Comments Add Comment

शनिबार थपिए ८ कोरोना संक्रमित

२७ वैशाख, काठमाडौं । शनिबार मात्र नेपालमा ८ जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित थपिएका छन् । उनीहरुमध्ये चार जना उदयपुरको भुल्केका हुन् । तीन जना कपिलबस्तु र एक जना पर्साका हुन् ।

यससँगै नेपालका कुल संक्रमितको संख्या ११० पुगेको छ । उनीहरुमध्ये २८ जना निको भएर घर फर्किएका छन् ।

पहिले श्रीमान, अहिले श्रीमती संक्रमित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार विहान ७ जनामा कोरोना संक्रमण देखिएको बताएको थियो । त्यसमध्ये तीन जना उदयपुरको त्रियुगा नगपालिका-३ भुल्केका हुन् । साँझ भुल्केका थप एक जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

चारै जना महिला छन् । यसअघि कोरोना परीक्षण गर्दा उनीहरुको रिपोर्ट नेगेटिभ आएको थियो । तर त्यसबेला संकलन गरिएको थ्रोट स्वाबको परीक्षण ढिलो भएकाले रिपोर्टमा शंका लागेर पुनः नमुना संकलन गरिएको थियो । र, १८, ४३, ४५ र ६५ वर्षीया महिलामा पोजेटिभ देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले जानकारी दिए ।

उनकाअनुसार शनिबार थपिएका संक्रमितमध्ये दुई महिलाका श्रीमानलाई यसअघि कोरोना पोजेटिभ देखिएको थियो ।

भुल्केमा पहिलोपटक वैशाख ५ गते १२ जनामा कोरोना संक्रमण देखिएको थियो । र, यो संख्या बढेर ३२ पुगेको छ । उनीहरुमध्ये १४ जना निको भएर घर फर्किएका छन् भने अरुको विराटनगरको कोशी अस्पतालमा उपचार भइरहेको छ ।

शनिबार पोजेटिभ देखिएका तीन जनालाई पनि यहीँ ल्याइएको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य छ ।

लुकेर आएका थप तीनमा कोरोना संक्रमण

यस्तै कपिलबस्तुमा थप तीन जना संक्रमित भेटिएका छन् । १७, १८ र १८ वर्षका पुरुषमा संक्रमण देखिएको हो । उनीहरु बिहीबार भेटिएका दुई संक्रमितहरूसँगै वैशाख २४ गते लुकिछिपी नेपाल प्रवेश गरेको खुलेको छ ।

प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलका अनुसार मायादेवी गाउँपालिका-२ अभिरावका उनीहरु रातको समयमा नेपाल प्रवेश गरेका थिए ।

मुम्बईबाट आउँदै गरेको जानकारी पाएपछि स्थानीयवासीले उनीहरूलाई गाउँमा प्रवेश गर्न नदिई बाटोमै रोकेर पकडी छत्रपाली माविमा बनाइएको क्वारेन्टाइनमा पठाएको वडा नं. २ का वडाध्यक्ष सफरुद्दीन मुसलमानले बताए । उनीहरुको बुटवलको धागो कारखानास्थित कोरोना अस्पतालमा उपचार भइरहेको छ ।

वीरगञ्जमा थपिए एक संक्रमित

यस्तै शनिबार थपिएका एक संक्रमित वीरगञ्ज उपमहानगरपालिका-३ छपकैयाका ६३ वर्षीय पुरुष हुन् ।

उनी किराना पसल सञ्चालक हुन् । छपकैयामा एक परिवारका १८ जनामा संक्रमण भेटिएपछि कट्याक ट्रेसिङका क्रममा उनको पनि थ्रोट स्वाब संकलन गरिएको थियो । उनलाई नारायणी अस्पताल भर्ना गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment