Comments Add Comment

सिमेन्टको अवैध ओसारपसारमा स्थानीय तहकै साथ

२५ वैशाख, जनकपुरधाम । सिराहाको मिर्चैयामा पूर्वपश्चिम राजमार्गबाट ना ५ ख ९६६७ नम्बरको ट्रक चेकजाँच गर्दा ५ सय बोरा शालिमार सिमेन्ट फेला पर्‍यो ।

ती सिमेन्टबारे सोधपुछ गर्दा चालक धादिङ थाक्रे गाउँपालिका १० का ३२ बर्षीय निराजन लामाले सिरहाकै कल्याणपुर नगरपालिका ४ मा दलित वस्तीमा जनता आवास कार्यक्रम अन्तर्गत घर बनाउन लगेको भनी वडा कार्यालयको सिफारिस देखाए ।

उक्त सिफारिसकै आधारमा लामाले दीपक स्टोर कल्याणपुरबाट सिमेन्ट खरिद गरिएको बिलसमेत देखाए ।

वास्तविकता बुझ्दा कल्याणपुर ४ मा जनता आवास कार्यक्रम अन्तर्गत दलितको कुनै पनि घर निर्माणाधीन नरहेको र त्यसको टेन्डरसमेत आह्वान नगरेको पाइएको सिरहाका प्रहरी प्रवक्ता एवं डीएसपी विनोद घिमिरेले बताए ।

जनता आवासको नाममा झुटो विवरण देखाएर सिमेन्ट ओसारपसार गरेको पाइएपछि प्रहरीले उक्त ट्रकलाई सिमेन्ट र चालकसहित नियन्त्रणमा लिई जिल्ला प्रशासन कार्यालयमा बुझाएको छ ।

मिर्चैया नगरपालिकाकै पूर्वपश्चिम राजमार्ग सडक खण्डमा स १ त ५१३२ नम्बरको ट्याक्टर चेकजाँच गर्दा शालिमार सिमेन्ट ९० बोरा फेला पर्‍यो । यसबारे सोधपुछ गर्दा सिमेन्ट भाग्यवान आइरन स्टोरबाट धनुषा गणेशमान चारनाथ नगरपालिकाको वीरेन्द्र बजारस्थित सीता टेडर्स हार्डवेयर पसल सञ्चालक अजय साहलाई पठाइएको खुल्यो ।

सिमेन्ट प्रतिबोरा ५ सय ७० रुपैयाँका दरले विजय साहको नाममा बिल बनाइएको थियो । योबाहेक भाग्यवान आइरन स्टोरमा ४ सय बोरा शालिमार सिमेन्ट र ४ सय बोरा अल्ट्रा सिमेन्टसमेत सुरक्षित राख्न लगाइएको तथ्य खुलेपछि ट्याक्टर चालक ३५ बर्षीय जगदीश सदा र भाग्यवान आइरन स्टोरका सञ्चालक प्रमोद साह समेतलाई पक्राउ गरी आवश्यक कारवाहीका लागि जिल्ला प्रशासन कार्यालय सिरहामा पठाइएको छ ।

सिरहामा बिना बिल पनि सिमेन्ट ओसारपसार गर्ने गरिएको पाइएको छ । स १ त ६५६८ नम्बरको ट्याक्टरमा ६० बोरा सिमेन्ट, शौचालयको प्यान, पीभीसी पाइप, जस्ताको पता, मोटरको पाइप, पीभीसी सकेट लोड गरेर लग्दै गर्दा प्रहरीले चेक गर्ने क्रममा बील, भर्पाई कागजात फेला नपरेपछि ती सामानसहित चालक २० बर्षीय सन्तोषकुमार यादव समेतलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रशासन कार्यालय सिरहा पठाइएको घिमिरेले बताए ।

यसअघि सिरहा प्रहरीले मिर्चैया बजारस्थित भाग्य विधाता आइरन स्टोरले अनली फर प्रोजेक्ट लेखिएको मारुती सिमेन्ट बढी मूल्यमा बिक्री गरेको पाइएपछि उक्त पसलमा सिल गर्दै त्यसका मालिक राजकुमार मगरलाई नियन्त्रणमा लिइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment