
२६ वैशाख, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ (किसान) तथा निवर्तमान प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरुद्धको अपहरण तथा शरीर बन्धकसम्बन्धी कसूरमा अनुसन्धान सुरु भएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालय, बबरमहलले शुक्रबार दिउँसो महानगरीय प्रहरी परिसर काठमाडौंलाई सांसद सुरेन्द्र यादवले दिएको अपहरण तथा शरीर बन्धकसम्बन्धी कसूरको जाहेरी दर्खास्त पठाएपछि अनुसन्धान सुरु भएको हो ।
समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवले दिएको जाहेरी दर्खास्त काठमाडौं प्रहरीलाई पठाइएको सहायक जिल्ला न्यायाधीवक्ता नुमराज खनालले अनलाइनखबरलाई बताए । उनले भने, ‘अनुसन्धानका लागि प्रहरीलाई जाहेरी दरखास्त पठाइसकेका छौं ।’
सरकारी वकिलले जाहेरी पठाएपछि ‘सांसद अपहरण’ प्रकरणमा अनुसन्धान थालिएको काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले अनलाइनखबरलाई बताए । उनले भने, ‘प्रारम्भिक रुपमा घटनाको प्रकृति हेर्छौं र विस्तृत अनुसन्धान हुन्छ ।’
आवश्यक परे अभियुक्तलाई पक्राउ गर्न सकिने प्रावधान रहे पनि अनुसन्धान अधिकृतलाई कानुनले केही अधिकार दिएकाले अहिल्यै केही बताउन नसकिने ज्ञवालीले बताए ।
अपहरणको जाहेरी दर्ता गर्न सांसद यादवसहित जसपाका नेताहरू महानगरीय प्रहरी परिसर, काठमाडौं गएका थिए । तर, प्रहरीले दर्ता गर्न अस्वीकार गरेपछि १६ वैशाखमा सरकारी वकिलको कार्यालय पुगेका थिए ।
तर, वैशाख १६ गते सरकारी वकिल कार्यालयले पनि यादवको जाहेरी लिन मानेन । यद्यपि उजुरीको प्रति छाडेर फर्किएका थिए । सांसद यादवले राष्ट्रिय मानवअधिकार आयोगमा समेत उजुरी दिएका छन्। त्यसपछि सरकारी वकिलको कार्यालयले उजुरी दर्ता गरेको थियो ।
लकडाउनको समयमा सांसदद्वय बस्नेत र श्रेष्ठ तथा पूर्वआईजीपी खनाल महोत्तरी पुगेर सांसद यादवलाई काठमाडौं ल्याएका थिए । सांसद यादवले आफूलाई इच्छाविपरीत काठमाडौं ल्याएको बताएका छन् । सांसदहरू बस्नेत र श्रेष्ठ तथा पूर्वआईजीपी खनालले सांसद यादवको इच्छाअनुसार काठमाडौं ल्याउन सहयोग गरेको बताएका छन् ।
प्रतिक्रिया 4