+
+

गर्भावस्थामा ख्याल राख्नैपर्ने केही कुराहरू

डा. वालकृष्ण शाह डा. वालकृष्ण शाह
२०७७ वैशाख २५ गते १०:४५

गर्भावस्था आफैँमा एक संवेदनशील अवस्था हो । यतिबेला गर्भवतीमा केही शारीरिक र मानसिक परिवर्तन देखिन्छ । त्यसैले यसबेला गर्भवतीले आफ्नो स्वास्थ्यमा बढी नै ख्याल राख्नुपर्छ। गर्भवती मात्र होइन, उनका श्रीमान र परिवारमा यो जिम्मेवारी अरू बढी हुन्छ ।

त्यसैले गर्भवतीका लागि घरको माहोल कस्तो बनाउने ? पारिवारिक वातावरण कस्तो बनाउने ? गर्भवतीलाई कसरी खुसी र निर्धक्क राख्ने भन्ने कुरामा परिवारका सदस्यहरूले सोच्नुपर्छ । साथै गर्भावस्थाबारे विभिन्न भ्रम छन्, त्यस्ता भ्रमको पछि लाग्नुहुँदैन ।

गर्भावस्थाको पहिलो चरण

गर्भावस्थामा ढाड दुख्नु , वाकवाकी लाग्नु, वान्ता हुनु, स्तन भारी हुनु गर्भावस्थाका प्रारम्भिक लक्षण हुन् । महिनावारी रोकिनु पनि गर्भावस्थाको एउटा प्रारम्भिक लक्षण हो। तर, महिनावारी रोकिएको कति दिनसम्म पनि महिलाहरू आफू गर्भवती भएको थाहा नपाउन सक्छन् ।

डा. वालकृष्ण शाह

जबकि स्तन भारी हुनु, कुनै काम नगरे पनि थकान महसुस हुनु पनि गर्भावस्थाको लक्षण हो । यसबाहेक पनि गर्भावस्थाका अन्य थुप्रै प्रारम्भिक लक्षण छन्। जसबारे ध्यान दिएर पनि महिलाहरुले आफू गर्भवती भए/नभएको सजिलै थाहा पाउन सक्छन् ।

जब श्रीमती गर्भवती हुन्छन्

गर्भमा हुर्कने बच्चाको स्वास्थ्य उनको आमासँग जोडिएको हुन्छ । आमाले भोग्ने अप्ठ्यारा, गर्ने गल्ती सबैको प्रभाव गर्भको बच्चामा पर्छ । त्यसैले गर्भावस्थामा दम्पतीले धेरै कुरामा सर्तकता अपनाउनुपर्छ ।

गल्ती के हुन्छ भने, अक्सर दम्पती पारिवारिक जीवनमा राम्ररी एडजस्ट नहुँदै बच्चा जन्माउने तयारी गर्छन् । यस्तो अवस्थामा दम्पतीबीच मनमुटाव, ठाकठुक पर्छ । उनीहरू भनाभन गर्छन्, झै-झगडा गर्छन् । यसको सोझो प्रभाव गर्भको बच्चालाई पर्छ ।

गर्भवतीको मनमा पैदा हुने बेचैनी, आवेग, आक्रोस, पीडा, वेदनाले समेत गर्भको बच्चालाई असर गर्छ। त्यही कारण गर्भ रहेदेखि नै महिलाले मनलाई शान्त तुल्याउनुपर्छ, खुसी हुनुपर्छ । सकारात्मक हुनुपर्छ ।

श्रीमानको भूमिका

श्रीमती जब गर्भवती हुन्छे, श्रीमान्ले आफ्नो दायित्व बोध गर्नुपर्छ । श्रीमतीको गर्भबाट जन्म लिने बच्चा दुबैको हो । त्यसमा दुवैको समान हक लाग्छ । दुवैले त्यसबाट उति नै सन्तान सुख प्राप्त गर्छन् । तर, गर्भमा बच्चा हुर्काउनुपर्छ महिलाले । प्रसव पीडा सहनुपर्छ महिलाले । ज्यानको बाजी लगाउनुपर्छ महिलाले ।

महिला त्यसैपनि संवेदनशील हुन्छन् । आफ्नो गर्भमा बच्चा हुर्काइरहँदा उनीहरूको मनोदशा कस्तो हुन्छ होला ? त्यसमाथि परिवारले उनको भावना बुझिदिएन भने ? उनलाई आत्मीय साथ र सहयोग मिलेन भने ?

एक महिलाका लागि आमा हुनु वास्तवमै कठिन काम हो । यस्तो अवस्थामा उनको मनोभावलाई बुझ्ने सबैभन्दा नजिकको मान्छे भनेका श्रीमान नै हुन् । यसर्थ श्रीमानले आफ्ना श्रीमतीको सुख र खुसीका लागि आवश्यक बन्दोबस्ती मिलाइदिनुपर्छ ।

श्रीमतीलाई कस्तो वातावरण दिने ? कसरी खुसी तुल्याउने ? कसरी शान्त राख्ने ? कसरी उनको मनबाट भय हटाउने ? यी सबै कुरामा श्रीमानले खास भूमिका खेल्नुपर्ने हुन्छ ।

गर्भवतीको लागि स्वास्थ्य दिनचर्या

गर्भवतीको स्वास्थ्यसँग गर्भमा हुर्कने बच्चाको स्वास्थ्यको गहिरो प्रभाव रहने छ । साथै गर्भवतीको सोच र चिन्तनले पनि गर्भको बच्चामा प्रभाव पार्छ । यो तथ्यलाई बुझेर श्रीमान तथा उनका घर परिवारले यस्तो माहोल तयार गरिदिनुपर्छ; जहाँ गर्भवतीले उन्मुक्त रमाउन सकोस्। सधै खुसी र शान्त रहन सकोस् ।

गर्भवती तनावरहित हुनुपर्छ । यसका लागि ध्यान, प्राणायाम जस्ता विधि पनि उपयोगी हुन्छ । यसका लागि श्रीमानले प्रेरित गर्न सक्छन् । गर्भावस्थामा गरिने केही योग आसन र व्यायाम हुन्छन्। नियमित व्यायामले गर्भवतीको स्वास्थ्य राम्रो बनाउँछ । यसका साथै खानपान पनि स्वस्थ्य, सन्तुलित, पोषकयुक्त हुनुपर्छ । अप्राकृतिक खानेकुराबाट बच्नुपर्छ । पर्याप्त पानी पिउने, आराम गर्ने, गहिरो निद्रा लिने जस्ता कार्यले पनि गर्भवतीको स्वस्थ्य राम्रो हुन्छ ।

गर्भावस्थामा संगीत

सैद्धान्तिक रुपमा ध्वनिको प्रभाव एकाग्रता, निन्द्रा, मानसिक विकास तथा भाषिक क्षमतामा विकास गराउनेमा हुन्छ । ताइवानको कलेज अफ नर्सिङ, कौसियुङ मेडिकल युनिर्भसिटीले २३६ गर्भवती महिलाहरूमा गरिएको अध्ययनअनुसार गर्भावस्थामा दुई हप्ता मात्र पनि संगीत सुन्नाले गर्भवती महिलाहरूलाई तनाव मुक्त बनाउन मद्दत गर्‍यो ।

गर्भावस्थामा संगीत सुन्ने नयाँ प्रयोग चाहिँ होइन। थाहा भएर वा नभएर पनि गर्भावस्थामा भजन तथा विभिन्न किसिमका मेलोडीहरू सुन्ने प्रचलन हाम्रो समाजमा पहिलेदेखि नै रहेको छ ।

विकसित मुलुकहरूमा सन १९९० देखि नै गर्भको बच्चाका लागि गर्भवतीहरूले “ओम्व म्युजिक” अर्थात् गर्भको समयमा संगीत सुन्ने गरेको पाइएको छ । सामान्यतयाः गर्भको बच्चा ५ महिना भइसकेपछि, उनको सुन्ने शक्तिको विकास भई सकेको हुन्छ । त्यसैले गर्भको भ्रूणले पनि २० हप्ताको अवधिपछि संगीत सुन्न सक्ने अनुमान विज्ञहरूको रहेको छ ।

केही सावधानी

गर्भावस्थामा कतिपय शारीरिक परिवर्तन हुन्छन् । यद्यपि ती सबै किसिमका परिवर्तन सामान्य नहुन सक्छ । त्यसैले गर्भावस्थाका शारीरिक परिवर्तन कुन किसिमको हो ? सामान्य वा जटिल ? बुझ्नुपर्छ ।

गर्भावस्थामा वान्ता

गर्भावस्थामा अत्याधिक वान्ता हुनु, वान्ताका कारण शरीर निकै कमजोर हुनु वा थप समस्या देखापर्नु तथा यसको उपचार गर्नुपर्ने अवस्थालाई हाइपरइमेसिस् ग्राभिडम भनिन्छ । हाइपरइमेसिस ग्राभिडम प्रायः पहिलो पटकको गर्भमा बढी भएको पाइन्छ। गर्भमा एकभन्दा बढी शिशु अर्थात् जुम्लिया गर्भ रहेमा तथा अव्यवस्थित गर्भ रहेमा पनि वान्ता बढी हुने गरेको देखिन्छ ।

एच.सी.जी. हर्मोन बढ्ने कारणहरू धेरै हुन्छन् र कति अवस्थामा यो हर्मोन बढ्नुको कारण पता लगाउन पनि सकिँदैन । यसबाहेक भिटामिन बि वा प्रोटिनको कमी हुनु तथा मानसिक तनावहरूले हाइपरइमेसिस ग्राभिडम गराउन सक्छन् । गर्भावस्थामा पनि अन्य अवस्थाको जस्तै विभिन्न रोगहरू जस्तै पिसाबको संक्रमण, पेटको अल्सर एपेन्डिसाइटिस, पित्त थैलीको संक्रमण, कलेजको संक्रमण आदिले वान्ता गराउन सक्छ । गर्भावस्थामा अनि त्यसमा पनि पहिलो तीन महिना खानामा विशेष ध्यान पुर्‍याउनुपर्छ ।

खान मन नलाग्नु अनि वाकवाकी लाग्ने भएर नि खानामा विचार गर्नुपर्छ । मौसमअनुसारको फलफूल, दही, ड्रायफ्रट्स (काजु,पिस्ता,बदाम), माछामासु, अण्डा र पानी प्रशस्त खानुपर्छ । सादा पानी नरुचेको अवस्थामा कागती, ग्लुकोज वा अन्य जुसहरू प्रयोग गर्न सकिन्छ । अलिअलि वान्ता भएर आत्तिनु हुँदैन तर सामान्यभन्दा बढी वान्ता भएमा तुरुन्त डाक्टरसँग सम्पर्क गर्नुपर्छ ।

लेखक मोरङ सहकारी अस्पतालका प्रसूती तथा स्त्री रोग विशेषज्ञ हुन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?