Comments Add Comment

डिसेम्बरमा नै सुरु भएको थियो फ्रान्समा कोरोना भाइरसको संक्रमण

२३ वैशाख, काठमाडौं । फ्रान्सको राजधानी सहर पेरिसमा २७ डिसेम्बरमा ४३ वर्षीय एक व्यक्तिलाई निमोनिया भएको थियो । तर, उनी वास्तवमा निमोनिया नभई कोरोना भाइरस (कोभिड–१९) का संक्रमित भएको उनका डाक्टरले बताएका छन् । पेरिसका एविसेन एण्ड जीन भर्डियर अस्पतालका डाक्टर इभेन्स कोहेनले सञ्चारकर्मीहरुसँग कुरा गर्दै त्यतिबेला लिइएको स्वाब हालैमात्र परीक्षण गरिएको बताए । यो परीक्षणमा कोरोना भाइरस पोजेटिभ पाइएको हो । यसबाट उनी त्यतिबेला नै संक्रमित थिए भन्ने कुरा पुष्टि हुन्छ ।

यी संक्रमित अहिले पूर्णरुपमा निको भइसकेका छन् । उनलाई यो संक्रमण कहाँबाट भयो भन्ने जानकारी पनि छैन । उनी कहिले पनि त्यस्तो कुनै संक्रमण हुन सक्ने स्थानमा गएका पनि थिएनन् ।

अहिलेसम्म गत वर्षको डिसेम्बरमा चीनमा कोरोना भाइरसको संक्रमण देखिँदा चीनभन्दा बाहिर यसको संक्रमण नपुगेको मानिँदै आएको थियो । फ्रान्समा कोरोना भाइरसको संक्रमित चीनमा फेला परेको एक महिनापछि मात्र देखिएको मानिँदै आएको थियो । फ्रान्समा पहिलो संक्रमितको पुष्टि जनवरी २४ मा भएको बताइएको थियो । जसमध्ये दुईजना चीनको वुहानबाट फर्किएका थिए । तेस्रो व्यक्ति उनीहरुकै परिवारका व्यक्ति थिए ।

कसरी पत्ता लाग्यो ?

डाक्टर कोहेनले फ्रान्सको टेलिभिजन बीएफएमटीभीसँगको कुराकानीमा डिसेम्बर र जनवरीमा फ्लुजस्तो लक्षण देखिएका सबै बिरामीको फाइल पुनः खोलेको बताएका छन् । जसमध्ये उनले १४ जनाको स्वाब परीक्षण गरेका थिए । उक्त १४ जनाको परीक्षण गर्दा एक जनामा कोरोना भाइरस पोजेटिभ पाइएको थियो ।

सुरुमा त कोहेनलाई विश्वास लागेन । उनले कुनै त्रुटि भएको आशंकामा उनले फेरि यसको परीक्षण गरे । तर, जतिपटक परीक्षण गर्दा पनि यसको नतिजा पोजेटिभ नै आयो ।

कोहेनले यस विषयमा नेशनल हेल्थ एजेन्सीलाई जानकारी दिइसकेको बताएका छन् । साथै अन्य संक्रामक रोग विशेषज्ञलाई पनि अस्पतालमा भर्ना भएका मानिसको स्वाब परीक्षण पुनः गर्न माग गरेका छन् । कोहेनले यो साताको अन्तिमसम्म यसको पूरा रिपोर्ट आउने बताए ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment