+

गर्भावस्थामा ख्याल राख्नैपर्ने केही कुराहरू

२०७७ वैशाख  २५ गते १०:४५ २०७७ वैशाख २५ गते १०:४५
गर्भावस्थामा ख्याल राख्नैपर्ने केही कुराहरू

गर्भावस्था आफैँमा एक संवेदनशील अवस्था हो । यतिबेला गर्भवतीमा केही शारीरिक र मानसिक परिवर्तन देखिन्छ । त्यसैले यसबेला गर्भवतीले आफ्नो स्वास्थ्यमा बढी नै ख्याल राख्नुपर्छ। गर्भवती मात्र होइन, उनका श्रीमान र परिवारमा यो जिम्मेवारी अरू बढी हुन्छ ।

त्यसैले गर्भवतीका लागि घरको माहोल कस्तो बनाउने ? पारिवारिक वातावरण कस्तो बनाउने ? गर्भवतीलाई कसरी खुसी र निर्धक्क राख्ने भन्ने कुरामा परिवारका सदस्यहरूले सोच्नुपर्छ । साथै गर्भावस्थाबारे विभिन्न भ्रम छन्, त्यस्ता भ्रमको पछि लाग्नुहुँदैन ।

गर्भावस्थाको पहिलो चरण

गर्भावस्थामा ढाड दुख्नु , वाकवाकी लाग्नु, वान्ता हुनु, स्तन भारी हुनु गर्भावस्थाका प्रारम्भिक लक्षण हुन् । महिनावारी रोकिनु पनि गर्भावस्थाको एउटा प्रारम्भिक लक्षण हो। तर, महिनावारी रोकिएको कति दिनसम्म पनि महिलाहरू आफू गर्भवती भएको थाहा नपाउन सक्छन् ।

डा. वालकृष्ण शाह

जबकि स्तन भारी हुनु, कुनै काम नगरे पनि थकान महसुस हुनु पनि गर्भावस्थाको लक्षण हो । यसबाहेक पनि गर्भावस्थाका अन्य थुप्रै प्रारम्भिक लक्षण छन्। जसबारे ध्यान दिएर पनि महिलाहरुले आफू गर्भवती भए/नभएको सजिलै थाहा पाउन सक्छन् ।

जब श्रीमती गर्भवती हुन्छन्

गर्भमा हुर्कने बच्चाको स्वास्थ्य उनको आमासँग जोडिएको हुन्छ । आमाले भोग्ने अप्ठ्यारा, गर्ने गल्ती सबैको प्रभाव गर्भको बच्चामा पर्छ । त्यसैले गर्भावस्थामा दम्पतीले धेरै कुरामा सर्तकता अपनाउनुपर्छ ।

गल्ती के हुन्छ भने, अक्सर दम्पती पारिवारिक जीवनमा राम्ररी एडजस्ट नहुँदै बच्चा जन्माउने तयारी गर्छन् । यस्तो अवस्थामा दम्पतीबीच मनमुटाव, ठाकठुक पर्छ । उनीहरू भनाभन गर्छन्, झै-झगडा गर्छन् । यसको सोझो प्रभाव गर्भको बच्चालाई पर्छ ।

गर्भवतीको मनमा पैदा हुने बेचैनी, आवेग, आक्रोस, पीडा, वेदनाले समेत गर्भको बच्चालाई असर गर्छ। त्यही कारण गर्भ रहेदेखि नै महिलाले मनलाई शान्त तुल्याउनुपर्छ, खुसी हुनुपर्छ । सकारात्मक हुनुपर्छ ।

श्रीमानको भूमिका

श्रीमती जब गर्भवती हुन्छे, श्रीमान्ले आफ्नो दायित्व बोध गर्नुपर्छ । श्रीमतीको गर्भबाट जन्म लिने बच्चा दुबैको हो । त्यसमा दुवैको समान हक लाग्छ । दुवैले त्यसबाट उति नै सन्तान सुख प्राप्त गर्छन् । तर, गर्भमा बच्चा हुर्काउनुपर्छ महिलाले । प्रसव पीडा सहनुपर्छ महिलाले । ज्यानको बाजी लगाउनुपर्छ महिलाले ।

महिला त्यसैपनि संवेदनशील हुन्छन् । आफ्नो गर्भमा बच्चा हुर्काइरहँदा उनीहरूको मनोदशा कस्तो हुन्छ होला ? त्यसमाथि परिवारले उनको भावना बुझिदिएन भने ? उनलाई आत्मीय साथ र सहयोग मिलेन भने ?

एक महिलाका लागि आमा हुनु वास्तवमै कठिन काम हो । यस्तो अवस्थामा उनको मनोभावलाई बुझ्ने सबैभन्दा नजिकको मान्छे भनेका श्रीमान नै हुन् । यसर्थ श्रीमानले आफ्ना श्रीमतीको सुख र खुसीका लागि आवश्यक बन्दोबस्ती मिलाइदिनुपर्छ ।

श्रीमतीलाई कस्तो वातावरण दिने ? कसरी खुसी तुल्याउने ? कसरी शान्त राख्ने ? कसरी उनको मनबाट भय हटाउने ? यी सबै कुरामा श्रीमानले खास भूमिका खेल्नुपर्ने हुन्छ ।

गर्भवतीको लागि स्वास्थ्य दिनचर्या

गर्भवतीको स्वास्थ्यसँग गर्भमा हुर्कने बच्चाको स्वास्थ्यको गहिरो प्रभाव रहने छ । साथै गर्भवतीको सोच र चिन्तनले पनि गर्भको बच्चामा प्रभाव पार्छ । यो तथ्यलाई बुझेर श्रीमान तथा उनका घर परिवारले यस्तो माहोल तयार गरिदिनुपर्छ; जहाँ गर्भवतीले उन्मुक्त रमाउन सकोस्। सधै खुसी र शान्त रहन सकोस् ।

गर्भवती तनावरहित हुनुपर्छ । यसका लागि ध्यान, प्राणायाम जस्ता विधि पनि उपयोगी हुन्छ । यसका लागि श्रीमानले प्रेरित गर्न सक्छन् । गर्भावस्थामा गरिने केही योग आसन र व्यायाम हुन्छन्। नियमित व्यायामले गर्भवतीको स्वास्थ्य राम्रो बनाउँछ । यसका साथै खानपान पनि स्वस्थ्य, सन्तुलित, पोषकयुक्त हुनुपर्छ । अप्राकृतिक खानेकुराबाट बच्नुपर्छ । पर्याप्त पानी पिउने, आराम गर्ने, गहिरो निद्रा लिने जस्ता कार्यले पनि गर्भवतीको स्वस्थ्य राम्रो हुन्छ ।

गर्भावस्थामा संगीत

सैद्धान्तिक रुपमा ध्वनिको प्रभाव एकाग्रता, निन्द्रा, मानसिक विकास तथा भाषिक क्षमतामा विकास गराउनेमा हुन्छ । ताइवानको कलेज अफ नर्सिङ, कौसियुङ मेडिकल युनिर्भसिटीले २३६ गर्भवती महिलाहरूमा गरिएको अध्ययनअनुसार गर्भावस्थामा दुई हप्ता मात्र पनि संगीत सुन्नाले गर्भवती महिलाहरूलाई तनाव मुक्त बनाउन मद्दत गर्‍यो ।

गर्भावस्थामा संगीत सुन्ने नयाँ प्रयोग चाहिँ होइन। थाहा भएर वा नभएर पनि गर्भावस्थामा भजन तथा विभिन्न किसिमका मेलोडीहरू सुन्ने प्रचलन हाम्रो समाजमा पहिलेदेखि नै रहेको छ ।

विकसित मुलुकहरूमा सन १९९० देखि नै गर्भको बच्चाका लागि गर्भवतीहरूले “ओम्व म्युजिक” अर्थात् गर्भको समयमा संगीत सुन्ने गरेको पाइएको छ । सामान्यतयाः गर्भको बच्चा ५ महिना भइसकेपछि, उनको सुन्ने शक्तिको विकास भई सकेको हुन्छ । त्यसैले गर्भको भ्रूणले पनि २० हप्ताको अवधिपछि संगीत सुन्न सक्ने अनुमान विज्ञहरूको रहेको छ ।

केही सावधानी

गर्भावस्थामा कतिपय शारीरिक परिवर्तन हुन्छन् । यद्यपि ती सबै किसिमका परिवर्तन सामान्य नहुन सक्छ । त्यसैले गर्भावस्थाका शारीरिक परिवर्तन कुन किसिमको हो ? सामान्य वा जटिल ? बुझ्नुपर्छ ।

गर्भावस्थामा वान्ता

गर्भावस्थामा अत्याधिक वान्ता हुनु, वान्ताका कारण शरीर निकै कमजोर हुनु वा थप समस्या देखापर्नु तथा यसको उपचार गर्नुपर्ने अवस्थालाई हाइपरइमेसिस् ग्राभिडम भनिन्छ । हाइपरइमेसिस ग्राभिडम प्रायः पहिलो पटकको गर्भमा बढी भएको पाइन्छ। गर्भमा एकभन्दा बढी शिशु अर्थात् जुम्लिया गर्भ रहेमा तथा अव्यवस्थित गर्भ रहेमा पनि वान्ता बढी हुने गरेको देखिन्छ ।

एच.सी.जी. हर्मोन बढ्ने कारणहरू धेरै हुन्छन् र कति अवस्थामा यो हर्मोन बढ्नुको कारण पता लगाउन पनि सकिँदैन । यसबाहेक भिटामिन बि वा प्रोटिनको कमी हुनु तथा मानसिक तनावहरूले हाइपरइमेसिस ग्राभिडम गराउन सक्छन् । गर्भावस्थामा पनि अन्य अवस्थाको जस्तै विभिन्न रोगहरू जस्तै पिसाबको संक्रमण, पेटको अल्सर एपेन्डिसाइटिस, पित्त थैलीको संक्रमण, कलेजको संक्रमण आदिले वान्ता गराउन सक्छ । गर्भावस्थामा अनि त्यसमा पनि पहिलो तीन महिना खानामा विशेष ध्यान पुर्‍याउनुपर्छ ।

खान मन नलाग्नु अनि वाकवाकी लाग्ने भएर नि खानामा विचार गर्नुपर्छ । मौसमअनुसारको फलफूल, दही, ड्रायफ्रट्स (काजु,पिस्ता,बदाम), माछामासु, अण्डा र पानी प्रशस्त खानुपर्छ । सादा पानी नरुचेको अवस्थामा कागती, ग्लुकोज वा अन्य जुसहरू प्रयोग गर्न सकिन्छ । अलिअलि वान्ता भएर आत्तिनु हुँदैन तर सामान्यभन्दा बढी वान्ता भएमा तुरुन्त डाक्टरसँग सम्पर्क गर्नुपर्छ ।

लेखक मोरङ सहकारी अस्पतालका प्रसूती तथा स्त्री रोग विशेषज्ञ हुन्

गर्भावस्था
लेखक
डा. वालकृष्ण शाह
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

डेढो आँखा हुनु कुनै रोगको संकेत पनि हुन सक्छ, कसरी हुन्छ उपचार ?

डेढो आँखा हुनु कुनै रोगको संकेत पनि हुन सक्छ, कसरी हुन्छ उपचार ?

१००० भन्दा बढी मिर्गौला प्रत्यारोपणको साक्षी बन्दा…

१००० भन्दा बढी मिर्गौला प्रत्यारोपणको साक्षी बन्दा…

नयाँ नेतृत्वले १० प्रतिशतको मुद्दालाई ‘बालेन मोडेल’ झैं देशभर लागू गर्ला ?

नयाँ नेतृत्वले १० प्रतिशतको मुद्दालाई ‘बालेन मोडेल’ झैं देशभर लागू गर्ला ?

वीरमा पहिलो पटक ‘स्पेक्ट-सिटी, शरीरका अंगले कति काम गरिरहेका छन् भन्ने खुल्ने

वीरमा पहिलो पटक ‘स्पेक्ट-सिटी, शरीरका अंगले कति काम गरिरहेका छन् भन्ने खुल्ने

स्वास्थ्यमन्त्रीको आक्रोश : अस्पताल संकटमा छन्, अर्थ मन्त्रालय ‘कुलिङ पिरियड’ मनाउन व्यस्त छ

स्वास्थ्यमन्त्रीको आक्रोश : अस्पताल संकटमा छन्, अर्थ मन्त्रालय ‘कुलिङ पिरियड’ मनाउन व्यस्त छ

किष्ट मेडिकल कलेजमा भएको ‘कलेजो प्रत्यारोपण अध्ययन’ अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्तुत हुँदै

किष्ट मेडिकल कलेजमा भएको ‘कलेजो प्रत्यारोपण अध्ययन’ अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्तुत हुँदै