Comments Add Comment

बैं‌शालु उमेरमा कस्ता थिए दयाहाङ राई ?

लकडाउनमा यसरी आफ्ना किशोरवयका दिनहरुमा फर्किए

झट्ट हेर्दा खाँट्टी लाहुेर झैं देखिन्छन् दयाहाङ राई । चिम्सा आँखा, थेप्चो नाक र बटुलो अनुहार । उचाइ पनि त्यति अग्लो पनि नभएको होचो पनि नभएको औसत खालको । जबकि उनी नेपाली सिनेमाका अग्रपङ्क्तिका अभिनेता हुन् । चिल्लोचाप्लो एवं सुकिला-मुकिला मात्र ‘हिरो’ हुन्छन् भन्ने पुरातन छविलाई भत्काउँदै नेपाली सिनेमामा उनको पर्दापण भएको हो ।

ठ्याक्कै डेढ दशक भयो दयाहाङले सिनेमा खेल्न थालेको । रामबाबु गुरुङको निर्देशनमा निर्माण भएको चलचित्र ‘अनागरिक’बाट दयाहाङले सिनेमा जगतमा प्रवेश गरेका हुन्। मनोज पण्डितको ‘दासढुंगा’ पछि उनको अनुहार सार्वजनिक बन्यो । निश्चल बस्नेतको ‘लुट’ र रामबाबुकै ‘कबड्डी’पछि भने दयाहाङको धमकेदार उदय भयो ।

कसरी उनी सिनेमाको यो चमक-दमकपूर्ण दुनियाँमा आइपुगे ? ‘हिरो’ बन्ने सपनाको बीजारोपण कसरी भयो ? दयाहाङको विगतमा फर्कने हो भने आजसम्मको यात्रा पक्कै रोचक लाग्नेछ । पछिल्लो समय उनले आफ्नो फेसबुकमा त्यस्ता तस्वीरहरू सार्वजनिक गरिरहेका छन् ; जसले उनको विगत कोट्याउँछ ।

यो पनि पढ्नुहोस दयाहाङ राई नभइदिएको भए ?

बैंशालु उमेरमा उनी कस्ता थिए ? कहाँ थिए ? के गर्थे ? उनका दौतरी को थिए ? इत्यादि उत्सुकता मेट्न सहयोगी हुनसक्छ ती तस्वीरहरू। नेपाली समाजको एउटा मान्यता छ, ‘तिमी जति उचाइमा पुगेपनि आफ्नो धरातल बिर्सनुहुन्न ।’ दयाहाङ एउटा दृष्टान्त हुन सक्छन् । जसले यो बिन्दुमा आइपुग्दा पनि आफूले छाडेको पाइलाको डोब भुलेका छैनन् ।

उनले आफ्नो पुर्ख्यौली थलो, आमाबुबा मात्र होइन त्यस बेलाका दौतरीहरूलाई समेत सम्झेका छन् । मणिकुमार राई, उत्तरधन राई, सरोज राई, दिवान राई जस्ता दौतरीलाई उनले भुलेका छैनन् । त्यो बै‌ंशालु वयमा उनी कति कलकलाउँदो र निश्चल देखिन्छन् । अति सामान्य ग्रामीण परिवेशमा हुर्किएका उनले आजको दिनसम्म आइपुग्दा आफ्नो चिनारी यस्तो बन्छ भन्ने त्यसबेला सोचेका थिए होलान्?

भोजपुरको खावा गाउँमा जन्मिएर त्यहीँको माटोमा हुर्किएका हुन्, उनी । ग्रामीण परिवेश, किसानी परिवार । गाईबस्तु चराउँदै, घाँस-दाउरा गर्दै उनको किशोरवय बितेहोलान् । खावाकै दिल प्राथमिक विद्यालयबाट लेखपढ गर्न सिके । भोजपुर बहुमुखी क्याम्पसबाट आइए तहको पढाइ सकाएपछि भने उनी काठमाडौं प्रवेश गरे ।

त्यसो त चर्चाको उत्कर्षमा पुग्दा समेत दयाहाङको दम्भ बढेन । सधैं उनी उस्तै देखिए । सबैसँग मिलनसार । मीठो बोली । जस्तोसुकै अवस्थामा पनि दयाहाङले आफ्नो लय र गति गुमाएनन् । सधैं एकनास रहे । सम्भवत: त्यही कारण ‘दयाहाङको फिल्म झुर’ भन्नेहरूले पनि दयाहाङलाई चाहिँ सत्प्रेम स्वीकार गरिरहे ।

१. यो तस्वीर पोस्ट गर्दै दयाहाङले लेखेका छन्– ‘पुरानो तस्वीरमा ….बाबा …आमा बहिनीहरू र म ।’

२. यो तस्वीर पोस्ट गर्दै दयाहाङले लेखेका छन्– ‘त्यो बेला …..बहिनी सुस्मा र भाइ सुमनसँग ।’

३. यो तस्वीर पोस्ट गर्दै दयाहाङले लेखेका छन् – ‘एउटा सुन्दर सम्झना…………..एसएलसी परीक्षा सकिएपछि साथीहरू सरोज राई र दिवान राईसँग म अन्नपूर्ण माविको प्राङ्गणमा । पछाडि ट्याम्के डाँडा, त्यसैको मुनि मैले नै छेकेको मेरो गाउँ । अहिले एसईई परीक्षा रोकिएको यो अवस्थामा तपाईं सम्पूर्ण विद्यार्थी साथीहरू शारीरिक र मानसिक रुपमा तयार रहनुहोला । किनभने तपाईंहरूले एउटा युग हाँक्नुछ ।’

४. यो तस्वीर पोस्ट गर्दै दयाहाङले लेखेका छन्– ‘निक्कै पुरानो तस्वीर….. साथी बिक्रम केसी र म ।’

५. यो तस्वीर पोस्ट गर्दै दयाहाङले लेखेका छन्– ‘उतिबेलाको एउटा पोज …. साथीहरू मणिकुमार राई अनि उत्तरधन राई।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment