परिचालनले कोराना नियन्त्रणमा सहज छैन भन्ने सबैलाई प्रस्ट छ । यसकारण सरकारले आन्तरिक स्रोत परिचालन गर्दै अनुत्पादन खर्चलाई कम गरी आर्थिक रिकभरीको योजना बनाएर अघि बढ्नु आवश्यक छ।

कोभिड-१९ महामारी चूनौतीमात्र नलिई यसलाई नयाँ अवसरका रुपमा पनि लिनु पर्ने हुन्छ । यसले सामाजिक दुरी कायमै राखी हाम्रो कृषिमा टुटेको सम्बन्धलाई जोड्ने र डिजिटलाइजेसनलाई अगाडि बढाउने अवसर प्रदान गरेको छ । सामाजिक दुरी कायम गरी ग्रामीण क्षेत्रमा अवस्थित साना उद्योगहरु, ईकमर्श, आईटी, खेतीपाती, बाटो, भवन, अन्य पूर्वाधार योजनाहरु, निर्माण, कृषि तथा औजार, खाद्य प्रशोधन, औषधी, गार्मेन्ट, ह्यान्डिक्राफ्ट जस्ता उद्योगहरु चलाउन सकिने छ।

वैशाख १५ पछि संक्रमित भएकालाई रातो र नभएकालाई हरियो क्षेत्रमा छुट्टयाई यी दुवै क्षेत्रलाई छुट्टा-छुट्टै लकडाउन खोल्ने विधि बनाई स्थानीय निकायहरुलाई सकृय रुपमा सामाजिक सुरक्षा र व्याक्तिगत दुरी कायम राख्ने जिम्मेवारी दिई हाम्रो सामाजिक, आर्थिक र शैक्षिक गतिविधिलाई सक्रिय पार्नु पर्ने टड्कारो रुपमा आइसकेको छ।

यस अनिश्चितताको अवस्थामा स्वास्थ्य , सामाजिक र आर्थिक जोखिमहरू कम गरी लकडाउनलाई कसरी खुकुलो पार्ने भन्ने सम्भावित उपायका समबन्धमा गहन अध्ययन अनुसन्धान गरी समयमै कार्यान्वयनमा जानुपर्ने आवश्यकता रहेको छ ।

लकडाउन खोल्ने तर, कसरी ?

हाम्रो देश उतरदेखि दक्षिणमा हिमालदेखि पहाड हुँदै तराईसम्म र पूर्वदेखि पश्चिमसम्म विभिन्न नदी-नालाहरुले विभाजित भौगोलिक विविधता रहेको छ । यस्तो भौगोलिक विविधता र कठिनाइ भएको देश जहाँ एकातर्फ हाम्रा गाउँका वस्तीहरुको बनोट छरिएर रहेका अवस्थामा छन् भने अर्कोतर्फ कतिपय ग्रामिण बस्तीहरुमा मानिसहरु एकठाउँबाट अर्को ठाउँमा जान घण्टौं लाग्ने हुँदा हाम्रो ग्रामीण समाजको सामाजिक दुरी प्राकृतिक रुपमै कायम रहेको छ । देशको यस्तो प्राकृतिक बनावट र छरिएर रहेको मानिसको बसोबास ले गर्दा हाम्रा ग्रामीण बस्तीहरुमा कोरोना संक्रमणको जोखिम ब्यवस्थापन गर्न धेरै सजिलो छ ।

विशेष जात्रा र पर्व बाहेक ग्रामीण जीवन आफ्नै खेतवारीमा बित्ने हुँदा कोरोना भाइरस र यसको संक्रमणको बारेमा हाम्रा ग्रामीण नागरिकलाई यथेष्ट शिक्षा दिँदा मात्रै पनि आफैंले व्यक्क्तिगत दुरी राखी आफ्नो दैनिकी र आर्थिक गतिविधि सकृय गर्न सक्दछन् । हालको अवस्थामा अहिलेसम्म नेपालको केही थोरै जिल्ला बाहेक अधिकांश क्षेत्रहरु कोरोना संक्रमित नभएको हरित क्षेत्र नै रहेकाले कोरोनाको लकडाउन खोल्ने उपयुक्त विधि बनाई गाउँको सामाजिक र आर्थिक जीवन सक्रिय बनाउन सकिन्छ ।

कृषि कसरी गर्ने ?

कृषि र यससँग सम्बन्धित ग्रामीण रोजगारीका सम्पूर्ण गतिविधिहरू सुचारु गर्न र सञ्चालनमा आउनसक्ने उद्योग र व्यवसाय पहिचान गरी ब्यक्तिगत दुरी कायम राख्दै सञ्चालन गर्न सकिने छ। ग्रामीण अर्थ व्यवस्थालाई हौसला प्रदान गर्न ग्रामीण क्षेत्रमा रहेका खाद्य प्रशोधनका उद्योगहरू; ग्रामीण क्षेत्रका सडक, सिँचाइ आयोजनाहरू, भवनहरू र औद्योगिक परियोजनाहरूको निर्माण; सिँचाइ र जलश्रोत संरक्षण कार्यहरूमा प्राथमिकताका साथ सञ्चालन गर्न सकिने छ।

ग्रामीण क्षेत्रमा रहेका सहकारी र कृषि सेवा केन्द्रहरू सञ्चालनमा ल्याउन सकिने छ । ग्रामीण तहमा उत्पादन हुने दूध र दुधजन्य पदार्थ, हरियो तरकारी, पोल्ट्री र लाईभस्टक फार्मिङ, चिया, कफी, खेतीपाती, फलफूल खेती र वृक्षारोपणका गतिबिधिलाई कम्तीमा दुईदेखि तीन मिटरको ब्यक्तिगत दुरी कायम हुने गरी सञ्चालन गर्न सकिने छ । यी गतिविधिहरूले ग्रामीण श्रम शक्ति उपयोग गर्दै स्थानीय स्तरमा रोजगारीका अवसरहरू सिर्जना गर्दछ ।

किसानले आफ्नो उत्पादन व्याक्तिगत दुरी कायम गरी संकलन केन्द्रमा ल्याई बिक्री गर्ने छन् भने उनीहरुलाई आवश्यक मल बीउ र अन्य उपभोग्य सामाग्री किसानकै घर दैलोमा पुर्‍याउने व्यवस्था गर्न सकिने छ।

दूध र दूधजन्य पदार्थहरुको संकलन, ढुवानी, प्रशोधन, पशु पंक्षी तथा माछाको दाना उत्पादनको लागि आवश्यक कच्चा पदार्थहरुको आपूर्ति व्यवस्था कार्यालयको संयोजकत्वमा सञ्चालन गर्न सकिने छ।

खेती किसानीका लागि आवश्यक मेसिनरी भाडामा लिने कस्टम हायरिंग सेन्टरहरू खोली ट्रयाक्टर, कम्बाइन हार्भेस्टर, जस्ता मेसिनरीहरुको एक गाउँपालिका देखि अर्को पालिकासम्म र एक प्रदेश देखि अर्को प्रदेशसम्म पासको ब्यवस्था गरी आवत जावतको ब्यवस्था गर्न सकिने छ।

ग्रामीण श्रमिकहरुलाई पालिका बाट अर्को पालिका वा आफ्नो गाउँ क्षेत्र भन्दा बाहिर जाँदा समबन्धित पालिकाले स्वास्थ्य जाँच गरी पटके पासको ब्यवस्था गर्न सक्नेछ ।

उद्योग कसरी सञ्चालन गर्ने ?

औद्योगिक प्रतिष्ठानहरू सञ्चालन गर्दा कामदारहरुलाई आवासीय सुविधाहरू उपलब्ध गराई २५ जना भन्दा नबढ्ने गरी सञ्चालन गर्न अनुमति दिन सकिने छ। इन्धन, उर्जा, खाद्यान्न, औषधी र उर्जा उत्पादनका कार्यलाई लाई निरन्तरता दिनु पर्दछ । औद्योगिक प्रतिष्ठानहरूलाई औद्योगिक क्षेत्रमा सुरक्षा प्रोटोकल सहित सामाजिक दुरीका कायम गरी आवश्यक वस्तुहरूको निर्माण र उत्पादनमा गर्न अनुमति दिन सकिन्छ ।

यस किसिमको विधिले औद्योगिक क्षेत्रमा रोजगारका अवसरहरु श्रृजना हुनुका साथै बैंक, वित्तीय संस्था, पुँजी बजारमा समेत चालु गर्न सकिने छ ।

अत्यावश्यक खाद्यान्न, तरकारी, निर्माण सामाग्री, इन्धन, औषधि, लताकपडा लगायत सामाग्री ढुवानीको लागि खुल्ला गरिनु पर्दछ । त्यसैगरी हवाइ यातायातमा कार्गो सञ्चालन गरी औषधि उद्धारका सामाग्रीहरु ढुवानी गर्न सुरु गरिनु पर्दछ।

सीमा नाका र बैङकिङ क्षेत्र

सीमा नाका भन्सार नाकाहरु, भन्सार एजेन्ट कार्यालय, अत्यावश्यकिय वस्तुहरु, कृषिका बीउ, बिरुवा, मल आदिको ढुवानी तत्काल सुरु गर्नु पर्दछ। यसरी सामग्री ढुवानी गर्दा एउटा ढुवानी ट्रकमा दुईजना ड्राइभर र एक जना सहचालक भन्दा बढीलाई यात्रा गर्न अनुमति दिनु हुँदैन।

राजमार्गमा खुल्ने होटल र सवारी मरमत पसलहरु कम्तीमा ३०० मी दुरी कायम हुनु उपयुक्त हुनेछ । अत्यावश्यक वस्तुहरूको ढुवानीका लागि प्रादेशिक स्तरमा अनुमति दिन सकिने छ । राजमार्गमा ट्रक र सवारी साधन मर्मत गर्ने पसल कम्तीमा ३०० मीटर दुरी कायम हुने गरी सञ्चालनमा ल्याउन सकिने छ ।

बैंकिङ क्षेत्र, बित्तीय संस्थाहरु, सेयर कारोबार, इन्सुरेन्स कम्पनीहरु,सरकार र स्थानीय सरकारबाट स्वीकृत प्राप्त साझा, सहकारी लगायतका सेवा केन्द्रहरूसञ्चालनमा ल्याउँदा व्यक्क्तिगत दुरी कायम राखी पहिले भन्दा ५० प्रतिशत काम गर्ने कर्मचारीको संख्या घटाइ कार्य सुचारु गर्न सकिनेछ ।

आपूर्ति व्यवस्था सूचारू गर्न ई-कमर्स सेवाहरु, ई-कमर्समा र यसका संचालन गर्ने सवारी साधनहरूलाई अत्यावश्यक बस्तुहरुको ढुवानीका लागि मात्र प्रयोग गर्न अनुमति दिन सकिने छ। हाम्रो सरकारी हुलाक कार्यालयको संरचना देशभरी नै फैलिएको अवस्था रहेकोले यसलाई थप श्रोत साधनले सम्पन्न र सकृय बनाई घरघरमा सप्लाईको ब्यवस्थामा संलग्न गराउन सकिने छ ।

त्यसैगरी कोल्ड स्टोरेज र गोदाम सेवाहरू, पोर्टहरू, आन्तरिक एयरपोर्टहरू, कन्टेनर डिपोहरू, व्यक्तिगत एकाईहरू र सप्लाईका चेनहरु, कुरियर सेवाहरू ब्यक्तिगत दुरी कायम रहने गरी सञ्चालन गर्न सकिने छ।

स्वरोजगार र डिजिटल इकोनोमी

स्वरोजगारका सेवामा आबद्धहरु जस्तै ईलेक्ट्रिसियन, आईटी, मर्मत गर्ने, प्लम्बर, मोटर मेकानिक र सिकर्मी, डकर्मी, निजी सुरक्षा सेवाहरू र कार्यालय र आवासीय परिसरहरूको मर्मत र रेखदेख र सुरक्षाको प्रबन्ध गर्ने सेवाहरू जस्ता स्वरोजगार व्यक्तिहरूद्वारा प्रदान गरिएका सेवाहरूलाई ब्यक्तिगत दुरी कायम गरी सञ्चालन गर्न सकिने छ ।

यस कोभिड-१९ महामारीले डिजिटल ईकोनोमीलाई थप महत्व दिएको र यसले सामाजिक दुरी कायम गरी राष्ट्रको आर्थिक वृद्धीको लागि महत्वपूर्ण भूमिका खेल्ने हुँदा ई-कमर्स, आईटी र यसबाट प्रदान गरिने सेवाहरु, डाटा र कल सेन्टरहरु, ईलेक्ट्रोनिक मिडिया, केवल र ब्रोडकास्टिङ्ग अनलाईन टिचिङ, दूर शिक्षा प्रणालीलाई बलियो बनाई तत्कालै सञ्चालन गर्न गर्नु पर्दछ ।

पर्यटकका अभावले करिव बन्द जस्ता रहेका होटलहरु, होमस्टेहरू, लजहरू र मोटेलहरू तथा रेस्टुरेन्टहरुलाई स्यानिटाईजेसनको आवश्यक प्रबन्ध सहित क्वारेन्टाईनमा बस्ने नागरिक, स्वास्थ्यकर्मीहरु, नर्स, मेडिकल वा आपतकालीन स्टाफहरु, उड्ययन वा चालकदलका कर्मचारीहरु, गन्तब्यमा पुग्न नसकेका पर्यटकहरुका प्रयोगका लागि व्याक्तिगत दुरी कायम हुने गरी बढीमा ५० प्रतिशत मात्र अकुपेन्सी हुने गरी सञ्चालनमा ल्याउन सकिने छ।

यी माथीका ग्रामिण आर्थिक र सामाजिक गतिबिधिहरुलाई आवश्यक बिधि बनाई सकृय बनाउन सकिए पनि अन्तर्राष्ट्रिय हवाई उडान,अन्तर प्रादेशिक यातायात, शैक्षिक र प्रशिक्षण संस्थानहरू,खुल्ला बजार र यसका व्यावसायिक गतिविधिहरू, शहरी भिडभाड र बजार; आतिथ्य सेवाहरू; सिनेमा हल, शपिंग कम्प्लेक्स, थिएटरहरू, सामाजिक, राजनीतिक र अन्य भेलाहरु; धार्मिक स्थलहरू / पूजा स्थलहरूमा हुने भीड, धार्मिक मण्डली र सभाहरु जस्ता गतिविधिहरुलाई कोरोनाको संक्रमणको निदान गर्ने अर्को वैकल्पिक व्यवस्था नहुनञ्जेल सम्म लकडाउन कायमै राख्नु उपयुक्त हुन्छ।

यस बृहत भाईरस संजाललाई विच्छेदन गर्ने वा कमजोर पार्न विश्वव्यापी रूपमा गरिएको अनुभवबाट एउटै मात्र उपाय हो- ब्यक्तिगत दुरी कायम र सरसफाई ।

(आनुवाशिंक विज्ञ डा. त्रिपाठी त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा कार्यरत छन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment