Comments Add Comment
नेकपाको सकस :

केपी ओली रक्षात्मक, माधव नेपाल ‘रिजर्भ’मा

कोटेश्वरमा माधव समूहको बेग्लै बैठक

१४ वैशाख, काठमाडौं । नेकपाभित्र विवाद चर्किंदै गएका बेला माधव नेपाल पक्षधर स्थायी कमिटी सदस्यहरुले सबै समस्याका बारेमा पार्टी बैठकमै छलफल हुनुपर्ने भन्दै स्थायी कमिटी बैठक बोलाउन दबाव दिएका छन् ।

नेपालनिवास कोटेश्वरमा आइतबार तत्कालीन एमालेको नवौं महाधिवेशनमा माधव नेपाल पक्षबाट निर्वाचित स्थायी कमिटी सदस्यहरुका भेला भएको थियो । सो भेलामा महाधिवेशनका बेला ओली पक्षमा रहेका मुकुन्द न्यौपाने पनि सहभागी थिए भने मन्त्रालयको कामले गर्दा घनश्याम भुसाल अनुपस्थित थिए ।

नेपाल पक्षधर स्थायी कमिटी सदस्यहरुले तत्काल पार्टी बैठक बोलाएर सबै विषयमा छलफल हुनुपर्ने माग गरेका छन् । उनीहरुले एक व्यक्ति एक पदको नीति तलदेखि नै लागु हुनुपर्ने भन्दै माधव नेपाल र केपी ओलीबीच समझदारी हुने हो भने पनि सोही सिद्धान्त अनुसार हुनुपर्ने बताएका छन् ।

नेपालनिकट स्थायी कमिटी सदस्य बेदुराम भुसालले अनलाइनखबरसँग भने, ‘हामी पार्टी एकता बलियो हुनुपर्छ भन्ने पक्षमा छौं, तर जालझेल होइन । एक व्यक्ति एक पदको कुरा तलदेखि माथिसम्म हुनुपर्छ । मुख्यमन्त्रीदेखि प्रधामनन्त्रीसम्म त्यो लागु हुनुपर्छ ।’

भुसालले थपे, ‘हामीले माधव नेपाललाई तत्काल स्थायी कमिटीको बैठक बसाउन जोड गरेका छौं ।

केपी ओली पक्षले एकातिर पूर्वएमाले मिल्नुपर्छ भन्ने र अर्कोतिर प्रचण्डसँग पनि दुई अध्यक्ष मिलेर जानुपर्छ भन्ने दोहोरो भूमिका खेलिरहेको आरोप कतिपय सदस्यहरुले लगाएका छन् ।

‘रिजर्भ’ मा माधव नेपाल

सत्तारुढ नेकपाभित्रको अन्तरविरोध सघन बन्दै गइरहेका बेला आइतबार कोटेश्वरस्थित माधव नेपालको निवासमा नेपालनिकट स्थायी कमिटीका सदस्यहरुको अनौपचारिक बैठक बसेको हो ।

नेकपाको स्थायी कमिटी ४५ सदस्यीय छ । त्यसमा पूर्वएमाले समूहबाट २६ जना छन् भने पूर्वमाओवादी १९ सदस्य छन् । तीमध्ये आइतबार माधव नेपालको निवासमा पूर्वएमालेका नेपाल पक्षका करिब एक दर्जन स्थायी कमिटी सदस्यहरु उपस्थित थिए ।

आफ्नो समूहका नेताहरुको बैठकमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल भने खासै बोलेनन् । बैठकबारे जानकारी दिँदै एक नेताले अनलाइनखबरसँग भने, ‘माधव कमरेडले खासै केही पनि बोल्नुभएन, उहाँले हाम्रा कुरा सुन्नका लागि बोलाउनुभएको जस्तो लाग्यो, हामीले आफ्ना कुराहरु राख्यौं, उहाँ ‘रिजर्भ’मै बस्नुभयो ।’

सहभागी नेताहरुका अनुसार बैठकमा उपस्थित प्रायः सबै नेताहरुले अब पार्टी र सरकार दुबैको नेतृत्वबारे समीक्षा गर्नुपर्ने बताउँदै तत्काल स्थायी कमिटीको बैठक बोलाउन नेता नेपाललाई सुझाव दिए ।

बैठकमा सहभागी एक नेताले अनलाइनखबरुसँग भने, ‘सबैको निश्कर्ष लगभग एउटै थियो, ‘अब पार्टी एकतालाई बलियो बनाउन र सरकारको कामसमेत प्रभावकारी बनाउन पार्टीले दुबै मोर्चाबारे छलफल गर्नुपर्छ र यसका लागि तत्काल स्थायी कमिटीको बैठक आवश्यक छ ।’

माधव नेपाल समूहको भेलामा मन्त्री योगेश भट्टराई पनि सहभागी थिए । तर, क्याबिनेट बैठक बस्नुपर्ने भन्दै उनी आफ्नो कुराहरु राखेर चाँडै निस्किए ।

अर्का मन्त्री घनश्याम भुसालले मन्त्रालयको बजेटसम्बन्धी छलफल परेकाले आफू उपस्थित हुने नभ्याउने जानकारी माधव नेपाललाई दिएका थिए ।

बैठकमा पूर्वएमाले नेताहरु माधवकुमार नेपाल, युवराज ज्ञवाली, भीम रावल, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रघुजी पन्त, योगेश भट्टराई, गोकर्ण विष्ट, बेदुराम भुसाल, अमृतकुमार बोहोरा, मुकुन्द न्यौपाने लगायतको उपस्थिति थियो ।

बैठकमा सहभागीमध्येका एक सदस्य रघुजी पन्तले अनलाइनखबरसँग भने, सबै सदस्यहरुको साझा भनाइ के थियो भने लकडाउनकै बेलामा एक–दुई दिनभित्रै स्थायी कमिटी बैठक बोलाइयोस् । र, लकडाउन सकिनेवित्तिकै केन्द्रीय कमिटीको बैठक बोलाएर अहिलेको परिस्थितिबारे पार्टीभित्र छलफल गरियोस् ।’

‘रक्षात्मक’ ओली

पछिल्लो समय नेकपाभित्र स्थायी कमिटीको बैठकको माग भइरहेको छ । माधव नेपाल र प्रचण्ड पक्षका २० सदस्यले अध्यक्षद्वयलाई चाँडो बैठक राख्न हस्ताक्षर नै बुझाइसकेका छन् ।

गणितीय हिसाबमा ४५ सदस्यीय स्थायी कमिटीमा केपी ओलीको समूहमा करिब १४ सदस्य छन् । माधव वा प्रचण्ड समूहको समर्थन नपाएको अवस्थामा ओली समूह अल्पमतमा पर्ने स्थिति छ । यही भएर ओली पक्षका नेताहरुले कस्तो रणनीति अपनाउने भनेर गृहकार्य थालेका छन् । यसवीचमा प्रधानमन्त्री ओलीले माधव कुमार नेपाल र वामदेव गौतमसँग बेग्लाबेग्लै छलफल गरेका छन् ।

आफूलाई मात्र होइन प्रदेशका मुख्यमन्त्रीदेखि राष्ट्रपतिसम्मको सेट नै हटाइन सक्ने सूचना पाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सम्भावित सबै विकल्पहरुमा छलफल तीब्र पारेको उनी निकट नेताहरु बताउँछन् । यद्यपि अर्को पक्षले भने बालुवाटार बढी नै त्रसित भएको टिप्पणी गरेको छ ।

ओलीविरुद्ध निर्णायक प्रहार हुन लागेको भन्दै प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल पनि काठमाडौं आएर माधव नेपाललगायतका नेतासँग परामर्शमा जुटेका छन् । यसबीचमा ईश्वर पोखरेल, बिष्णु पौडेल, शंकर पोखरेल, सुवास नेम्वाङ लगायतका नेताहरु ओली र माधव नेपालबीच समझदारी कायम गराउने प्रयासमा छन् ।

तर, माधव नेपालले समझदारीका लागि ठोस प्रस्ताव मागेका छन् । सहयोग गर्नुप¥यो भनेर मात्र नहुने भन्दै नेपालले अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद ओलीले छाड्नुपर्ने आशय व्यक्त गरिसकेका छन् । ओलीनिकट नेताहरु नेपालसँग पावर शेयरिङ गरेर भए पनि पार्टी जोगाउनुपर्छ भनेर लागेका छन् ।

तर, त्यतिले मात्र अब ओली–नेपाल गठबन्धन बन्न कठिन छ भन्ने आइतबार माधव नेपाल समूहको अलग भेलाले देखाएको छ । माधव नेपाल निकट अधिकांश स्थायी कमिटी सदस्यहरु अब ओलीसँग मिल्न नसकिने अडानमा देखिएका छन् । स्थायी कमिटी बैठकबाट प्रधानमन्त्रीको राजीनामा माग्ने र नदिए पार्टीले हटाउनेसम्मको तयारी बुझेपछि ओली पक्षले पनि जस्तोसुकै परिस्थितिको सामना गर्ने रणनीति बनाएको उनी निकट नेताहरु बताउँछन् ।

ओलीनिकट नेता गोकुल बास्कोटाले प्रचण्डका सम्भावित स्टेपहरुबारे आफूहरु पहिले नै जानकार रहेकाले जुनसुकै परिस्थितिको सामना गर्न ओली तयार रहेको बताए । उनले २० जना स्थायी कमिटी सदस्यको वक्तव्य पहिलो स्टेप भन्दै दोस्रो स्टेप राजीनामा माग्ने वा अविश्वास प्रस्ताव ल्याउने रहेको तर तेस्रो स्टेप प्रधानमन्त्री ओलीले चाल्ने बताए ।

प्रधानमन्त्री ओलीसँग अब माधव नेपालसँग शक्ति बाँडफाँड गरेर पूर्व एमालेको एकता जोगाउने वा आफूविरुद्ध प्रचण्ड–माधव नेपाल पक्षले मिलेर चाल्ने हरेक कदमको सामना गर्ने विकल्प रहेको नेकपा नेताहरु बताउँछन् । माधव नेपालसँग समझदारी नबनेमा परिस्थिति जटिल बन्ने नेताहरु बताउँछन् ।

केपी ओली र माधव नेपालबीच समझदारीको शर्त भनेको नेपाललाई दुई (प्रधानमन्त्री वा अध्यक्ष) मध्ये एक पद दिने, केही मुख्यमन्त्रीहरु हटाएर नेपाल पक्षका ल्याउने अनि मन्त्रिपरिषद पुनर्गठन गर्ने लगायतका हुन सक्छन् । प्रचण्डको हातमाथि पर्न नदिन ओलीमाथि नेपालसँग समझदारी गर्नुपर्र्ने सुझाव उनका निकटस्थहरुको छ ।

माधव नेपालसँग कुनै समझदारी नभएको अवस्थामा र उनलाई प्रधानमन्त्रीबाट हटाउन लागिएमा ओलीले के विकल्पको प्रयोग गर्लान् ? अहिले नै केही भन्न सकिँदैन । संसदीय दलमा ४० प्रतिशत लिएर पार्टी फुटाउन पाइने अध्यादेश खारेज भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment